नवीन शिशिर विक
बागलुङ, वैशाख १७ गते । बागलुङ काठेखोला गाउँपालिका–६ का दिलबहादुर परियारले कपडा सिलाउने र चोयाका सामग्री निर्माण तथा बिक्रीबाट परिवार पाल्नुभयो। उहाँ गाउँका वनपाखामा पाइने निगालो तथा बाँसबाट चोया काटेर त्यसबाट घरेलु प्रयोगका सामग्री डोका, नाम्ला, थुन्से बिक्री गर्नुहुन्थ्यो। चोयाका सामग्री बिक्रीबाट आउने पैसाले परिवार जसोतसो चलेकै थियो। उहाँको जीवन धान्न सहयोग पुगेको परम्परागत सीप युवा पुस्ताले सिकेनन्।
छोरा नाति हुर्केपछि कसैले सहरबजार ताके त कोही विदेश पुगे। परियारपछिको पुस्ताले चोयाका सामग्री निर्माण गर्ने सीप सिक्न चाहेनन्।
परियारले भन्नुभयो, “अहिलेकालाई एकै पटक ग्याम्म पैसा आउने काम चाहिन्छ। मेरा पनि आँखा बस्न थाले, मपछि यो सीप र पेसा दुवै लोप हुन्छ।” चोयाबाट घरायसी प्रयोजनका लागि चाहिने डोको, नाङ्लो, भकारी, थुन्से र डाली बुन्नुहुन्छ उहाँ। आफ्नो परिवार र छरछिमेकमा पुग्नेसम्म डोका नाम्ला बुन्नुहुन्छ उहाँ अहिले। पहिलेजस्तो ठूलो मात्रामा बिक्री गर्ने उद्देश्यले बनाउन नसक्ने अवस्थामा पुगेको परियारले बताउनुभयो।
उमेरले ६८ वर्ष पुगेका परियार अझै पनि घर नजिकका खरबारीमा पुगेर निगालो, बाँस काटेर घरेलु सामग्री तयार गर्न तल्लीन हुनुहुन्छ। उहाँले भन्नुभयो, “मल बोक्ने, पानी बोक्ने र घाँस काट्ने डोकोको माग धेरै हुन्छ। म बुढोले माग पु¥याउन कठिन भएको छ।” छोरा नातिले यो सीप सिक्ने इच्छा नगरेको परियारको भनाइ छ।
परियारको उमेरसमूहका गाउँका अधिकांश ज्येष्ठ नागरिकमा यस्तो सीप छ। पहिले घरका लागि आफैँ चोयाका सामग्री तयार गर्नेहरू अहिले कम छन्। पछिल्लो समय बिक्रीका लागि समेत चोयाका सामग्री तयार गरिन्छ। सीप भएका सबैले अहिले डोका, डाला बुन्दैनन्। बजारबाट किन्न थालेका छन्।
दिनभरि तीनवटासम्म डोका तयार गर्ने परियार चोयाकै सामग्रीबाट आम्दानी गर्नुहुन्छ। अझै पनि डोका, नाम्ला बेचेको र वृद्ध भत्ताले सजिलैसँग घर चलेको परियारले सुनाउनुभयो। एउटै डोकाको मूल्य गाउँमा चार सयदेखि आठ सय रुपियाँसम्म छ।
परियारले जस्तै बागलुङको जैमिनी नगरपालिका–३, दमेकका ५७ वर्षीय सूर्यबहादुर पुनले चोयाकै सामग्री तयार गरी जीवन निर्वाह गर्नुभयो। २०/२५ वर्ष पहिलेसम्म त उहाँको आम्दानीको मुख्य स्रोत नै चोयाका सामग्री थिए। दमेकमा तयार भएका चोयाका सामग्री स्याङ्जा र रुपन्देहीसम्म पुग्थे। भरिया लगाएरै डाला, नाङ्ला, डोका र भकारी बेच्न पुतलीखेत हुँदै बुटवल पुग्ने सूर्यबहादुर फर्किंदा घरखर्च खाद्यान्न, नुन र तेल लिएर फर्किनुहुन्थ्यो। अहिले पनि उनको हातको सीप रोकिएको छैन। उहाँका छोरा पनि वैदेशिक रोजगारीमा हुनुहुन्छ।