घोराही समाचारदाता
घोराही, वैशाख १८ गते । दाङको दङ्गीशरण गाउँपालिकाले छोरी सम्मान कार्यक्रम सुरु गरेको छ । सो कार्यक्रमअन्तर्गत गाउँपालिकाले प्रत्येक महिना छोरीको खातामा तीन सय रुपियाँ जम्मा गर्ने गरेको छ । गत वर्षको साउनदेखि सुरु भएको कार्यक्रमअनुसार गाउँपालिकाभित्र जन्मिएका छोरीको खातामा प्रत्येक महिना छोरीहरूको खातामा तीन सय रुपियाँ जम्मा गर्ने गरेको छ ।
आफूहरू जनप्रतिनिधिका रूपमा निर्वाचित भएसँगै पालिकामा छोरी सम्मान कार्यक्रम सुरु गरेको दङ्गीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो । गत वर्षको साउनदेखि जन्मिएका छोरीहरूको खातामा तीन सयका दरले १८ वर्ष पुग्दासम्म रकम जम्मा गरिदिने व्यवस्था गरेको अध्यक्ष गिरीले बताउनुभयो ।
गाउँपालिकाले एक घरमा जन्मिएका दुईवटी छोरीसम्मका लागि रकम बचत गरिदिने गरेको छ । छोरीहरूलाई शिक्षा क्षेत्रमा अघि बढ्न उत्पेरित गर्ने उद्देश्यले छोरी सम्मान कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष गिरी बताउनुहुन्छ ।
अध्यक्ष गिरीले भन्नुभयो, “छोरीहरूलाई शिक्षाप्रति आकर्षण गर्नका लागि यो कार्यक्रम सुरु गरेका हाैँ । छोरीहरूले भविष्यमा उच्च शिक्षा लिनका लागि थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्य हो ।” अहिले झट्ट हेर्दा थोरै रकम देखिने भए पनि दीर्घकालीन रूपमा यो रकमले ठूलो सहयोग पु¥याउने उहाँ बताउनुहुन्छ । गाउँपालिकास्थित कुमारी बैङ्कमा छोरीहरूको खाता खोलेर रकम जम्मा गर्ने गरिएको छ । गत वर्षको साउनदेखि चैत महिनासम्म ९३ जना छोरीको नाममा खाता खोली रकम जम्मा भइरहेको दङ्गीशरण गाउँपालिका महिला बालबालिका शाखाका प्रमुख सुनकुमारी पुनले जानकारी दिनुभयो ।
शाखा प्रमुख पुनका अनुसार खाता खोल्नका लागि जन्मदर्ता, आमाबुवा वा संरक्षकको नागरिकताको फोटोकपीसँगैको अनिवार्य वडा कार्यालयको सिफारिसको व्यवस्था गरिएको छ । छोरीहरूको नाममा जम्मा गरिएको पैसा १८ वर्ष छोरीहरू पुगेपछि मात्रै निकाल्न पाउने कानुनी व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष गिरीले बताउनुभयो । गाउँपालिका अध्यक्ष गिरीका अनुसार पालिकाले छोरी सम्मान कार्यक्रमसँंगै गाउँपालिकाले सुत्केरी प्रोत्साहन कार्यक्रमअन्तर्गत राज्यले दिएको दुई हजार आठ सय रुपियाँमा गाउँपालिकाले तीन हजार दुई सय थप गरी छ हजार रकम उपलब्ध गराउने गरेको छ । त्यसका लागि अनिवार्य रूपमा नियमित स्वास्थ्य जाँचसँगै स्वास्थ्य संस्थामा सुत्केरी भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।