• १३ मंसिर २०८१, बिहिबार

नेपालगञ्जमा पहाडी जिल्लाका काफलको माग अत्यधिक

blog

नेपालगञ्जमा काफल विक्री गर्दै दाङका हरिलाल चौधरी । तस्बिर : सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, वैशाख १७ गते । पश्चिम नेपालका पहाडी जिल्लाको लोकप्रिय फल ‘काफल’को माग नेपालगञ्जमा अत्यधिक छ । पहाडी जिल्लाबाट काफल ल्याएर यहाँ विक्री गर्दै आएकाहरूले माग अत्यधिक रहेको जनाएका छन् । 

दाङ घोराहीबाट नेपालगञ्जमा काफल विक्री गर्न आउनुभएका हरिलाल चौधरीले नेपालगञ्जमा काफलको माग धेरै रहेको बताउनुभयो । उहाँले काफल ल्याउने दिनमै सबै काफल विक्री हुने गरेको बताउनुभयो । 

अहिले नेपालगञ्जमा उहाँलगायत पहाडी जिल्लाबाट ‘काफल’ ल्याएर विक्री गर्नेहरूलाई भ्याइनभ्याई छ । वैशाख १० गतेदेखि नियमित रूपमा काफल बेच्ने गरेको जनाउँदै चौधरीले पहाडमा पाइने फल भएकाले तराईका बासिन्दाले निकै महत्त्वका साथ काफल किन्ने गरेको बताउनुभयो । 


सोही प्रकारले दैलेखबाट काफल ल्याएर विक्री गरिरहनु भएका श्याम थापाले पनि काफलको माग अत्यधिक रहेको बताउनुभयो । उहाँले काफल ल्याउने बित्तिकै सबै विक्री भइहाल्ने जनाउनुभयो । 

काफल विक्री गर्न पहाडी जिल्लाका बासिन्दाहरू नेपालगञ्जको धम्बोझी चोक, पुष्पलाल चोक, बीपी चोक, त्रिभुवन चोक, त्रिवेणीमोडलगायत स्थानमा दैनिक रूपमा बस्ने गरेका छन् । 

‘जहाँ मानिसहरूको बढी आवतजावत हुन्छ, त्यहाँ गएर एक छिन बसेपछि सबै काफल विक्री भइहाल्छ’ थापाले भन्नुभयो ।

दाङ, रोल्पा, सल्यान र दैलेखबाट बसमार्फत नेपालगञ्जसम्म काफल ल्याएर विक्री गर्ने गरेको उहाँहरूको भनाइ छ । 

नेपालगञ्जमा घुम्न आएका भारतीय नागरिकले पनि निकै मन पराएर काफल खाने गरेको हुँदा विक्री झनै बढेको छ । 

नेपालगञ्जमै बसेर काफल खान पाउँदा निकै खुसी लागेको स्थानीय बासिन्दाको भनाइ छ । पहाडमा पाइने यति मीठो फल यहाँ सजिलैसित पाउँदा आनन्द लागेको धम्बोझीका समद सिद्धिकीले बताउनुभयो । 

‘काफल खान नपाएको धेरै वर्ष भएको थियो, पहाडतिर जान पाइएको थिएन, आफ्नै ठाउँमा सजिलै खान पाइयो, निकै मज्जा लाग्यो’ – सिद्धिकीले भन्नुभयो ।