काठमाडौँ, वैशाख १५ गते । बेलायतले नेपाललाई सहयोग गर्ने प्राथमिकताको क्षेत्र तय गरेको छ। नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको लन्डनमा बसेको छैटौँ बैठकमा बेलायतले भविष्यमा नेपाललाई गर्ने सहयोग क्षेत्र तोकेको हो।
बेलायतको विकास सहयोग प्रदान गर्ने नयाँ ढाँचा सार्वजनिक गर्दै बदलिँदो परिस्थितिअनुसार मध्यम आय भएको मुलुकमा सङ्क्रमणकालीन सहयोग र दिगो विकास लक्ष्यकेन्द्रित सहयोग गर्ने स्पष्ट पारेको हो। जसअनुसार दिगो विकासका लक्ष्य भेट्न आवश्यक क्षेत्रगत लगानी र जलवायु वित्त परिचालनमा सहयोग मुख्य हिस्सा रहनेछ।
शिक्षामा पहुँच विस्तार गर्न बालिका शिक्षालाई जोड दिनेखालको आर्थिक सहयोग गर्ने भएको छ। बैठकमा नेपाली प्रतिनिधिमण्डलले बेलायत सबैभन्दा ठूलो विकास साझेदारका रूपमा बेलायतले प्रदान गरेको बहुमूल्य विकास सहयोगको प्रशंसा गर्दै अति कम विकसित मुलुकको हैसियतबाट स्तरोन्नति हुने महत्वपूर्ण समयमा यस्तो सहयोगको निरन्तरता र अभिवृद्धिको आवश्यकतामा जोड दिएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।
दुई शताब्दी पुरानो मित्रताको पुनर्ताजगी गर्दै आपसी सद्भाव आदान–प्रदान गर्नुका साथै विकास सहयोग र त्यसका प्राथमिकताका विषयमा पनि छलफल भएको थियो। जसअनुसार व्यापार, लगानी, पर्यटन, शिक्षा र मानव संसाधन विकास, कन्सुलर मामिला र जनसम्बन्धलगायत द्विपक्षीय सम्बन्धका प्रमुख पक्षमा भएको प्रगतिको समीक्षा भएको छ। जनसम्बन्धको जिउँदो आधारका रूपमा ब्रिटिस गोर्खा मुद्दा, जलवायु परिवर्तन र दिगो विकासका साथै बहुपक्षीय मञ्चमा पारस्परिक हितका एजेन्डामा मिलेर काम गर्ने दुई पक्षले सहमति गरेको छ। बैठकमा भूतपूर्व गोर्खाका विषयमा भइरहेको वार्ताको समीक्षा गर्दै गुनासो सम्बोधनका लागि छलफल जारी राख्ने सहमति भएको छ।
त्यस्तै व्यापार, लगानी, ऊर्जा र पर्यटनजस्ता उत्पादनशील क्षेत्रमा सहयोग र संलग्नतालाई थप सुदृढ र फराकिलो बनाउन दुवै पक्ष सहमत भएका छन्। नेपालको स्वच्छ ऊर्जामा लगानी बढाउनुले आर्थिक वृद्धि मात्र नभई, जलवायु परिवर्तनको एजेन्डालाई सम्बोधन गर्न सहयोग पुग्ने भएकाले त्यसमा थप सहयोगको सहमति भएको छ। दुवै पक्षले नवीकरणीय ऊर्जा र सूचना तथा सञ्चार क्षेत्रलगायत विभिन्न क्षेत्रमा ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टजस्ता लगानीका सञ्जाल उपयोगका साथै ब्रिटिस लगानी साझेदारीबाट थप स्रोत प्रयोग गर्ने सम्भावनाबारे बैठकमा छलफल भयो।
नेपाल र बेलायत दुवै पक्षले जलवायु परिवर्तन, गरिबी निवारण र दिगो विकासका एजेन्डा अगाडि बढाउने बहुपक्षीय मञ्चमा साझा हितका विभिन्न विषयमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। बेलायतमा विश्व शान्तिका लागि विश्वकै दोस्रो ठूलो मात्रामा सैनिक उपलब्ध गराउने राष्ट्रका रूपमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा गरेको नेपालको योगदानको प्रशंसा भएको छ।
यसैबीच परराष्ट्र सचिव भरतराज पौड्याल र एफसीडीओका स्थायी उपसचिव सर फिलिप बार्टनबीच मैत्री सन्धिको शतवार्षिकी मनाउने विषयमा उच्चस्तरीय भ्रमण गर्ने सहमति भएको छ। सो भेटमा द्विपक्षीय सहयोगलगायतका विविध विषयमा थप फलदायी छलफल भएको दूतावासले जनाएको छ।