अमेरिका, असार १३ गते । अमेरिकाभित्र जन्मेका प्रत्येक बालबालिकाहरु स्वतः अमेरिकाको जन्मसिद्ध नागरिक हुन्छन् कि हुन्नन् भन्ने कुराको फैसला शुक्रबार साँझ हुने भएको छ ।
यस विषयमा गत मे १५ मा सर्वोच्च अदालतले सुनुवाइ गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिवक्ताहरुले सर्वोच्चका नौ जना न्यायाधीशहरुसमक्ष आफ्नो दलील पेस गर्नुभएको थियो ।
अमेरिकी समाचारपत्रका अनुसार, अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी समय अनुसार शुक्रबार साँझसम्ममा यसको निर्णय दिने भएको छ । अमेरिकाको संविधानको १४ औँ संशोधनमा केही अपवादलाई छोडेर अमेरिकाभित्र जन्मने प्रत्येक बालबालिकाहरु स्वतः अमेरिकाको जन्मसिद्ध नागरिक हुने व्यवस्था गरिएको छ ।
विगत एक सय ५७ वर्षदेखि चल्दै आएको यो संवैधानिक व्यवस्थामाथि वर्तमान राष्ट्रपति ट्रम्प अनुदार हुनुहुन्थ्यो । त्यसैले उहाँले यो व्यवस्थालाई खारेज खारेज गर्न राष्ट्रपति भएको पहिलो दिनमै कार्यकारी निर्देशन जारी गर्नुभएको थियो । तर तल्लो अदालतले ट्रम्पको यो निर्देशनमाथि चुनौती दिँदै राष्ट्रपतिको यो कदम असंवैधानिक छ भनेर रोकेपछि यो मुद्दा सर्वोच्चमा पुगेको थियो ।
राष्ट्रपति ट्रम्प जन्मसिद्ध नागरिक हुने व्यवस्थामाथि परिवर्तन गर्न चाहनुहुन्छ । उहाँको भनाइ छ स्वतः नागरिक हुनका लागि अमेरिकामा जन्मेको बच्चाको बाबु वा आमामध्ये एकजनासँग कम्तीमा पनि अमेरिकाको नागरिक वा ग्रिन कार्ड हुनुपर्छ । संविधानमा भएको १४ औँ संशोधन दासहरुसँग मात्र केन्द्रित भएकाले अहिलेको समयमा पनि त्यही अवस्था भइराख्न नहुने उहाँको तर्क छ । यदि यो तरिकाले हेर्ने हो भने हामी मुद्दा जित्छौँ उहाँ भन्नुहुन्छ ।
तर ट्रम्पको यो विवादास्पद कदमलाई लिएर अमेरिका विभाजित भएको थियो । कुनै राज्यले यसको समर्थन गरेका थिए भने केही सङ्घीय तथा राज्य न्यायाधीशहरुले संविधानमाथिको यो हमला सैह्य नहुने चेतावनी दिँदै यसलाई अस्वीकृत गरेका थिए । त्यसपछि यो मुद्दा सर्वोच्च पुगेको हो र यसको निर्णय आज हुने भएको हो ।
यो निर्णय कस्तो आउला र के आउला भन्ने खुल्दुली आम जनमानसमा छ । सर्वोच्चले ट्रम्पको कदममा समर्थन जनायो भने अब जन्मने बालबालिकाका लागि मात्र यो नियम लागू हुने जनाएको छ ।