• १० असार २०८२, मङ्गलबार

प्रतापपुर गाउँपालिकाद्वारा सहिद स्मृति अस्पताललाई हेमाटोलोजी मेसिन प्रदान

blog

सहिद स्मृति अस्पताल, चौपत्तालाई उपलब्ध गराएका हेमाटोलोजी मेसिन हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव लगायत । तस्बिर : पुरुषोत्तम सुवेदी

पुरुषोत्तम सुवेदी 
पश्चिम नवलपरासी, असार १० गते ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले बर्दघाट नगरपालिका– १४ मा अवस्थित सहिद स्मृति अस्पताल चौपत्तालाई हेमाटोलोजी मेसिन उपलब्ध गराएको छ । गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले उक्त मेसिन अस्पताललाई हस्तान्तरण गर्नुभएको हो ।

गाउँपालिकाले उपलब्ध गराएको चार लाखको आर्थिक सहयोगबाट अस्पतालले यो अत्याधुनिक मेसिन खरिद गरेको हो । यस मेसिनको सहयोगले सिबिसी (पूर्ण रक्त गणना) जाँचमार्फत एनिमिया, विभिन्न सङ्क्रमण र डेंगुजस्ता रोगहरू समयमै पत्ता लगाउन ठुलो मद्दत पुग्नेछ ।

अस्पतालका अनुसार, यस मेसिनले कम समयमै धेरै रगतका नमुना परीक्षण गर्न सक्ने भएकाले बिरामीको उपचार प्रक्रिया थप छरितो र प्रभावकारी बन्नेछ ।

अध्यक्ष यादवले प्रतापपुर, सुस्ता, सरावल र बर्दघाट नगरपालिकाले सहिद स्मृति अस्पताललाई साझा अस्पतालको रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अस्पतालमा निरन्तर सेवा प्रवाह गर्नु चुनौतीपूर्ण भए पनि सबैको सक्रियतामा यस पूर्वाधार सम्पन्न अस्पताललाई ५१ शय्याको बनाउनुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनुभयो ।

सामुदायिक अस्पतालमा यो मेसिन जडान भएपछि रगतसम्बन्धी रोगहरूको शीघ्र र सही निदानमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।