• १२ मंसिर २०८१, बुधबार

वन क्षेत्र कब्जा गरी बनाइएका घर टहरामाथि डोजर चल्यो

blog

अतिक्रमित वन क्षेत्रमा निर्माण गरिएका घर टहरा हटाइँदै । तस्बिर : भवानी ऐर

भवानी ऐर

गोदावरी (कैलाली), वैशाख १८ गते । कैलालीको अत्तरियामा अतिक्रमित वनक्षेत्र खाली गरिएको छ । गोदावरी नगरपालिका –३ अत्तरियास्थित चौकीडाँडामा अतिक्रमित क्षेत्र खाली गराउन वन कार्यालयले सोमबार डोजर चलाएको हो । 

डिभिजन वन कार्यालय कैलालीका निमित्त प्रमुख भीम ढकालले करिब पाँच सय बढी घर टहरा हटाइएको जानकारी दिनुभयो । उहाँले सो क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग र वन अतिक्रमण गरी बनाइएका अन्य घर टहरा पनि हटाउने अभियान जारी रहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘वर्षैदेखि सडक तथा जंगलकिनारमा टहरा निर्माण गरेर बस्दैआएकाहरुका घर टहरा भत्काएर खाली गरिने छ ।’ 

सब-डिभिजन वन कार्यालय अत्तरियाले केही दिनअघि अतिक्रमित वनक्षेत्र खाली गराउन पत्राचार र माइकिङ गरे पनि त्यसको सुनुवाइ नभएपछि सोमबार डोजर चलाएको हो । केही महिना अगाडि बाढीपीडित र सुकुम्वासीको नाममा चौकिडाँडा महिला सामुदायिक वन अतिक्रमण गरी घर टहरा बनाएका थिए ।

वन डिभिजन कार्यालय कैलालीले दुईवटा डोजरको सहायताले गोदावरी नगरपालिका र स्थानीय बासिन्दासँगको सहकार्यमा अतिक्रमित वनक्षेत्र खाली गरिएको हो । अतिक्रमित वन क्षेत्र खाली गर्न वन सुरक्षाकर्मी तथा नेपाल प्रहरीसहित ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

चौकीडाँडामा तीन वर्षदेखि जंगलकिनारमा टहरा निर्माण गरेर बस्दैआएकाहरुका घर टहरा भत्काएर पूरैक्षेत्र खाली गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । सडक किनारमा वन क्षेत्रको जमिन ओगटेर घर टहरा निर्माणगरी बस्दैआएकाहरुले विरोध गरे पनि डिभिजन वन कार्यालयले अतिक्रमित क्षेत्र खाली गराउन डोजर चलाएको हो । 

सो क्षेत्रमा अधिकांश दलित समुदायको बसोबास थियो । भूमि नभएकालाई भूमिको व्यवस्था गरिदिनुपर्ने भन्दै उहाँहरूले पूर्व–पश्चिम राजमार्गको सडक किनारमा तीन वर्षअघि नै बस्ती बसालेका थिए ।