• २५ वैशाख २०८१, मङ्गलबार

कांग्रेसको नीति अधिवेशन बोलाऔँ : महर

blog

काठमाडौँ, वैशाख १५ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गर्नुभएको छ। राजधानीको नयाँ बानेश्वरमा सम्पर्क समितिसँगको छलफलका क्रममा आयोजित कार्यक्रममा नेता महरले उपनिर्वाचनले देखाएको बदलिँदो राजनीतिक परिस्थितिका विषयमा  नीति अधिवेशन बोलाएर समीक्षा गर्नुपर्ने बताउनुभएको हो।

उहाँले भन्नुभयो, “प्रत्येक दुई दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक सात महिनासम्म बस्न नसक्दा पार्टीमा वैचारिक र साङ्गठनिक गतिविधि शून्य हुन पुगेको छ। मङ्सिर ४ मा आमनिर्वाचन भएर वैशाख १० मा उपनिर्वाचन भइसक्दासमेत केन्द्रीय समिति बैठक बोलाउन पार्टी नेतृत्वले आवश्यक नठान्नु दुःखद हो।” 

पार्टीलाई व्यवस्थित, समय सान्दर्भिक र परिष्कृत बनाउन पनि चाँडोभन्दा चाँडो नीति अधिवेशन आह्वान गर्नुपर्ने बताउँदै महरले अब नीति, नेतृत्व र कार्यक्रममाथि केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उपनिर्वाचनको नतिजाले पनि कांग्रेस पूर्ण रूपमा परिष्कृत हुनुपर्ने सन्देश दिएको महरले बताउनुभयो। नागरिकको भावनानुसार काम गर्न सके मात्रै मुलुकमा स्थायित्वको राजनीति गर्न सकिने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “उपनिर्वाचनको नतिजा मूलधारका राजनीतिक दलभन्दा बाहिर जानु चिन्ताको विषय हो।”