• २६ वैशाख २०८१, बुधबार

मापदण्डविपरीतको आयल स्टोरमा सिलबन्दी

blog

काठमाडौँ, वैशाख १५ गते । काठमाडौँ महानगरपालिकाले बालाजुस्थित कोतः धुकु आयल स्टोर सिलबन्दी गरेको छ । महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले नेपाल आयल निगमले तोकेको मापदण्डविपरीत बिक्री वितरण गर्दै आएको पाइएकाले महानगर प्रमुखस्तरीय निर्णयबाट बिहीबार सो आयल स्टोरमा सिलबन्दी गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार घरको सटरभित्रबाट सञ्चालन गर्दै आइएको सो आयल स्टोरको पम्पलाई जाली र फलामे साङ्लोले बेरी ताल्चा लगाएर सिलबन्दी गरिएको हो । 

‘पेट्रोलियम पदार्थ बिक्रेता नियमावली, २०७५ (प्रथम संशोधनसहित)’को मापदण्ड नपुगेका कारण तत्काल स्थानान्तरण गर्नुपर्ने १६ वटा पम्पको सूचीमा यो आयल स्टोर पनि परेको छ । 

ती पम्पहरूका कारण सवारीसाधन तथा पैदल यात्रुको आवागमनमा समस्या पर्नुका साथै ट्राफिक व्यवस्थापनलाई समेत असहज बनाएको प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री क्षेत्र, बिक्री स्थलको क्षेत्रफल तथा बिक्री स्थलमा उपलब्ध हुने पूर्वाधारका आधारमा बिक्रेताको मापदण्ड तोकेको छ । सोअनुसार सञ्चालन नभएको भन्दै काठमाडौँ महानगरपालिकाले बालाजुस्थित कोतः धुकु आयल स्टोर सिलबन्दी गरेको जनाएको छ ।