• २४ पुस २०८१, बुधबार

अस्पतालमा आरक्षण कोटा कार्यान्वयन गर्न निर्देशन

blog

फाइल तस्बिर

काठमाडौं, वैशाख १३ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीको उपचारमा आरक्षण कोटा कार्यान्वयन गर्न निर्देशन दिएको छ। बुधबार अस्पताललाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य संस्थामा उपचारमा आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि कुल शैय्याको दश प्रतिशत कोटा छुट्याएर निःशुल्क उपचार नगराएको पाइएको भन्दै कार्यान्वयन गर्न निर्देशन दिएको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै सरकारी, निजी र सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो। 

अनुगमनमा अस्पतालमा पार्किङको शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको भन्ने गुनोसो आएको परिपत्रमा उल्लेख छ। 

त्यसैले स्वास्थ्य संस्था संचालन सम्बन्धि मापदण्ड, २०७७ तथा अन्य प्रचलित कानुनमा भएका  सम्पूर्ण व्यवस्था सम्बन्धित स्वास्थ्य संस्थाले पूर्णरुपमा पालना गर्नु गराउनु हुन मन्त्रालयले सबैमा अनुरोध गरेको छ। अन्यथा प्रचलित कानुन बमोजिम कारवाही हुने मन्त्रालयले परिपत्रमा उल्लेख छ। 

स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड, २०७७ दफा ७० (घ) मा अस्पतालमा उपचारको लागि आउने विपन्न, असहाय, वेवारिसे बिरामीको लागि कुल शैय्याको दश  प्रतिशत छुट्याएर निः शुल्क उपचार अनिवार्य रुपमा गराउनु पर्ने व्यवस्था छ।