• २४ पुस २०८१, बुधबार

‘सरकारी सञ्चार माध्यमलगायतमा सरकारले अङ्कुश लगाउँदैन’

blog

प्रेस सेन्टर, नेपालको गोरखापत्र प्रतिष्ठान शाखाको वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य ।

काठमाडौं, वैशाख १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताप्रति वर्तमान सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।

बुधबार गोरखापत्र संस्थानमा आयोजित प्रेस सेन्टर, नेपालको गोरखापत्र प्रतिष्ठान शाखाको वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले सो धारणा राख्नुभएको हो ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका प्रेस सल्लाहकार आचार्यले सरकारी सञ्चार माध्यमलगायतमा सरकारले अङ्कुश लगाउँदैन भन्नुभयो ।

उहाँले सरकारी सञ्चार माध्यममा राज्यको आवाज मुखरित गर्नुको साथै जनताका मुद्दालाई पनि स्थापित गर्न जरुरी रहेको बताउनुभयो ।

देशको सबैभन्दा पुरानो सरकारी सञ्चार माध्यमको इतिहासलाई स्थापित गर्दै समयसापेक्ष रूपमा गोरखापत्र संस्थानको पुनः संरचना हुनु जरुरी रहेको बताउनुहुँदै भन्नुभयो ,‘‘सो पुनः संरचनाको मोडेल सहकारी वा कम्पनी के गर्दा उपयुक्त हुन्छ, त्यो विषयमा बहस आवश्यक छ ।’’ 


कार्यक्रममा प्रेस सेन्टर, नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले ‘आवाज विहीनको आवाज’ मुखरित गर्ने संस्था भएकाले श्रमजीवी पत्रकारहरूको हकहितका लागि देशभर संस्थागत रूपमा अभियानको रूपमा अगाडि बढिरहेको बताउनुभयो ।

उहाँले नेपालमा सङ्घीयता कार्यान्वयन गर्न आवश्यकतामा जोड दिँदै सो सङ्गठन पनि सङ्घीय ढाँचामा परिणत गरेको जानकारी दिनुभयो ।


यस्तै, सो सङ्गठनका केन्द्रीय उपाध्यक्ष विदुर खड्का, महासचिव सन्तोष पौडेल, सचिव नन्दलाल तिवारी, केन्द्रीय सदस्य वीरेन्द्र ओलीलगायतले सम्बोधन गर्नुभएको साधारण सभामा न्यूनतम पारिश्रमिक निर्धारण समितिका बोर्ड सदस्य शान्ता अधिकारीको उपस्थिति थियो ।

प्रेस सेन्टर, नेपाल गोरखापत्र प्रतिष्ठान शाखाका अध्यक्ष मञ्जिमा ढकालको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको छ।