अमरराज नहर्की
तनहुँ, वैशाख १८ गते । तनहुँमा भाइरल ज्वरो र अन्य सङ्क्रमणका बिरामी बढेका छन्। बिरामीको चाप धेरै भएकाले सरकारी तथा निजी स्वास्थ्य संस्थामा भिडभाड भएको छ। जिल्लाभर ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको तथा घाँटी दुख्ने समस्या भएका बिरामी बढिरहेका छन्।
सदरमुकाम दमौलीका अतिरिक्त डुम्रे, आँबुखैरेनी, भिमाद, खैरेनीटार, दुलगौँडाका स्वास्थ्य संस्थामा बिरामी बढेका हुन्। अहिले पहिलेभन्दा झन्डै दोब्बर बिरामी उपचारका लागि आउने गरेको दमौली अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. दिवस ढकालले जानकारी दिनुभयो। डा. ढकालले भन्नुभयो, “दैनिक २५० देखि तीन सय जना बिरामी आउने गरेका छन्। अधिकांश रुघाखोकी, ज्वरो र टाइफाइडका बिरामी छन्।” निजी क्लिनिकमा भन्दा सरकारीमा धेरै बिरामी आउने गरेको पाइएको छ।
पहिलेभन्दा गर्मी बढेसँगै बिरामीको सङ्ख्या धेरै भएको बन्दीपुर गाउँपालिका–१, डुम्रेस्थित मोती मेडिकल हलका सञ्चालक दलसिंह थापाले जानकारी दिनुभयो। दैनिक करिब एक सय बिरामी आउने र धेरैजसोमा रुघाखोकी र टाइफाइडका बिरामी रहेको थापाले बताउनुभयो। बासी खानेकुरा नखाने, उमालेको पानी पिउने, हरियो सागपात, झोलिलो खानेकुरा प्रशस्त खाने, खानाखाजा खानुअघि साबुनपानीले हात धुनुपर्ने दमौली अस्पतालका निमित्त प्रमुख डा. ढकाल बताउनुहुन्छ। गर्मी बढ्दै जाने बेला भएकाले बिरामी बढेको उहाँ बताउनुहुन्छ।