• १२ असार २०८१, बुधबार

एकैसाथ तीन चलचित्र प्रदर्शन

blog

काठमाडौँ, वैशाख १५ गते  । आज शुक्रबार तीनवटा नेपाली चलचित्रबीच भिडन्त हुँदै छ । विकासराज आचार्य निर्देशित ‘नाइ नभन्नू ल ६’, सनमकुमार बैराग निर्देशित ‘कैदीको पत्र’ र सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ एकसाथ देशभरि प्रदर्शन हुँदै छन् । 

यीमध्ये ‘नाइ नभन्नू ल ६’ र ‘प्रसाद २’ वैशाख १ गते नै प्रदर्शनमा आउने तयारीमा थियो तर चलचित्र विकास बोर्डको सेन्सरको किचलोले ‘नाइ नभन्नू ल ६’ नयाँ वर्षको दिन प्रदर्शनमा आउन सकेन भने ‘प्रसाद २’ आर्थिक लेनदेन विवादका कारण अदालतमा मुद्दा परेपछि निर्धारित मितिमा प्रदर्शन हुन सकेका थिएनन् ।  

निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीको लेखन रहेको चलचित्र ‘नाइ नभन्नू ल ६’ मा आशीर्वाद क्षेत्री र आँचल शर्माको मुख्य भूमिका रहेको छ । चलचित्रको प्रचारप्रसार खासै नदेखिए पनि धेरै दर्शकको पर्खाइको चलचित्र हो, यो । चलचित्रले यसअगाडिका शृङ्खलामा पनि राम्रो व्यापार गरेको थियो । ‘नाइ नभन्नू ल’ को छैटौँ शृङ्खला भएकाले पनि आफ्नो चलचित्रले राम्रो व्यापार गर्नेमा निर्देशक आचार्य ढुक्क देखिनुहुन्छ । “मैले जति पनि चलचित्र बनाएँ सबै राम्रो चले र यो चलचित्रलाई दर्शकले अवश्य नै रुचाउनुहुन्छ,” भन्नहुन्छ निर्देशक आचार्य ।

आशीर्वाद र आँचलसँगै चलचित्रमा केकी अधिकारी, प्रियङ्का कार्की, सरोज खनाल, खड्गबहादुर पुन, अभिनेता निखिल उप्रेती र अभिनेतृ सञ्चिता लुइँटेलका छोरा अथर्वको पनि अभिनय रहेको छ । आख्यान फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल हुन् भने हिमाल केसीको द्वन्द्व, पुरुषोत्तम प्रधानको छायाङ्कन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याक ग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको नृत्य निर्देशन छ ।

शुक्रबार प्रदर्शनमा आउने ‘कैदीको पत्र’ बेलायतको स्कटल्यान्डमा छायाङ्कन भएको चलचित्र हो । जहाँ प्रेम, रोमान्स र धोकाको कथावस्तुलाई समावेश गरिएको छ । चलचित्रले पारिवारिक खुसीलाई सम्हाल्न नसक्दा आउने सामाजिक विशृङ्खलतालाई चित्रण गर्छ ।

चलचित्रको पटकथा, संवाद र गीतको शब्द रचना बैरागले नै तयार पार्नुभएको हो । साहित्यकार ईश्वर मानन्धरले लेख्नुभएको कथा ‘कैदीको पत्र’ मा आधारित रहेर चलचित्र निर्माण गरिएको हो । चलचित्रलाई एडप्टेड स्क्रिनप्ले विधामा राख्न सकिन्छ ।

चलचित्रमा कुनाल विश्व र ब्रिटिस अभिनेतृ म्याडिसन लाजारस, सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, विजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या सिवाकोटीलगायतको अभिनय छ ।

चलचित्र प्रदर्शनीको चार दिनअघि राजधानीमा गरिएको प्रिमियर सोमा राम्रो प्रतिक्रिया पाएको ‘प्रसाद–२’ पनि शुक्रबार प्रदर्शनमा आउँदै छ । सुदर्शन थापाको निर्देशनमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी, प्रकाश घिमिरे, विशाल पहाडीलगायत कलाकारको चलचित्रमा मुख्य भूमिका रहेको छ । चार वर्षअघि नै प्रदर्शनमा आएको ‘प्रसाद’ कै बाँकी कथा भनिएको चलचित्रमा अन्तरजातीय विवाह गरेका एक जोडीको प्रेमिल कथालाई केन्द्रमा राखेर सामाजिक जातीय विभेद, राजनीतिक विकृति, समाजका अगुवाको हैकमवादी प्रवृत्तिविरुद्ध गर्ने सङ्घर्षलाई चित्रण गरिएको छ । उच्च अदालत पाटनले चलचित्र प्रदर्शनको लागि बाटो खुला गरिदिएसँगै निर्माण टिमले वैशाख १५ लाई नयाँ प्रदर्शन मिति घोषणा गरेको थियो ।