• १३ असार २०८२, शुक्रबार

विवाहको वैदिक रीति

blog

वर्तमान समाजमा विवाह करार वा संस्कार भन्ने विवाद पनि व्याप्त छ । मानव सभ्यताको आरम्भ भएसँगै मानिसले सामाजिक तथा सांस्कृतिक विधि, पद्धति एवं सांस्कृतिक आयाम निर्माण गर्दै आयो । मानिसबाहेक अन्य प्राणीले यसो गर्न अहिलेसम्म सकेनन् ।

विवाहको  परिचय

मानिसको जैविक उत्पादन र सामाजिक अस्तित्व वैवाहिक प्रक्रियाले कायम गर्दछ । सृष्टि चक्रको निरन्तरताका लागि विपरीत लिङ्गीबीचको यौन समागम हुनु नै विवाहको मूल रूप हो । मानिसबाहेक अन्य प्राणीबीचको यौन समागमलार्र्ई विवाह मानिँदैन र त्यो यौन समागमका लागि खास पद्धतिको बृहत् स्वरूप पाइँदैन । 

त्यसैले मानवबाहेक प्राणीको दाम्पत्य सम्बन्धलाई विवाहका नामले सम्बोधन गर्ने चलन छैन तर मानिस मानिसबीचमा यौन समागमसम्म पुग्नका लागि खास खालका विधि तथा पद्धति निर्माण हुँदै आएका छन् । खास खालका विधि पद्धति पूरा गरेपछि मात्र वैवाहिक प्रक्रिया पूरा भएको मानिन्छ । त्यसपछि मात्र दम्पतीबीचमा यौन सम्बन्धको सामाजिक वैधता निर्माण हुन्छ । 

वर्तमान समाजमा विवाह करार वा संस्कार भन्ने विवाद पनि व्याप्त छ । मानव सभ्यताको आरम्भ भएसँगै मानिसले सामाजिक तथा सांस्कृतिक विधि, पद्धति एवं सांस्कृतिक आयाम निर्माण गर्दै आयो । मानिसबाहेक अन्य प्राणीले यसो गर्न अहिलेसम्म सकेनन् । त्यसैले अन्य प्राणीको जीवन चक्रलाई सभ्यता भनिएन तर मानव जीवन चक्र सभ्यताका रूपमा स्थापित भयो । संस्कार एक यस्तो सांस्कृतिक रित हो जसले मानवीय तथा सामाजिक क्रियाकलापलाई परिस्कार र  परिमार्जन गर्दै लैजान्छ ।  जुन प्रक्रियाभित्र समाहित भइसकेपछि फेरि पूर्ववत् स्वरूपमा फर्कन कठिन हुन्छ । दुई विपरीत लिङ्गी पनि एक खास खालको विधिसहित मानव पूर्णत्वको जीवन अभियानमा प्रवेश गरेपछि फेरि पूर्ववत् बन्छु भन्ने कुरा जटिल हुने हुँदा विवाहले संस्कारको स्वरूप ग्रहण गर्दै आएको देखिन्छ । त्यसैले गर्दा नै विवाह करार नभएर संस्कारका रूपमा स्थापित भएको हो ।

विवाहका संस्कारजन्य रित  स्वयम्बर

स्वयम्बरको भाव कुनै पनि स्त्रीले आफ्ना लागि आफैँ वर वा पति छान्ने प्रक्रिया हो । शास्त्रगत हिसाबले गहिरो विश्लेषण गर्दा भने भाले लोग्ने र पतिको भाव फरक फरक रूपमा बुझ्ने गरिन्छ । भाले सामान्य यौन समागमको क्षणिक समयका लागि मात्र जोडिन आउने प्राणीका रूपमा बुझिन्छ भने पति भन्नाले पारिवारिक स्वरूप र संरचनासहितको नेतृत्वदायी भूमिका निर्वाह गर्ने पुरुषका रूपमा बुझिन्छ तथा त्यहाँभित्र संस्कारजन्य सबै विधि विधान पूरा भएको नहुन सक्ने पनि भाव प्राप्त हुन्छ ।

तर पति वा पत्नी भन्नाले शास्त्रगत विधि, विधान वा शास्त्रगत मान्यता अनुसार सबै संस्कारजन्य विधि अनुसरण गरी दाम्पत्य सम्बन्ध कायम भएका स्त्री पुरुषलाई प्रतिबिम्बित गर्दछ । यो मानवमा मात्र नभएर आमप्राणी जगत्भित्र व्याप्त छ । यसले स्त्री स्वतन्त्रताको बिम्ब पनि दिन्छ । वर चयन गर्ने बधूको हक तथा इच्छाभित्र पर्दछ भन्ने समेत देखाउँछ । यस भावले पुरुष नेतृत्व जन्मनुभन्दा पहिले तथा परिवारमा पुरुषको नेतृत्व स्थापित हुनुभन्दा पहिले मातृ सत्ताको तथा मातृ शक्तिको नेतृत्व रहेको यस्तो आभास दिन्छ जहाँ पुरुष नेतृत्व एवं निर्णयसहितको परिवार व्यवस्था निर्माण भइसकेको थिएन । स्त्रीको निजी पुरुष नै रहन्थ्यो भन्ने पनि थिएन र वरको छनोट स्त्रीको चाहनामा मात्र भर पर्दथ्यो भन्ने बुझिन्छ ।

सामाजिक जीवशास्त्रको दृष्टिकोणबाट हेर्दा पोथीले सशक्त भाले रोज्नु तथा छान्नुमा पनि जैविक भाव लुकेको हुन्छ । जगत्भित्रको बलशाली भालेको बिउ धारण गरी बलशाली सन्तान उत्पादन गरी उसको प्रभुत्व स्थापित भएको देख्ने रहर हुन्छ भन्ने मानिन्छ । त्यसैले होला वर, बधू चयन गर्दा यौन र सन्तान उत्पादनका हिसाबले सबल हुन्छन् भन्ने अनुभूत भएपछि मात्र प्रक्रिया अगाडि बढाउने चलन अद्यापि छ ।

यसैले गर्दा मानव सभ्यतामा विवाहजन्य प्रक्रियामा पहिलो संस्कारका रूपमा स्वयम्बरलाई समावेश गरिएको हुनु पर्छ । जसले स्त्री शक्तिको निर्णयलाई कदर गर्ने र त्यसभित्र उसको जैविकीय भाव पनि पूरा होस् । सो भाव पूरा गर्न सामाजिक हिसाबले पनि त्यसका खास विधि बनाइयो ।  यो विधि वैदिक सभ्यतादेखि अभ्यासमा रहेको तर्क गर्दै विद्वान् कपिलदेव द्विवेदी र वाचस्पति गैरोलाले ऋग्वेदका ऋचाको सन्दर्भ दिँदै राजा पुरु मित्रकी कन्या सुन्ध्युव र विमद ऋषिका बीचमा स्वयम्बर भएको तथ्य उल्लेख गरेका छन् ।

वैदिक सभ्यताले करिब चारदेखि पाँच हजार वर्षअघिको समाज व्यवस्थाको बिम्ब दिन्छ । हालसम्म निरन्तर प्रकाशन भइरहेको  शिवराज आचार्यकृत वैदिक पात्रले त्यसको प्रामाणिक आधार दिन्छ ।  त्यसबेलादेखिका संस्कारजन्य विधि वर्तमानसम्म निरन्तर छन् । स्वयम्बरको प्रक्रियामा वर छान्ने निर्णय स्त्रीमा निहित हुन्छ भन्ने बिम्ब महाभारतमा द्रौपदीले अर्जुनलाई पति छानेको सन्दर्भबाट पनि बुझ्न सकिन्छ तर त्यो द्रौपदीको आफ्नो एकल निर्णय थियो वा उनका बाबु दु्रपदको इच्छाबमोजिम त्यसो गराइएको थियो भन्ने विश्लेषण गरिनु बेग्लै पाटो हो तर महाभारतकालीन समाज व्यवस्थामा पुरुषको नेतृत्व स्थापित भइसकेकाले त्यतिबेला द्रौपदीका लागि आयोजना गरिएको स्वयम्बरको प्रक्रिया मातृशक्तिको तथा स्त्रीको निर्णयभन्दा पनि पुरुषकै निर्णयबाट प्रभावित भएको हुनु पर्छ भन्ने पितृसत्तात्मक सैद्धान्तिक तर्क गर्ने चलन पनि छ । यद्यपि स्वयम्बरको प्रक्रिया भने वैवाहिक कार्यका लागि अनिवार्य रहेको झलक त्यो तथ्यले प्रदान गर्दछ ।

अग्नि परिणयन 

वेदकालीन सभ्यतामा पशुपालन विस्तारको अभियानले गर्दा आगो अग्नि देवताका रूपमा स्थापित भएको थियो । वेदकालीन समयमा प्राकृतिक वस्तु, जुन मानव जीवनका लागि कल्याणकारी थिए तिनलाई देवताका रूपमा पुजिन्थ्यो । दाम्पत्य सम्बन्धलाई आगोले पनि टुटाउन नसकोस् भन्ने बिम्बका रूपमा अग्नि परिणयन संस्कारको प्रक्रिया आरम्भ भएको पाइन्छ ।

वर्तमान समाजमा पनि विवाह गर्दा अग्निसहितको यज्ञ आयोजना गर्ने चलन रहेको छ । अचेल पनि विवाहको निमन्त्रणा पत्रमा ‘वैदिक विधिपूर्वक सुसम्पन्न हुने विवाह समारोहमा’ भन्ने वाक्यांश राख्ने चलन छ । अध्येता शिवस्वरूप सहायले तैत्तिरीय ब्राह्मणको सन्दर्भ दिँदै वैदिक कालमा विवाहको यज्ञ मण्डपमा वर अघि अघि, बधू पछि पछि, तीन पटकसम्म अग्निको प्रदक्षिणा गर्दथे भनेका छन् ।

त्यसैगरी ऋग्वेदको १० औँ मण्डलको ८५ औँ सूक्त (जसलाई विवाह सूक्त पनि भनिन्छ) अन्तर्गत रहेका अधिकांश ऋचामा अग्निको प्रार्थना, यज्ञको आयोजना भएको भाव पाइन्छ । उल्लेखित तथ्यहरूले वेदकालीन समयमा विवाह कार्यमा अग्नि परिणयनको रित रहेको देखाउँछन् ।

सप्तपदी र पाणिग्रहण 

वर, बधूले वैवाहिक यज्ञमा सात कदममा यज्ञ मण्डप परिक्रमा गर्ने कार्यलाई सप्तपदी भनिन्छ । ऋग्वेद र अथर्ववेदका विभिन्न ऋचामा अग्नि देवतालाई सम्बोधन गर्दै, पवित्र भावनाले म पति भएर तिमीलाई पत्नीका रूपमा पाणिग्रहण गर्दछु भन्ने वाक्यांश भएकाले त्यस समयको विवाह कार्यमा सप्तपदी र पाणिग्रहण एक महìवपूर्ण संस्कारजन्य रीति थियो भन्ने पुष्टि हुन्छ ।

ऋग्वेदको १० औँ मण्डलको ८५ औँ सूक्तको ३६ सौँ ऋचामा ‘जसरी म उत्तम ऐश्वर्यका लागि तिम्रो हात पक्रन्छु त्यसरी नै म पतिसँगै तिमी वृद्धता प्राप्त गर्ने होऊ । मग, अर्पमा, उत्कृष्ट, बुद्धि भएका पूषा आदि देवताले मेरो घरको रक्षाका निम्ति तिमीलाई दिए भन्ने भाव रहेको छ ।

यहाँ ऐश्वर्यका लागि तिम्रो हात पक्रन्छु भन्ने भावले पाणि ग्रहणको प्रक्रियालाई देखाउँछ । त्यस समयमा पाणि ग्रहण मानव शरीरको पूर्णत्वको प्रतिबिम्ब मानिन्थ्यो । वेदकालीन समयमा अलग अलग रूपमा रहेका हामी दुई अबदेखि एक भयौँ, दुवै एकअर्काको पालनपोषण र सुख दुःखको सहयात्रामा एकबद्ध हुन्छौँ,  भन्ने भावको प्रदर्शन गरिन्थ्यो । 

विवाहपछि स्त्री पतिको घरमा जाने हुँदा सिङ्गो घरको समृद्धिको सूचक स्वरूप अग्नि साक्षी राखेर यो रित पूरा गर्ने चलन प्राचीन वैदिक समाज व्यवस्थादेखि नै आरम्भ भएको थियो ।

अश्मारोहण

विवाह कार्यमा वरले बधूलाई यज्ञको परिक्रमा गराएर यज्ञनजिक राखिएको एक शिला (ढुङ्गा) मा लगेर खुट्टाको बुढीआँैला समातेर तिमी शिला जस्तै स्थिर बन, शत्रुका शिरमा टेकी हिँड भन्ने भावको मन्त्र उच्चारण गर्ने रितलाई अश्मारोहण तथा शिलारोहणका रूपमा बुझिन्छ । यस्तो विधि वेदकालीन समयमा समेत थियो । अथर्ववेदको १४ औँ मण्डलको प्रथम सूक्तको ४७ औँ ऋचामा “म पति हुनाले सुखप्रद तथा स्थिर ढुङ्गालाई आधारका रूपमा पृथ्वीदेवीका काखमा आफ्ना सन्तानका लागि स्थापित गर्दछु । तिमी श्रेष्ठ तेजस्विताले सम्पन्न र आनन्दित भएर यस ढुङ्गामाथि चढ, सावितादेवले तिम्रो आयु वृद्धि गराऊन्” भन्ने भाव रहेकाले त्यस समयको विवाह कार्यमा अश्मारोहण तथा शिलारोहणको रित थियो भन्ने थाहा हुन्छ ।

अश्मारोहण विधिले पुरुष नेतृत्वको परिवार व्यवस्थाभित्र पुरुषलाई महिलाको सेवक पनि बन्नु पर्छ भन्ने सन्देश प्रदान गरेको देखिन्छ । अश्म भनेको ढुङ्गा र आरोहण भनेको त्यसमाथि चढ्नु भन्ने बुझिन्छ । ढुङ्गालाई शत्रुको प्रतीक मानेर दुवैको बलबाट त्यो ढुङ्गालाई कुल्चनु भनेको आफ्ना शत्रुलाई परास्त गर्नु भन्ने सन्देश रहेको देखिन्छ ।दुवै एकताको सूत्रमा बाँधिएर एक अर्काका सेवक बनी हामी जीवनयापन गर्न तयार छौँ भन्ने प्रतिबद्धताको प्रतीक अश्मारोहण रितले प्रदान गरेको छ ।

कन्यादान

वेद संहिताका ऋचाहरूमा कन्यादान भन्ने शब्द प्रस्ट रूपमा नदेखिए पनि कन्यालाई उनका पिता कुलबाट विच्छेद गरी कन्याका पति कुलमा गएको भावसहितका प्रसङ्ग भने अथर्ववेदका विभिन्न ऋचामा पाइन्छन् । जसले गर्दा त्यस समयमा कन्यादान प्रचलन रहेको तथ्यलाई देखाउँछ ।

अथर्ववेदको १४ औँ मण्डलमा सङ्गृहीत ऋचाहरूमा कन्यालाई सम्बोधन गर्दै पति प्राप्त गराउने र श्रेष्ठ बन्धु बान्धवका साथमा सुरक्षित राख्ने गरेको अर्थमा देवतालाई हामी यमन गर्दछौँ । खरबुजा वा काँक्रो पाकेपछि लहराबाट आफैँ छुट्टिएझैँ हामी पितृकुलबाट कन्यालाई पृथक् गराउँछौँ तर पति कुलबाट पृथक् गराउँदैनौँ । यसमा ‘तिमीलाई यस पितृकुलबाट मुक्त गराएका छौँ’ भन्ने भाव उल्लेख भएको देखिन्छ । यस भावले कन्यादानको रितलाई प्रस्तुत गरेको छ । यसै तथ्यका आधारमा वेदकालीन समयको विवाह कार्यमा कन्यादानको संस्कारजन्य विधि रहेको पुष्टि हुन्छ ।

सनातनी समाजमा कन्यादानको सन्दर्भमा कसरी प्रारम्भ भयो होला भन्ने बारेमा विभिन्न बहस हुने गरेका छन् । कन्यादानको प्रक्रिया विवाह संस्कारभित्र मुख्य उपसंस्कार तथा प्रक्रियाका रूपमा रहेको पाइन्छ ।

मानव सभ्यताभित्र यसको सुरुवात कसरी हुन पुग्यो भन्ने सन्दर्भको खोजी गर्न वैदिक आर्य सभ्यतासम्म पुग्नुपर्ने हुन्छ । सिन्धु सभ्यताका द्रविड र वैदिक सभ्यताका वैदिक आर्यका बीचमा एकखालको फरकपन थियो । वैदिक आर्यहरू आफूलाई द्रविडभन्दा उच्च कुलीन संस्कृतिका हौँ भन्ने मनोविज्ञानमा थिए ।

सभ्यता निर्माणका क्रममा द्रविड र आर्यका बीचमा आपसी द्वन्द्व भइरहन्थ्यो । आर्यहरू युद्ध कलामा द्रविडहरूभन्दा सिपालु थिए । त्यसैले आर्यहरूले उनीहरूलाई युद्धमा हराएर दास बनाउँथे । यसै सिलसिलामा युद्धमा हराएर द्रविड युवतीलाई आर्य लडाकुले हरण गरी विवाहसमेत गरेर ल्याउने क्रम बढ्दै गएको थियो ।

यसबाट द्रविड र आर्यबीचमा सांस्कृतिकदेखि जैविक सम्मिश्रण बढ्ने खतरा बढ्दै गयो । यस खतराबाट आर्य संस्कृतिलाई जोगाउन आर्यले बाबुआमाको अनुमति तथा स्वीकृति नलिई कन्या लिएर आउन नपाउने संस्कारजन्य मान्यता निर्माण गरे । दुवै परिवारतर्फका बाबुआमाको सहमतिमा मात्र विवाह हुनुपर्ने र बाबुआमाको स्वीकृति नलिई गरिएको विवाहलाई नमान्ने परम्परा सुरु भयो । 

यस परम्पराबाट आर्य समुदायका युवकले द्रविड समुदायका युवती विवाह गर्ने प्रचलनमा नियन्त्रण गरी आर्य संस्कृतिलाई शुद्ध रूपमा कायम गर्न सकिन्छ भन्ने अभिप्राय बुझ्न सकिन्छ । आर्य संस्कृतिको शुद्धता कायम गर्ने हेतुले कन्यादानको संस्कार आरम्भ भएको प्रचलन अहिलेसम्म अभ्यासमा रहेको छ ।

गृह प्रवेश 

विद्वान् शिवस्वरूप सहायले वेदकालीन समयको विवाह कार्यमा गृह प्रवेशको विधि पनि रहेको चर्चा गरेका छन् । अथर्ववेदका विभिन्न ऋचामा बधूलाई गृह प्रवेशका क्रममा उच्चारण गरिने मन्त्र रहेका छन् ।

अथर्ववेदको ऋचामा घरपरिवारलाई कष्ट नदिई पशुको हित गर्ने, वीर सन्तान जन्माउने बनेर गार्हपत्य अग्निमा हवन गर्ने भाव देखिन्छ । यस भावले त्यस समयको विवाहको संस्कारजन्य कार्यमा गृह प्रवेशको समेत विधि थियो भन्ने देखाउँछ । गृह प्रवेश गर्दा पनि अग्निको प्रसङ्ग आउँछ । दियो बालेर दिदीबहिनीले बाटो छेक्दा बलिरहेको दियोरूपि अग्निले पनि वैवाहिक सम्बन्ध टुटाउन नसकोस् भन्ने भावमा गृह प्रवेश गर्ने चलन अद्यापि रहेको छ । यसरी हेर्दा पनि वैदिक विवाहका रितहरू समकालीन सनातनी समाज व्यवस्थाको आधार स्तम्भका रूपमा रहेका छन् ।

करिब पाँच हजार वर्षको अन्तरालमा समाज व्यवस्थामा धेरै फेरबदल भए पनि वैदिक विवाहका संस्कारजन्य रित सनातनी समाजमा अद्यापि अभ्यासमा रहेको देखिन्छ ।    

–युवामञ्च  

Author

शुक्रराज अधिकारी