भैरहवा समाचारदाता
भैरहवा, वैशाख १८ गते । मानव बेचबिखन तथा ओसारपसारमा आफन्तहरू नै संलग्न हुने गरेको पाइएको छ । आफन्तले विभिन्न प्रलोभनमा पारी विदेश पठाउने र उतै अलपत्र पार्ने घटना बढिरहेको प्रहरी अनुसन्धानले देखाएको छ ।
पछिल्लो पाँच वर्षयता लुम्बिनी प्रदेशमा ११५ वटा बेचबिखनका मुद्दा दर्ता भएका छन् । आफन्तकै संलग्नताका कारण बेचबिखन तथा ओसारपसारजस्तो जघन्य अपराध रोक्न समस्या भएको प्रहरी अधिकृतहरूको भनाइ रहेको छ ।
प्रहरीका अनुसार रुपन्देहीको सीमा क्षेत्र बेलहिया नाका हुँदै भारतीय सहरमा लैजाने र अलपत्र पार्ने काममा अन्य जिल्लाका महिलाको समेत बढी संलग्नता देखिएको छ । धेरै पैसा कमाउने लोभ देखाएर विदेश लैजाने नाममा अलपत्र पर्ने क्रम बढेको प्रहरी अनुसन्धानले देखाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख उमेशराज जोशीका अनुसार कतिपय घटनामा पीडितले दलालको नाम, ठेगाना तथा अरू सम्बन्धित कुरा नबताउँदा प्रमाण जुटाउन र मुद्दा प्रक्रियामा लैजान सकिएको छैन । उहाँले भन्नुभयो, “अवैध ओसारपसार र बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रम प्रहरीले बढाएको छ तर पनि बेचबिखनकोे शृङ्खला रोकिएको छैन ।” एकातिर मानव तस्कर र अर्कोतिर गरिबी, विपन्नता र हिंसाले महिलाहरू बेचबिखनको जोखिममा परेको समेत उहाँले बताउनुभयो ।
चालु आर्थिक वर्ष २०७९/८० मा रुपन्देहीको सीमा क्षेत्रबाट १२८ जनाको उद्धार गरिएको छ भने भारतका विभिन्न स्थानबाट दुई जनालाई उद्धार गरी नेपाल ल्याइएको छ । प्रहरीले मानव बेचबिखनमा संलग्न एक जनालाई मुद्दा चलाइएको छ । यो अवधिमा सीमा क्षेत्रमा छ हजार नौ सय ४० जनालाई परामर्श दिइएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा दुई सय ८५ जनाको सीमा क्षेत्रबाट र सात जना भारतबाट उद्धार गरिएको थियो ।