लुम्बिनी, वैशाख १६ गते । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जनताको आकाङ्क्षा भनेको देशको विकास, समृद्धि र सुशासन रहेको बताउनुभएको छ । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि दोस्रो चरणका सबै निर्वाचन सम्पन्न भएर तीन तहमै नयाँ सरकार आइसकेको अवस्थामा रोजगारीका लागि बिदेसिनुपर्ने र जनताले आफ्नो कामका लागि भनसुन गर्न नेताकहाँ धाउनुपर्ने गलत प्रणालीका अन्त्य जनताको मुख्य चाहना रहेको बताउनुभयो ।
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान, नेपालको तेस्रो केन्द्रीय महाधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रष्ट्राचार, जनताको मतको दुरुपयोग र सिद्धान्त बेचेर कुर्सीका लागि हानथाप गर्नेजस्ता कुराको अन्त्य हुनुपर्ने बताउनुभयो । “हाम्रा अग्रजहरू देशका लागि बलिदानी दिएर मर्न तयार भए, अब मर्न होइन, देशका लागि केही गर्न तयार हुनुपर्यो”, उहाँले भन्नुभयो, “आफ्ना लागि होइन, देशका लागि गर्न तयार हुनुपर्यो, तपाईँहरूजस्ता कलाकारले सङ्गीतका माध्यमबाट सचेत गराउनुपर्यो ।”
उहाँले भाषा, कला र संस्कृति हाम्रा पहिचान रहेको बताउँदै यति धेरै भाषाभाषी र कला, संस्कृति कहीँ पनि नभएको र यो हाम्रो पहिचान भएको बताउनुभयो । यस्ता कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै अगाडि बढाउने कुरामा ध्यान दिनु जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले आधुनिकतासँगै यस्तो मौलिक कला, संस्कृति हराउँदै जाने हुन् कि भन्ने चिन्ता लिनु जरुरी रहेको र यसको संरक्षण र प्रवर्द्धनमा राज्यका तीनवटै तहका सरकारको ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बाटो, पुल, स्कुल, कलेजजस्ता विकासका पूर्वाधार बनाउँदा यसका साथसाथै कला, संस्कृतिलाई संरक्षण गर्न स्थानीय सरकारले विशेष ध्यान दिनुपर्छ ।”
अध्यक्ष तिमिल्सिनाले कलाकारितालाई रोजगारीसँग जोड्न आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “गीत÷सङ्गीतमा लाग्ने यहीँ क्षेत्र पेसाबाट आत्मनिर्भर हुने गरी जोडिनुपर्छ”, उहाँले भन्नुभयो, “बल्ल कलाकार र कलाकारिता टिक्छ ।”
अध्यक्ष तिमिल्सनाले कला, संस्कृति हाम्रा पहिचान, पुँजीको रूपमा रहेको बताउनुभयो । उहाँले यस्ता सम्पत्तिलाई अन्य भाषामा समेत अनुवाद गरेर विश्वव्यापी प्रचार गर्नुपर्ने बताउनुभयो । उहाँले यसलाई कसरी आयआर्जनसँग जोड्ने, कसरी जीवन निर्वाहका रूपमा अगाडि बढाउने भन्नेमा ध्यान जानुपर्ने बताउनुभयो । उहाँले कला संस्कृतिलाई आयआर्जन र जीवन निर्वाहसँग जोड्न सके नयाँ पिँढीको यस्ता कार्यक्रममा सहभागिता बढ्ने बताउनुभयो । रासस