काठमाडौँ, वैशाख १४ गते । काठमाडौँको कपनस्थित सरस्वतीनगरमा चक्कु प्रहार गरी हत्या गरिएकी नीरा पाण्डे आचार्यको घटनामा नेपाल प्रहरीका तीनवटा छुट्टाछुट्टै टोलीबाट अनुसन्धान भइरहेको छ । गत बिहीबार दिउँसो पाण्डेले सञ्चालन गर्दै आएको नीरु किचन भाँडा पसलमा ३२ वर्षीया नीरामाथि धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
जिल्ला प्रहरी परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालय तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । अपराध अनुसन्धान कार्यालयले प्रहरी उपरीक्षक रवीन्द्र रेग्मी, जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक हरि बस्नेत र सीआईबीबाट गोप्य रूपमा अनुसन्धान टोली परिचालन गरिएको छ ।