• ११ पुस २०८१, बिहिबार

जानकी नवमी मनाइयो

blog

जनकपुरधाम समाचारदाता

जनकपुरधाम, वैशाख १७ गते । विविध कार्यक्रमको आयोजना गरी शनिबार जानकी नवमी उत्सव भव्यताका साथ मनाइएको छ। जानकीको जन्मोत्सवका अवसरमा जानकी मन्दिरको आयोजनामा विभिन्न कार्यक्रम गरी जानकी नवमी उत्सव मनाइएको जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवले बताउनुभयो।

वैशाखको शुक्ल नवमीको मध्याह्नमा धर्तीबाट प्रकट भएको धर्मग्रन्थमा गरिएको वर्णन र जानकी मन्दिरको चलनलाई निरन्तरता दिँदै जानकी नवमी मनाइएको उहाँले जानकारी दिनुभयो।  शाही स्नान, जन्मोत्सव, साँझ डोला शोभा यात्रा, बेलुका दीप प्रज्वलन गरी दिपोत्सव र राति बधाई गानसहित जानकी नवमी उत्सव मनाइएको बताउँदै उहाँले सो अवसरमा भारतका विभिन्न स्थानका साधुसन्त पनि जनकपुरधाममा आउनुभएको जानकारी दिनुभयो। 

यस अवसरमा विभिन्न धार्मिक, सांस्कृतिक कार्यक्रम गरिएको छ भने मन्दिरलाई बेहुलीझैँ सजाइएको छ। जानकी मन्दिरमा धार्मिक प्रवचनको आयोजनासमेत गरिएको सहायक महन्त दासले जानकारी दिनुभयो। जानकी नवमीलाई विशेष रूपमा मनाउन थालेपछि जनकपुरधाममा धार्मिक पर्यटकको सङ्ख्यामा समेत वृद्धि भएको उहाँको भनाइ छ।