• १२ मंसिर २०८१, बुधबार

‘बाघ बढे मान्छे जोगाऔँ’

blog

अविनाश चौधरी

धनगढी, वैशाख १४ गते । स्थानीय खप्टी खोला नजिक जङ्गल छैन तर झाडी छ। त्यही झाडीमा लुकेको पोथी बाघले वैशाख ८ गते कञ्चनपुर बेलौरी नगरपालिका–८, पचुइकी गङ्गादेवी चन्दको सिकार ग-यो। 

घर नजिकको खोलामा अरू महिलासँग घाँस काट्न गएकी उहाँलाई बाघले झम्टेर झाडीमा तानेपछि अरू महिलाले मुस्किलले ज्यान जोगाए। घटनापछि बेलौरी नगरपालिकावासी मात्रै नभई कञ्चनपुरको दक्षिणी क्षेत्रका स्थानीय त्रसित छन्।

“त्यहाँ नजिक अन्य जङ्गल छैन। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अझ टाढा छ,” बेलौरी नगरपालिका–८ का वडाध्यक्ष विषराम रानाले भन्नुभयो, “तर खोलैखोला गाउँ नजिक झाडी पुगेको बाघले कसैले नसोचेको अकल्पनीय घटना घटायो।” 

उहाँका अनुसार त्यता बाघको ओहोरदोहोर पहिला पनि हुन्थ्यो। यद्यपि मानवीय क्षति गरेको घटना भने यो पहिलो हो। बाघको सङ्ख्या बढेपछि व्यवस्थापन गर्न नसक्दा गाउँतिर आउने गरेको उहाँको भनाइ छ। “जसरी बाघ बढ्दै छन्, त्यसरी जनताको सुरक्षाका लागि पनि सोच्नुप¥यो,” वडाध्यक्ष राना भन्नुहुन्छ, “वन वरिपरि काँडे तारबार लगाइदिएमा हिंस्रक वन्यजन्तु आउन पाउँदैनन्।” 

उखुबारी हुँदै बाघ छिमेकी देश भारतको दुधुवा जङ्गलबाट आएर मान्छेमाथि आक्रमण गरेको स्थानीयको आकलन छ। चैत १० गते मात्रै पुनर्बास नगरपालिका–१० की कलसा सार्कीको दुधुवा नेसनल पार्कमा बाघले ज्यान लिएको थियो।

त्यस्तै सो घटनाको केही दिनपछि कञ्चनपुरको बेलौरी नगरपालिका–१ तिर पर्ने सीमावर्ती भारतीय गाउँ कृष्णनगरकी अर्की महिलाको पनि बाघले ज्यान लिएको थियो। तीनवटै घटना एउटै क्षेत्रतिर भएका कारण घटना घटाउने बाघ पनि एउटै हुन सक्ने स्थानीयको भनाइ छ। 

बाघ नेपाल र भारत दुवैतिर बढेका कारण यसको व्यवस्थापनमा दुवै देशले ध्यान दिनुपर्ने वडाध्यक्ष रानाले बताउनुभयो। उहाँले बाघ नियन्त्रण गर्ने टोली शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा तयार गर्न आग्रह गर्नुभयो। 

एक महिनाभित्रै बाघले एउटै क्षेत्रमा नेपालका दुई र भारतका एक गरी तीन महिलाको ज्यान लिएपछि बाघ बढाएर व्यवस्थापन गर्न नसकेको आवाज उठ्न थालेको छ। लालझाडी मोहना संरक्षित वन परिषद्का अध्यक्ष राजबहादुर ऐरले नेपालले अब बाघ अरूका लागि जोगाउने कि आफ्ना लागि ? भन्ने विषय सोचनीय भइसकेको बताउनुभयो। 

“बाघ अत्यधिक बढेका छन् तर तिनको सही व्यवस्थापन हुन सकेन,” उहाँले भन्नुभयो, “बाघको सङ्ख्या बढाउने हो भने निकुञ्जको क्षेत्र पनि वृद्धि गर्नुप-यो वा निकुञ्जभित्रै बाघको सही व्यवस्थापन गर्नुप-यो। किनभने मान्छेको जीवनभन्दा ठूलो अरू केही छैन।” 

बासस्थानको संरक्षण गर्दा वनमा बाघ र चितुवालगायतका वन्यजन्तु बढेको भन्दै अध्यक्ष ऐरले अगाडि थप्नुभयो, “वन्यजन्तु बढे तर व्यवस्थापन राम्रो भएन। जसका कारण निकुञ्जका बाघ गाउँतिर आएर मान्छे मार्न थाले।” 

सन् २०१८ सम्म शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ बाघ थिए। चार वर्षसम्म दोब्बर बढीले वृद्धि भएर अहिले ३६ पुगेका छन्। शुक्लाफाँटाको कुल क्षेत्रफल ३०५ वर्ग किलोमिटर रहेको छ। निकुञ्जभित्र बाघको उचित व्यवस्थापन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले दाबी गर्नुभयो। शुक्लाफाँटाको बाघ निकुञ्ज बाहिर निस्केर मान्छेमाथि आक्रमण गरेको घटना अहिलेसम्म नरहेको उहाँले बताउनुभयो। निकुञ्जको प्रतिवर्ग किलोमिटरमा बाघको आहारा प्रजातिको घनत्व १४२.६ रहेको उल्लेख गर्नुभयो। 

“बाघको आहारा प्रजाति नेपालमै सबैभन्दा राम्रो शुक्लाफाँटामा छ,” उहाँले भन्नुभयो। बाघले मान्छे मार्नु दुःखद रहे पनि मान्छे मार्ने बाघ शुक्लाफाँटा निकुञ्जकै रहेको भन्ने पुष्टि हुन नसकेको मेहताको भनाइ छ। 

“हामीसँग हरेक बाघको पाइलाको छापको फोटोलगायत अरू पनि प्रमाण छन्। मान्छे मारेको पोथी बाघको पाइलाले यहाँको बाघसँग मेल खाएन,” उहाँले भन्नुभयो, “त्यसैले बाघ भारतबाटै आएको हो भन्ने हामीलाई पनि लागेको छ तर घटना नेपालमा भएकाले भारतकै बाघ हो भन्न पनि मिलेन।” 

बाघ बूढो, रोगी भएर आहारा समात्न नसकेपछि वा बलिया बाघले लखेटेपछि बस्तीतिर आउने गरेको बताइन्छ। त्यस्तै कतिपय अवस्थामा मान्छेले सावधानी नपु-याउँदा बाघले आक्रमण गर्ने गरेको भनाइ उहाँको छ। जङ्गलमा टाउको तल पारेर मान्छेले न्युरो टिप्ने, घाँस काट्ने काम गर्दा बाघले आक्रमण गर्ने गरेको प्रमुख संरक्षण अधिकृत मेहता बताउनुहुन्छ। 

“बाघ, चितुवा, हात्तीजस्ता वन्यजन्तुले आक्रमणपूर्व कुनै न कुनै किसिमको आवाज निकालेर चेतावनी दिन्छन्,” उहाँले थप्नुभयो, “त्यसलाई मान्छेले बेवास्ता गरेपछि आक्रमण गर्छन्। वन्यजन्तुलाई मात्रै दोष दिएर हुँदैन, मान्छेले पनि सावधानी अपनाउनु पर्छ।”