• ११ मंसिर २०८१, मङ्गलबार

भूकम्प शृङ्खलाका सङ्केत

blog

गत २०७९ कात्तिक २३ गते पश्चिम नेपालको डोटी जिल्लाको खप्तडबाबा आश्रम आसपास केन्द्रबिन्दु भएको ६.६ रेक्टर स्केलको भूकम्प गयो । त्यसका करिब ७९६ परकम्प रेकर्ड भए । सो भूकम्पबाट छ जनाको मृत्यु भयो । त्यसैगरी माघ १० गते बाजुरा जिल्लाको विछिया आसपास ५.९ रेक्टर स्केलको भूकम्प गयो । त्यसका करिब १२६ परकम्प रेकर्ड भए । सो भूकम्पका कारण एक जनाको मृत्यु भयो । पुनः बाजुरा जिल्लाको सोही क्षेत्र आसपास फागुन १० गते ५.२ रेक्टर स्केलको भूकम्प गयो । यी भूकम्पका धक्का भारतका विभिन्न स्थानलगायत राजधानी नयाँदिल्लीसम्म महसुस गरिएको थियो । यी भूकम्पले डोटी, बाजुरा र बझाङमा सयौँ घर भत्किएको समाचार आए ।

किन गइरहेका छन् पश्चिम नेपालमा भूकम्प ? 

पश्चिम नेपालमा सन् १५०५ यता ठूला तथा महाभूकम्प नगएको र प्लेटहरूको निरन्तरको जुधाइका कारण त्यस क्षेत्रमा ठूला तथा महाभूकम्प जान सक्ने शक्ति सञ्चित भएकाले समय–समयमा पश्चिम नेपालमा भूकम्प गइरहेको अनुमान गर्न सकिन्छ । यसरी सञ्चित शक्ति यस्तै स–साना, मझौला भूकम्प गएर निसृत हुने हो वा कुनै समय ठूलो वा महाभूकम्प गएर निसृत हुने हो, यसै भन्न सकिन्न । ठूला तथा महाभूकम्प जाने शक्ति सञ्चित भएको स्थानमा यस प्रकारका मझौला हजारौँ भूकम्प नगई सञ्चित शक्ति पूर्ण रूपमा निसृत हुन भने सक्दैन ।

महाभूकम्प भन्नाले ८ रेक्टर वा सोभन्दा ठूला मानका भूकम्पलाई मान्ने गरिन्छ । एउटा ८ रेक्टरको भूकम्प जान सक्ने शक्ति सञ्चित भएको स्थानमा सो शक्ति निसृत गर्न ७ रेक्टरका ३२ वटा भूकम्प जानुपर्छ भने ६ रेक्टरका करिब एक हजारवटा भूकम्प जानुपर्छ । छोटकरीमा एक मान ठूलो भूकम्पले निसृत गर्ने शक्ति निसृत गर्न एक मान साना ३२ वटा र दुई मान साना करिब हजारवटा भूकम्प जानुपर्छ । भौगर्भिक प्लेट क्रियाशील क्षेत्रमा जति लामो समय भूकम्प जाँदैनन्, त्यति नै ठूलो भूकम्प जाने सम्भावना पनि बढी हुन्छ ।

भूकम्प कहाँ जान्छन् ?

सामान्यतया भूकम्प दुई वा सोभन्दा बढी भौगर्भिक प्लेट एकापसमा जुधेका वा एकापसबाट छुट्टिएका स्थानमा जाने गर्छन् । त्यसमा पनि विनाशकारी, ठूला तथा महाभूकम्प खासगरी दुई वा सोभन्दा बढी प्लेटहरूको जुधाइका स्थानमा गएको देखिन्छ । नेपालको वि.सं. १९९० र २०७२ तथा हालै टर्किएमा गएको सन् २०२३ का विनाशकारी भूकम्प यसका उदाहरण हुन् । यस आलेखमा पश्चिम नेपालमा लगातारजसो भूकम्प गएपछि भूकम्पको पूर्वानुमान/भविष्यवाणी र पूर्वसूचना प्रणालीका सम्बन्धमा उठेका आशङ्का निवारण गर्र्ने प्रयास गरिएको छ ।

भूकम्पको पूर्वानुमान/भविष्यवाणी 

भूकम्पको पूर्वानुमान र पूर्वसूचना प्रणाली झट्ट सुन्दा उस्तै लागे पनि यी नितान्त फरक कुरा हुन् । भूकम्पको पूर्वानुमान भन्नासाथ भूकम्प जानु अगाडि भूकम्पको मान, जाने दिन र समय तथा स्थानको किटानीलाई बुझिन्छ । हालसम्मको सबैभन्दा ठूलो मानिएको चिलीको भाल्डीभियाको सन् १९६० को महाभूकम्पबाट धेरै धनजनको क्षति भएकाले भूकम्पको पूर्वानुमान गर्न सकिएमा धेरै धनजनको क्षति कम गर्न सकिन्छ भनी यस क्षेत्रमा कार्यरत वैज्ञानिक लागिपरे पनि हालसम्मको खोज तथा अध्ययन अनुसन्धानबाट विश्वमा कहीँ कतै भूकम्पको विश्वसनीय पूर्वानुमान÷भविष्यवाणी सम्भव भएको छैन ।

पूर्वसूचना प्रणाली

भूकम्पका सम्बन्धमा सबैभन्दा बढी चर्चामा रहेको पूर्वसूचना प्रणाली भूकम्पका कारण उत्पन्न हुने विभिन्न तरङ्गमध्ये सबैभन्दा छिटो गतिको तरङ्ग आउनासाथ त्यसलाई प्रशोधन गरेर त्योभन्दा शक्तिशाली÷विनाशकारी तरङ्ग आउनुपूर्व त्यसको सूचना दिने प्रणाली हो । खासमा भूकम्प त गई नै सकेको हुन्छ । घना भूकम्पीय सञ्जाल भएको अवस्थामा भूकम्प गइसकेपछि सञ्जालका सबैभन्दा पहिले भूकम्पका तरङ्ग प्राप्त गर्ने कम्तीमा तीनवटा स्टेसनको सहायताबाट विनाशकारी द्वितीयक तरङ्ग आइपुग्नु मात्र केही सेकेन्ड अघि सूचना दिन सकिएमा केही हताहती कम गर्न सकिन्छ ।

यो अवधारणा प्रणालीबाट पाइने सूचना केन्द्रबिन्दु नजिकका बस्ती, जहाँ बढी विनाश र हताहती हुन्छ; त्यहाँका जनताले प्राप्त गर्न सक्दैनन् वा प्राप्त गरे पनि ढिला भइसकेको हुन्छ । अन्यत्र जहाँका लागि केही सेकेन्ड अगाडि सूचना दिन सकिन्छ त्यहाँ सो भूकम्पबाट क्षति नै कम हुन्छ । पूर्वसूचना प्रणालीमा थोरै स्टेसनमा प्राप्त डाटा प्रशोधन गरेर सूचना दिइने हुनाले कहिलेकाहीँ वास्तविक नहुन पनि सक्छ । खासमा पूर्वसूचना प्रणाली स्वतः सञ्चालन र बन्द गर्न सकिने उद्योग, कलकारखाना, हस्पिटल, रेल, आणविक भट्टी वा यस्तै क्षेत्रका लागि केही हदसम्म प्रभावकारी पाइए पनि अन्य क्षेत्रमा खासै प्रभावकारी पाइएको छैन । 

के गर्ने त ?

नेपालमा बेलाबेलामा बाबा, लामा र ज्योतिषलगायतले बिनाकुनै आधार वा प्रमाण फलानो दिन ठूलो भूकम्प जाँदै छ भनेर कपोलकल्पित, अनर्गल अफवाह फैलाएर सर्वसाधारणलाई अनावश्यक दुःख दिने वा आतङ्कित गर्ने गरेका छन् । भूकम्पीय जोखिम क्षेत्रमा बसेका हामी यस्ता कुनै वैज्ञानिक आधार, तथ्य वा प्रमाणबिनाका अफवाहको विश्वासमा पर्नु वा आतङ्कित हुनुभन्दा सधैँ सतर्क र सचेत रहनुपर्छ । प्रसङ्ग गत माघ १५ गते रातिदेखि पश्चिम नेपालको कर्णालीमा १६ गते बिहान २ बजे, त्यसपछि ३ देखि ४ बजेभित्र ठूलो भूकम्प आउने अफवाह फैलाइयो । 

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रमा हुम्ला, जुम्ला र बाजुरालगायतका जिल्लाबाट रातभर भूकम्प आउँछ कि आउँदैन भनिदिनुप¥यो भन्दै सयौँ फोन आए । जुन समयभित्र ठूलो भूकम्प जान्छ भनेर अफवाह फैलाइएको थियो, त्यो समयभित्र भूकम्प नगएपछि पुनः अझै दुई–तीन दिनभित्र यस क्षेत्रमा ठूलो भूकम्प जान्छ भनेर हल्ला फिँजाइयो । जसका कारण सर्वसाधारण त्यो हिँउ परेको र चिसो समयमा तीन–चार दिनसम्म दिनरात घरबाहिर कति त्रिपाल टाँगेर त कति आगो बालेर बसे । विश्वमै नसकिएको कुरा हामीले किटेर न भूकम्प आउँछ भन्न सक्छौँ न आउँदैन नै । फेरि यो संवेदनशील विषय पनि भएकाले सचेत र सतर्क रहनुस् भन्नेबाहेक हामीसँग जवाफ थिएन ।

फेरि दुई सक्रिय प्लेटको जुधाइका कारण शक्ति सञ्चित भइरहेकाले नेपालमा ससाना भूकम्प दैनिक र मझौला तथा ठूला भूकम्प केही समयको अन्तरालमा जाने भएकाले भूकम्प जाँदैन वा जान्छ भन्ने अवस्था पनि रहेन; जसले अत्यन्त असहज अवस्था सिर्जना भएको थियो । त्यसमा पनि विशेषगरी गोरखादेखि पश्चिम देहरादुनसम्म विगत करिब ५२० वर्षदेखि दुई प्लेटको चालका कारण शक्ति सञ्चित भएर रहेकाले जुनसुकै समय मझौला, ठूला तथा महाभूकम्प आउन सक्ने सम्भावना रहेको वैज्ञानिक अध्ययन अनुसन्धानबाट देखिएमा उनीहरूलाई सतर्क वा सचेत भने हुनुपर्छ भनेर आश्वस्त पार्नुबाहेक थप केही भन्न सकिएन ।

नेपालमा भूकम्पको भय किन छ ?

दुई सक्रिय भूखण्डको जुधाइको ठीक माथि अवस्थित रहेकाले नेपालमा भूकम्पको भय छ । त्यसमा पनि नेपालका ग्रामीण क्षेत्रमा निर्माण भएका प्रायः भवन स्थानीय सामग्री प्रयोग गरी कुनै इन्जिनियरिङ डिजाइन वा भूकम्पीय सुरक्षाका दृष्टिले भन्दा पनि ओत लाग्ने हिसाबले डकर्मी र सिकर्मीको अनुभवबाट निर्माण गरिने भएकाले भूकम्पका दृष्टिले जोखिमयुक्त पनि छन् । जसका कारण मझौला ६.६ र ५.९ मानका भूकम्पले समेत सयौँ घर भत्काएको पाइन्छ । त्यसैले ठूलो भूकम्प आउने हल्लाले सर्वसाधारण त्रसित हुनु अस्वाभाविक होइन । 

भूकम्पसँग एकछिन भागेर पनि सकिँदैन, त्यसैले यसको सामना गर्नुको विकल्प पनि हामीसँग छैन । हामीले सक्ने भनेको पूर्वतयारी गरी भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्ने मात्र हो । अफगानिस्तानदेखि म्यानमारसम्म करिब दुई हजार ५०० किमिको एकतिहाइ लम्बाइ ओगट्ने हुनाले हामीले यस क्षेत्रको भूकम्पको एकतिहाइ जोखिम वहन गर्दछौँ । यस्तो भूकम्पीय जोखिम क्षेत्रमा बस्ने हामीले भूकम्प गएको वा भूकम्पको धक्का महसुस भएको समयमा बाहेक अन्य समयमा चिन्ता र चिन्तन भने गर्ने गरेका छैनौँ । खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले नेपाल र यसको आसपासमा जाने भूकम्पको २४सै घण्टा निगरानी गरी ४ र सोभन्दा ठूला मानका सबै भूकम्प सर्वसाधारणलगायत सबैको जानकारीका लागि गराउँदै आएको छ । जसबाट राहत तथा उद्धार कार्य समयमै परिचालन गर्न सहयोग पुग्ने गरेको छ ।

नेपालमा स–साना भूकम्प दैनिक र मझौला, ठूला तथा महाभूकम्प केही समयको अन्तरालमा जाने गर्छन् । डोटी र बाजुरामा गएका भूकम्पले पनि हामीलाई सतर्क र चनाखो रहन मात्र होइन, पूर्वतयारी गर्नसमेत झक्झक्याइरहेका छन् । भूकम्पीय जोखिम क्षेत्रमा बस्ने हामी यहाँ जुनसुकै समय मझौला तथा ठूला भूकम्प जान सक्ने भएकाले सधैँ चनाखो, सतर्क, सजग र सचेत हुनैपर्छ अन्यथा कुनै पनि बेला ठूलो जोखिम मोल्नुपर्ने हुन सक्छ । यद्यपि कुनै तथ्य र वैज्ञानिक आधारबिनाका बाबा, लामा, ज्योतिषद्वारा फैलाइएका अफवाहमा विश्वास गरेर पछाडि लाग्नु भने हुँदैन । 

लेखक सिनियर डिभिजनल सिस्मोलिजिस्ट हुनुहुन्छ ।    

Author

भरतप्रसाद कोइराला