• २५ वैशाख २०८१, मङ्गलबार

चितवन–२ को उपनिर्वाचन

राजनीतिक शैली परिवर्तनको सङ्केत

blog

वसन्त पराजुली

भरतपुर, वैशाख १५ गते  । “हामीलाई जनताले  सुध्रने वा विलय हुनेमध्ये एक रोज्न दबाब दिए। हामीलाई विलय हुन मन्जुर छैन, सुध्रने नै हो। कसले कहाँबाट कसरी सुधार्ने भन्ने मात्रै हो,”  भर्खरै सम्पन्न चितवन–२ को उपनिर्वाचनमा विशाल मतान्तरले पराजित भएपछि नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले सञ्चारकर्मीसँग प्रतिक्रिया दिनुभयो। 

श्रेष्ठले भनेजस्तै अहिलेको मत नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द)लगायतका दललाई सच्चिनकै लागि दबाब हो वा देशले राजनीतिक परिदृश्य नै परिवर्तन गर्न खोज्दै छ भन्ने अभिमत हो भन्ने अहिले गम्भीर बहस  हुन थालेको छ। 

राजनीतिक शास्त्रका प्राध्यापक चन्द्रविलाश अधिकारी पछिल्ला घटनाक्रम र निर्वाचन परिणामले राजनीतिक सोच र दिशा परिवर्तनको सङ्केत गरेको टिप्पणी गर्नुभयो। “परम्परागत राजनीतिक कोर्स परिवर्तनको सङ्केत मङ्सिर ४ कै निर्वाचनले दिएको हो। यसलाई उपनिर्वाचनको मतपरिणामले थप पुष्टि ग-यो,” उहाँले भन्नुभयो। २०८४ को संसदीय चुनाव कांग्रेस, एमाले र माओवादीलगायतका दलहरूका लागि झनै  भयावहको अवस्था रहेको उहाँको धारणा छ।

वाम बुद्धिजीवी प्रेम रिमाल भने अहिले रवि लामिछानेले पाएको भोटलाई दलप्रतिको असन्तुष्टिका रूपमा लिन नहुने तर्क गर्नुभयो। मतदाताको अहिलेको अभिमत दलहरूभन्दा पनि दलका खराब नेतृत्वप्रति लक्षित भएको बुझाइ उहाँको छ। “अहिलेको मत कांग्रेस र कम्युनिस्टको विरोधमा होइन। पार्टीका नेतृत्वले पार्टीलाई निजी कम्पनीका रूपमा रूपान्तरण गर्दै जानु र ती पार्टीभित्रबाट यस्ता ठेक्कापट्टा गर्नेका विरुद्धमा विश्वास लाग्ने खालको प्रतिरोध नहुनुले मतदाताले मत मात्रै परिवर्तन गरेका हुन्,” उहाँले भन्नुभयो। 

वैशाख १० मा सम्पन्न निर्वाचनमा  चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदातामध्ये ७८ हजार २७७ झरेको मतमा  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मात्रै आधाभन्दा धेरै  ५४ हजार १७५ मत प्राप्त गर्नुभयो। यो क्षेत्रमा कांग्रेस उम्मेदवार जितनारायाण श्रेष्ठले ११ हजार २१४ र एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३४ मत प्राप्त गर्नुभयो। अन्य १९ उम्मेदवारले भने चौथो अङ्कको मत पाएनन् नै, उनीहरूको धरौटी जफत भयो।  

गत मङ्सिरमा भएको संसदीय निर्वाचनमा यही क्षेत्रबाट लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्नुभएको थियो। त्यस बेला उहाँ निकटतम प्रतिस्पर्धीभन्दा ३४ हजार १६२ मतले अगाडि हुनुहुन्थ्यो। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले  १५ हजार ९९ र नेकपा (एमाले)का कृष्णभक्त पोख्रेलले १४ हजार ६४९ मत पाउनुभएको थियो। 

यही क्षेत्रमा गएको वर्ष भएको स्थानीय निर्वाचनमा सत्तारूढ गठबन्धन (कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायत)ले १७ र एमालेले ११ वडा जितेको थियो। २८ वडा समेटिएको चितवन निर्वाचन क्षेत्र नं. २ मा  वडाध्यक्षले पाएको मत हेर्दा एमालेले ३५ हजार ५४३ र गठबन्धनले ३५ हजार ३९४ मत ल्याएको थियो। त्यस बेला राष्ट्रिय स्वतन्त्र पार्टी अस्तित्वमै थिएन। 

मङ्सिरको चुनावको तुलनामा यो उपनिर्वाचनमा झन्डै छ हजार मत कम खसे पनि राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच हजारभन्दा बढी मत ल्यायो। नेपाली कांग्रेस, नेकपा (एमाले)लगायतका  दलले मङ्सिरको स्थितिलाई पनि कायम गर्न सकेनन्।  साहित्यकार प्रकाश पौडेल माइलाले अहिले बढ्दै गएको अराजक राजनीतिको फाइदा रास्वपाले राम्रैसँग उठाएको टिप्पणी गर्नुभयो। 

“२०५१ सालताका  हङ पार्लियामेन्ट हुँदा माओवादीले जसरी फाइदा लियो, त्यसैगरी अहिले दलमा देखिएको विकृति विसङ्गतिका कारण जनतामा देखिएको वितृष्णा पोखिँदा यो अवस्था आयो,” उहाँले भन्नुभयो। 

लामिछानेको नागरिकता विवादकै कारण सर्वोच्च अदालतवाट सांसद पद खारेजीमा परेपछि वैशाख १० गते उपनिर्वाचन भएको हो। नागरिकता विवादकै कारण सांसद पद गुम्नु, दोहोरो राहदानीको विवाद र राहदानीको मुद्दा अदालतमा विचाराधीन हुनु, ढाकाराम श्रेष्ठलाई मन्त्री बनाउन दुई करोड रुपियाँ माग भएको विषय र पछिल्लो समय नागरिकताको वैयक्तिक विवरण प्रमाणित गराउन विदेशी संस्थालाई नियमविपरीत ठेक्का दिने निर्णयजस्ता कार्य  गलत भएको चर्चा चुनावको मुखमा व्यापक हुँदा पनि लामिछानेले जुन मत पाए, त्यो असाधारण मत हो। बुद्धिजीवी प्रेम रिमालले भन्नुभयो, “अहिलेका युवा विद्यार्थीलाई पुराना दलले आफ्नो विचार नीति र प्रशिक्षण दिन छाडे। तिनै युवाले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिए।” 

मनोविश्लेषक खिमा रिजालले भने पुराना  दलहरूले पटक–पटक जनताको विश्वासमाथि गरेको कुठाराघात नै स्वतन्त्र पार्टीप्रतिको विश्वास भएको तर्क गर्नुभयो।