• ८ वैशाख २०८१, शनिबार

किसान परिचय पत्र वितरण

blog

गोकर्ण पौडेल 

तुलसीपुर, वैशाख १५ । तुलसीपुर उपमहानगरपालिकाले किसान परिचय पत्र वितरण गरेको छ ।  स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तु प्रोत्साहन गर्नका लागि परिचयपत्र वितरण गर्न सुरु गरिएको हो ।  

तुलसीपुर उपमहानगरपालिकाले बजार क्षेत्रमा स्थानीय किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुको विक्री गर्नका लागि किसान परिचय पत्र उपलब्ध गराएको छ । 

कृषि शाखाका प्रमुख धनराज गौतमले पहिलो चरणमा एक सय जना किसानलाई किसान परिचय पत्र उपलब्ध गराउन सुरु गरेको बताउनुभयो । गैह्र किसानहरुले अन्यत्रबाट ल्याएका तरकारी बजार क्षेत्रमा यत्रतत्र विक्रि वितरण गर्न थालेपछि स्थानीय किसानहरु मारमा परेको भन्दै परिचय पत्र वितरण गर्न थालिएको हो ।  

आर्थिक विकास समितिका संयोजक माधव वलीले किसानहरुले परिचयपत्र प्राप्त गरेसँगै बिहान ४ देखि ८ बजेसम्म बजार क्षेत्रमा कृषिजन्य वस्तु विक्री सहजरुपमा गर्न पाउने व्यवस्था गर्न थालिएको बताउनुभयो । संयोजक वलीले परिचय पत्र नराखी बजारमा तरकारी विक्री वितरण गर्न नपाइने व्यवस्था गरिएको बताउनुभयो । 

आर्थिक विकास समितिका संयोजक माधव वलीले बजारमा खुल्लारुपमा भारतीय तरकारी ठेलामा राखेर विक्री गर्दा स्थानीय किसान मारमा परेका कारण किसान परिचय पत्र वितरण गर्न थालिएको बताउनुभयो । उहाँले सम्बन्धित वडाले तरकारी विक्री वितरण गर्ने किसानले उत्पादन गरेको विवरण सिफारिस पत्रमा जानकारी गराउनुपर्ने बताउनुभयो। उहाँले भारतीय बजारबाट परीक्षण बिना नै तुलसीपुर बजार क्षेत्रमा तरकारी भित्रिरहेको अवस्थामा त्यस्ता तरकारी नकिन्न समेत आग्रह गर्नुभयो । 

तुलसीपुर उपमहानगरपालिकाले भारतीय बजारबाट खुल्लारुपमा  विषादी परीक्षण नगरेरै तुलसीपुर बजार क्षेत्रमा भित्रने तरकारीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजनसंगको समन्वयमा चेकजाँच गर्न थालेको नगर प्रवक्तासमेत रहेका वलीले बताउनुभयो । उहाँले तुलसीपुर बजार क्षेत्रमा मात्रै बिना चेकजाँच नै दैनिक तीन ट्रक तरकारीजन्य वस्तु भित्रने तथ्य फेला पारिएको बताउनुभयो ।