• १० मंसिर २०८१, सोमबार

नेपाल टस हारेर पहिले ब्याटिङ गर्दै

blog

फाइल तस्बिर ।

काठमाडौं, वैशाख १६ गते । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा आज (शनिबार) नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि मैदानमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । कुवेतका कप्तान मोहम्मद अस्लामले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो । 

१० टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा अपराजित रहँदै विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो । कुवेतले समूह ‘बी’ को उपविजेताको रूपमा नेपालसँगको भिडन्त पक्का गरेको थियो । 

प्रतियोगिताको उपाधि चुम्ने लक्ष्यमा रहेको नेपाल सेमिफाइनलमा कुवेतलाई हराएर फाइनलमा स्थान बनाउने अभियानमा छ । नेपालका लागि कुवेत तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी हो । यसअघि दुई टोलीबीच तीन वटा भिडन्त भएको छ । जसमा नेपालले दुई र कुवेतले एक खेल जितेको छ । 

यस्तै मूलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ‘ए’ को उपविजेता ओमान र समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (युएई) भिड्दैछन् । यस खेललाई एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता दिइने भएको छ । फाइनल खेल वैशाख १८ गते हुनेछ ।

सेमिफाइनलमा पराजित टोलीबीच वैशाख १७ गते तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

कुवेतविरुद्ध नेपाल-११ 

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।