शेरबहादुर सार्की
बाजुरा, असार १३ गते । बर्खा लागेसँगै बाजुरावासीलाई सडककै चिन्ता हुने गरेको छ । यहाँको साँफे मार्तडी सडकअन्तर्गतको बल्दे अम्मकोट र मार्तडी कोल्टी सडकको जिल्लीमा थोरै पानी परे पनि सडकमा पहिरो जाने गरेको छ ।
यता बाउली र अनाई बाउली र दानसाँगु खोलामा पक्की पुल नहुँदा बर्खाको समय पानी परेपनि यहाँ खोला तर्न निकै समस्या हुने गरेको छ ।
पहिरोका कारण अवरुद्ध हुने सडक मर्मत तथा खोलामा पक्की पुल निर्माण नहुँदा बर्खाको समय सडक अवरुद्ध हुने गरेका हुन् ।
बर्खाको समय थोरै पानी परे पनि यहाँका विभिन्न ठाउँमा सडक भत्किने अवरुद्ध हुने गरेकाले यो वर्षको बर्खा लागेसँगै यहाँका स्थानीयलाई पनि सडकको चिन्ता थपिएको हो ।
हिउँदको महिना सडक सुचारु हुँदा कोटीदेखि मार्तडीसम्म आउजाउमा सहज हुने गरेको थियो । बर्खा सुरु भएसँगै यहाँ चल्ने बस जिप गाडी मार्तडीमै रोकिने गरेकाले आवतजावतमा समस्या हुने गरेको बुढीनन्दा नगरपालिका स्थानीय रामबहादुर कार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सडक निर्माण गर्न लागेको धेरै वर्ष भयो । अहिलेसम्म सडक निर्माणको काम पूरा भएको छैन । थोरै पानी प रेपनि सडक बिग्रिने भत्किने गर्दछ ।”
यसरी सडक भत्किएर अवरुद्ध हुने गरेकाले यहाँका स्थानीयलाई कोल्टीदेखि मार्तडीसम्म आउजाउमा समस्या हुने गरेको कार्कीले बताउनुभयो ।
मार्तडीदेखि कोल्टीसम्मको सडक निर्माण गर्न थालेको झण्डै बीस वर्ष हुन थाल्यो । अझै यो सडकमा निर्माणको काम सकिएको छैन ।
मार्तडीदेखि ढम्कनेसम्म अलि सडक निर्माण गरेको भए पनि यो बिच बिचमा भने अँझै सडक मर्मतको काम अलपत्र परेको छ ।
ढम्कनेदेखि कोल्टीसम्मको सडकको अवस्था झन नाजुक छ । बिच बिचमा भत्किने र पहिरो लाग्ने गरेकाले यो सडकको अवस्था दयनीय रहेको हो ।
यो सडकको बिचमा पर्ने दानसाँगु खोलामा अहिलेसम्म पुल परेको छैन । यहाँ पुल नपर्दा हिउँद बर्खामा गाडी गुडाउन निकै समस्या पर्ने गरेको छ ।
यहाँ हिउँदको महिना खोलामा पानीको बहाव कम हुने भएकाले गाडी वारपार गर्न केही सहज भए पनि बर्खाको समयमा भने यहाँ गाडी राेकिने गर्दछन् ।
यसैगरी, साँफे मार्तडी सडकको बल्दे अम्कोटमा पहिरोका कारण सधै सडक अवरुद्ध हुने गर्छ । यो ठाउँमा अँझै राम्रोसँग सडक मर्मत गर्न सकिएको छैन ।
सडक डिभिजन कार्यालय साँफेले यहाँ धेरै पटक सडक मर्मत गरे पनि बर्खाको समय माथिदेखि पहिरो बग्ने गरेकाले सडक अवरुद्ध हुने गर्दछ ।
ठेकेदार कम्पनीकाको लापरवाहीले यहाँका सडक अलपत्र पर्ने गरेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले धेरै पटक उहाँहरुलाई आग्रह गर्दा केही महिना निर्माणको काम सुरु गर्नुभयो । त्यसपछि अहिले बर्खाको समय फेरी काम बन्द गर्नुभयो । जसका कारण अहिले यहाँका सडक निकै अलपत्र अवस्थामा छन् ।’’
सडक समयमै मर्मत निर्माण नहुँदा यहाँका स्थानीयले हिउँद बर्खा नै आवतजावतमा समस्या खेप्दै आउनुपरेको छ । सडक निर्माणका काम जिम्मा लिएका ठेकेदार कम्पनीले आफूले जिम्मा लिएको काम समयमै सम्पन्न गर्ने हो भने यहाँका स्थानीयको सडकको चिन्ता दूर हुने प्रमुख जिल्ला अधिकारी पाध्याले बताउनुभयो ।