अविनाश चौधरी
धनगढी, वैशाख १६ गते । कैलालीमा एक बुबाले आफ्नै जवान छोराको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका –६ मटियारीका ४७ वर्षीय महेशकुमार चौधरीले २१ वर्षीय छोरा अर्जुनको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार महेशले आज मध्यान्ह घरदेखि १५० मिटर टाढा जङ्गलमा इँटाले छोराको टाउकोमा हानेका थिए । इँटा प्रहारबाट उनका छोरा अर्जुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो ।
छोराको हत्या गर्ने बुबालाई वडा प्रहरी र जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिनुभयो ।