• ११ पुस २०८१, बिहिबार

धसिएको कमला पुलकाे पुनः निर्माण सुरु

blog

हुलाकी सडकमा पर्ने कमला नदीमा भासिएको पाया पुनःनिर्माण सुरू। तस्बिरः जीवछ यादव

जीवछ यादव 

लहान, वैशाख १७ गते । हुलाकी सडकमा पर्ने कमला नदीको धसिएको पुलको पाया पुनः निर्माण कार्य सुरु भएको छ । चैत १५ गते भौतिक निर्माण तथा यातायात मन्त्री रहेको बेला वर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राविधिक टोलीसहित  स्थलगत निरीक्षणपछि एक सातामा पुनः निर्माण कार्य सुरु हुने  गरेको प्रतिबद्धता अनुसार कार्य सुरु भएको हो । 

२०७८ असार १७ गते आएको बाढीले पूर्वतिरको पाया धसिएको थियो । १५ दिनपछि पश्चिमतिरको पाया समेत धसेपछि पुल सञ्चालनमा आउन सकेको थिएन । मधेशको जीवन रेखाको रूपमा रहेको हुलाकी सडकमा सिरहा सप्तरीको सिमाना रहेको बलान नदी र सिरहा धनुषाको सिमाना रहेको कमला नदीमा पुल निर्माण हुन १२ वर्ष लागेको थियो । पप्पु लुम्बिनी जेभीले कमला पुल निर्माणको लागि २५ करोडमा टेण्डर लिएको थियो । 

१४ मिटरमा पायाको पायल राखेकोले पुल धसिएको प्राविधिक टोलीले निष्कर्ष निकालेपछि अब २५ मिटरमा माटो कडा माटो रहेको निर्माण कार्यमा खटिएको इन्जिनियर डम्बरबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँको अनुसार बालुवामै पाया राखिएकाले पूर्व र पश्चिमको पाया धसिएकाले अरू पायाहरुलाई माथि तानेर पुलको पुनः निर्माण हुँदैछ । 

निर्माण भएपछि सञ्चालनमा नआउँदै पाया भासिएपछि पुनः निर्माणको लागि पनि दबाब दिनुपरेको नेपाल पत्रका महासङ्घ सिरहा शाखाका पूर्व सभापति देवकुमार यादव बताउनुहुन्छ । 

पुलको निर्माण कार्य सम्पन्न भएर उद्घाटनको लागि तयारी भइरहँदा बाढीका कारण पाया भासिएको थियो ।