• ३ असार २०८१, सोमबार

विश्वका चर्चित नेताको हत्याकाण्ड

blog

सिन्जो आबे

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको सन् २०२२ जुलाई ८ मा एक जना बन्दुकधारीले गोली हानेर हत्या गरे । ६७ वर्षीय उनी लिवरल डेमोक्रेटिक पार्टीका नेता थिए । नारा सहरमा आफ्ना दलका एक उम्मेदवारको पक्षमा भाषण गरिरहेका बेला आबेमाथि गोली प्रहार भएको थियो । आक्रमणकारी ४२ वर्षीय तेत्सुया यामागामीलाई प्रहरीले पक्राउ गरी अदालती प्रक्रिया अगाडि बढाइएको छ । 

यामागामी पूर्व जलसैनिक हुन् । जापानमा हातेबन्दुक प्रतिबन्धित छ र त्यहाँ यस प्रकारको घटना एकदमै दुर्लभ मानिन्छ ।

आबे जापानमा सर्वाधिक समय प्रधानमन्त्री बनेका नेता थिए । उनी सन् २००६ देखि २००७ र सन् २०१२ देखि २०२० सम्म दुई पटक प्रधानमन्त्री बने ।  स्वास्थ्यको कारण देखाउँदै उनले सन् २०२० मा पदत्याग गरेका थिए ।  

जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबे आफ्नो कट्टर नीति तथा ‘आबेनोमिक्सु संज्ञा दिइएको मौलिक आर्थिक रणनीतिका कारण सधैँ चर्चामा रहे । ‘द प्रिन्सु’ अर्थात् राजकुमार उपनाम पाएका आबे राजनीतिक विरासत बोकेको परिवारका सदस्य थिए । सन् २००६ मा उनी जापानको सबैभन्दा कम उमेरका प्रधानमन्त्री बने । उनले सत्तामा रहँदा वा नरहँदा जापानको युद्धविरोधी नीतिलाई त्यागेर आफ्नो आर्थिक शक्ति बराबरको सैन्य शक्ति बन्नुपर्ने पक्षमा वकालत गरिरहे ।  

अब्राहम लिङ्कन

अमेरिकाका राष्ट्रपति अब्राहम लिङ्कनको सन् १८६५ अप्रिल १४ मा हत्या भयो । गृहयुद्धको समयमा अमेरिकालाई एकताबद्ध गर्ने पक्षमा लडेका देशका १६औँ राष्ट्रपति लिङ्कनले दासप्रथा अन्त्यको घोषणा गरेका थिए । दासप्रथा अन्त्य गर्न उनले पु¥याएको योगदानका लागि उनलाई अमेरिका मात्र होइन विश्वभरका न्यायकर्मी अभियन्ताले आदर्श मान्ने गर्छन् तर अश्वेतलाई दास बनाउने प्रथाको अन्त्य गरिनु धनाढ्य श्वेतवर्गलाई मन परेको थिएन । 

जोन विकिज बुथले लिङ्कनको हत्या गरेका थिए । बुथले पहिले लिङ्कनको अपहरणका लागि बनाएको टिमलाई नाटक हेर्न आउने लिङ्कन र उनका मन्त्रीको हत्याका लागि परिचालन गरे । उनी आफँैले लिङ्कनलाई गोली हान्ने जिम्मा लिएका थिए । 

बुथ लिङ्कन बसेकै कोठामा पहिले नै लुकेर बसेका थिए । नाटक हेर्नमा व्यस्त लिङ्कनको टाउकोमा उनले नजिकैबाट गोली हाने । लिङ्कनलाई गोली हानिसकेपछि उनी थिएटरबाट भाग्न सफल भए । तर ११ दिनपछि अप्रिल २६ मा सङ्घीय फौजले उनलाई भर्जिनियाको एक खेतमा पक्राउ गरेको थियो । लगत्तै उनी गोली हानेर मारिए । 

युवराज फ्रान्सिस फर्डिनान्ड

पहिलो विश्वयुद्धको कारण बन्यो अस्ट्रियाका युवराज प्रसन्सिस फर्डिनान्ड र उनकी पत्नीको हत्या । त्यसबेला अस्ट्रियाले आफू वरपरका धेरै भूभागलाई कब्जा गरेर ह्याबसवर्ग वंशको अधीनमा विशाल साम्राज्य खडा गरेको थियो । विस्तारै साम्राज्यका फरकफरक समुदायमा अस्ट्रिया साम्राज्यबाट अलग हुने राष्ट्रवादी भावना बढ्न थाल्यो । 

तीमध्ये सबै जाति बसोबास गर्ने साउथ स्लाब क्षेत्रलाई छिमेकी स्वतन्त्र मुलुक सर्बियामा जोड्नुपर्ने माग बलियो थियो । सो उद्देश्य हासिल गर्न गठन भएको सशस्त्र समूह ‘एकता कि मृत्युुका एक सदस्य ग्याभ्रिलो प्रिन्सिपले फर्डिनान्ड र उनकी पत्नीको सन् १९१४ जुन २८ मा हत्या गरे । हत्या हुँदा उनीहरू सर्बियाको राजकीय भ्रमणमा थिए । हत्याको एक महिनापछि अस्ट्रियाले सर्बियामाथि आक्रमण सुरु ग¥यो । पछि विश्वका अन्य राष्ट्रहरू पनि त्यस युद्धमा सहभागी भए र पहिलो विश्वयुद्ध सुरु भयो ।

जोन एफ केनेडी

सन् १९६१ मा अमेरिकाका ३५औँ राष्ट्रपतिका रूपमा निर्वाचित जोन एफ केनेडी तीन वर्षपछि नै मारिए । उनको सन् १९६३ नोभेम्बर २२ मा लि हार्भे ओसवाल्डले हत्या गरेका थिए । अत्यन्त कुशल वत्तस केनेडी अमेरिकाको इतिहासमा सबैभन्दा कान्छा राष्ट्रपति थिए । 

उनले आफ्नो शासनकालमा आइपरेको विश्वस्तरका ठूला समस्या क्युबाको क्षेप्यास्त्र सङ्कट र बर्लिन विभाजनलाई कुशलतापूर्वक समाधान गरेका थिए । साथै उनले विश्वमा बढ्दो परमाणु प्रतिस्पर्धालाई कम गर्न परमाणु परीक्षणमा प्रतिबन्ध लगाउने सन्धिसमेत सोभियत सङ्घसँग गरे । 

लोकप्रियताकै शिखरमा रहँदा केनेडी डलासमा  मारिए । ओस्वाल्डले सन् १९६३ नोभेम्बर २२ मा मध्याह्न केनेडीको सवारी छेउमा रहेको भवनको छैटौँ तल्लाको झ्यालबाट तीन गोली प्रहार गरेका थिए । गोली प्रहारबाट केनेडीको ज्यान गयो । लगत्तै ओसवाल्ड पक्राउ परे र नोभेम्बर २२ मा जेलबाट सोधपुछका लागि लाने क्रममा ओस्वाल्डलाई केनेडीको हत्याबाट मर्माहत ज्याक रुबीले मारिदिए ।

इन्दिरा गान्धी

इन्दिरा गान्धी सन् १९६६–७७ बीचमा लगातार तीन कार्यकाल प्रधानमन्त्री भइन् । पुनः सन् १९८० मा प्रधानमन्त्री चुनिएकी गान्धीको चार वर्षपछि पदमै रहँदा हत्या भयो । अघिल्ला कार्यकालको अन्तिम दुई वर्ष देशमा आपत्काल लगाएर कैयौँ प्रजातान्त्रिक अधिकार खोसेर अप्रिय भएकी इन्दिराले सोही कारण तीन वर्षसम्म सत्ताबाट बाहिर बस्नु परेको थियो ।

अन्तिम कार्यकालमा भारतीय राज्यले थप स्वायत्तताको माग गर्न थालेका थिए । शिख पृथकतावादीले त पन्जाब राज्यलाई अलग गर्न हिंसाको सहारा लिन थाले । उनी शिख पृथकतावादीविरुद्ध कठोर भइन् । 

सन् १९८४ जुनमा इन्दिराले शिख पृथकतावादीविरुद्ध बल प्रयोगको अनुमति दिइन् । सन् १९८४ अक्टोबर ३१ मा इन्दिरा गान्धस् आफ्नै आवासको बगँैचामा आफ्ना सुरक्षाकर्मीको गोली प्रहारद्वारा मारिइन् । शिख समुदायका अङ्गरक्षकले 

अमृतसरको स्वर्ण मन्दिरमा सैनिक परिचालन गरेर दमन गरेको झोँकमा आफूले प्रधानमन्त्रीको हत्या गरेको बताएका थिए ।

बेनजिर भुट्टो

सन् २००७ डिसेम्बर २७ मा पाकिस्तानकी पूर्वप्रधानमन्त्री तथा विश्वका मुसलमान मुलुकमा पहिलो जननिर्वाचित महिला प्रधानमन्त्री बेनजिर भुट्टोको रावलपिन्डीमा हत्या भयो । त्यस दिन भुट्टो आफ्ना समर्थकलाई कारको माथि खुलेको भागबाट निस्केर हात हल्लाएर अभिवादन गरिरहेकी थिइन् । एक्कासि भीडबाट उनको बुलेटप्रुफ गाडीमा गोली बर्सिन थाल्यो । लगत्तै बम विस्फोट भयो र भुट्टोलगायत २० जनाको ज्यान गयो । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री जुल्फिकर भुट्टोकी छोरी बेनजिरले हार्वर्ड र अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी थिइन् । सन् १९७९ अप्रिलमा आफ्नो पितालाई सेनाले फाँसी दिएपछि उनी राजनीतिमा तानिएकी थिइन् । उनी ३५ वर्षको उमेरमै देशको प्रधानमन्त्री भइन् । भुट्टोको हत्याको केही महिनापछि अमेरिकी केन्द्रीय अनुसन्धान एजेन्सी (सीआईए) र पाकिस्तानी अधिकारीले अलकायदासँग सम्बन्ध रहेको बैतुल्ला मेहसुदले हत्याको योजना बनाएको बतायो । यो आरोप खण्डन गरेका मेहसुद सन् २००९ अगस्टमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए ।