गोरखापत्र समाचारदाता
काठमाडौँ, असार १२ गते । चलचित्र ‘कोसेढुङ्गा’ नेपालसहित ४० भन्दा धेरै देशमा एकसाथ प्रदर्शन हुने भएको छ । निर्देशक सरोज पौडेलको निर्देशनमा निर्माण भएको चलचित्र नेपालसँगै अमेरिका, अस्ट्रेलिया, जापान, संयुक्त अधिराज्य, क्यानडालगायत ४० भन्दा धेरै देशमा प्रदर्शन हुने छ ।
चलचित्रलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै छ । सेभेन सिजले चलचित्र एउटै मितिमा देश तथा विदेशमा प्रदर्शन गर्ने निर्माण पक्षले जनाएको छ ।
“हाम्रो चलचित्र ४० भन्दा धेरै देशमा एकसाथ प्रदर्शन हुने छ । अन्य देशमा पनि प्रदर्शनका लागि वितरकसँग कुरा भइरहेको छ,” निर्देशक पौडेलले भन्नुभयो, “प्रदर्शनको समयसम्म अन्य केही देश पनि थपिने छन् ।”
नेपाली चलचित्रको इतिहासमा एकै पटक ४० देशमा चलचित्र प्रदर्शनमा आउने यो पहिलो हुने निर्देशक पौडेलको दाबी छ । चलचित्र भदौ १२ गते प्रदर्शन गरिने सेभेन सिज इन्टरनेसनलका निर्देशक रमेश ढकालले जानकारी दिनुभयो । नरदेवी फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, हिउँवाला गौतम, सरोज खनाल, विशाल पहाडी, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।