• १२ मंसिर २०८१, बुधबार

पीडित महिलाले न्याय पाउनुपर्छ

blog

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), वैशाख १८ गते । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले पीडित महिलाले सहजै न्याय पाउने वातावरण बनाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालसँगको भेटमा उहाँले महिला हिंसाका घटना प्रहरी कहाँसम्म आउने वातावरण बनाउन र पीडितले सहजै न्याय पाउने वातावरण बनाउन निर्देशन दिनुभएको हो। सुदूरपश्चिमका दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाको लैङ्गिक हिंसाको अवस्था र समाजमा विद्यमान हानिकारक अभ्यासविरुद्धको बृहत् अभियान सम्पन्न गरी धनगढी पुग्नुभएका आयोग अध्यक्ष पराजुलीले प्रमुख जिल्ला अधिकारी युवराज कटेलसँगसमेत भेट गर्नुभएको छ।  

विभिन्न जिल्लामा लैङ्गिक हिंसापीडितका लागि सञ्चालित एकद्वारा सङ्कट व्यवस्थापन केन्द्रको अनुगमन गर्नुभएकी अध्यक्ष पराजुलीले धनगढीमा सेती प्रादेशिक अस्पतालमा रहेको सङ्कट व्यवस्थापन केन्द्रको अनुगमन समेत गर्नुभयो। उहाँले भन्नुभयो, “सुदूरपश्चिममा लैङ्गिक हिंसापीडित सेवाग्राहीको तथ्याङ्क हेर्दा भयावह अवस्था छ।” सो अवसरमा प्रमुख जिल्ला अधिकारी कटेलले लैङ्गिक सवालमा आफू असाध्यै संवेदनशील भएको र लैङ्गिक मैत्री कार्य र सुधारका पक्षमा प्रतिबद्ध रहेको बताउनुभयो। 

त्यस्तै धनगढीमा महिला आयोगको आयोजनामा नीतिगत तहमा महिलाको पहुँच बढाउन प्रदेशस्तरीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, मानव अधिकारकर्मी र प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो।