• २४ वैशाख २०८१, सोमबार

नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै

blog

काठमाडौँ, वैशाख १२ गते  । स्वदेशी चियाको गुणस्तर उच्च देखिएपछि अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको छ । 

चीनमा भएको प्रतिस्पर्धामा नेपाली चियाको गुणस्तर उत्कृष्ट देखिएपछि लोकप्रिय बन्दै माग बढेर निर्यातमा वृद्धि भएको हो । गत असोज ४–५ गते (२०२२ सेप्टेम्बर २०–२१) चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट घोषणा गरिएको थियो । नेपाली चियाको गुणस्तर उच्च देखिपछि विश्व बजारमा मागसँगै निर्यातमा समेत वृद्धि भएको व्यवसायीको भनाइ छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिना (साउन–चैत)सम्म दुई अर्ब ९८ करोड ४८ लाख ७६ हजार रुपियाँ बराबरको एक करोड ३७ लाख ३३ हजार ४०४ किलो चिया निर्यात भएको छ । गत वर्ष सो अवधिमा दुई अर्ब ३६ करोड ८७ लाख २५ हजार रुपियाँ बराबरको ९० लाख १७ हजार ८४३ किलो चिया निर्यात भएको थियो । गत वर्षको तुलनामा ६१ करोड ६१ लाख ५१ हजार रुपियाँ बराबरको ४७ लाख १५ हजार ५६१ किलो चिया निर्यात बढी भएको विभागको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार आव २०७८/७९ मा तीन अर्ब ४३ करोड ४३ लाख ५० हजार रुपियाँ बराबरको १२ हजार ४९४ मेट्रिक टन चिया निर्यात भएको थियो । यस्तै आव २०७७/७८ मा तीन अर्ब ७९ करोड ७१ लाख रुपियाँ बराबरको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको विभागको तथ्याङ्क छ । 

राष्ट्रिय चिया तथा कफी बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली चियाको गुणस्तर राम्रो भएपछि अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएपछि चालु आवको नौ महिनामा २५ देखि ३० प्रतिशतले चिया निर्यातमा वृद्धि भएको उहाँले जानकारी दिनुभयो । 

गोरखा टी स्टेट प्राइभेट लिमिटेडका अध्यक्ष उदय चापागाईंले अन्तर्राष्ट्रिय बजारमा चियाको माग उच्च छ, उत्पादन पनि छ तर निर्यातका लागि सरकारले सहजीकरण नगर्दा मागअनुसार पठाउन नसकिएको जानकारी दिनुभयो । नेपाली चियाको गुणस्तर उच्च भएपछि चीनमा निर्यात गर्ने ठूलो सम्भावना छ तर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहजीकरण नगर्दा निर्यात गर्न नसकिएको उहाँको भनाइ छ । सहजै विदेशी मुद्रा आर्जन गर्न सकिने चियाको निर्यात बढाउन सरकारले नीतिगत तवरबाट सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । चिया निर्यातमा बेलाबेला समस्या आउने गरेको छ । 

सत्र हजार हेक्टरमा चिया खेती पूर्वी नेपालका झापा, इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, झापालगायतका जिल्लामा ठूलो क्षेत्रफलमा चिया खेती हुने गरेको छ । 

यस्तै भोजपुर, सङ्खुवासभा, मोरङ, उदयपुर, ओखलढुङ्गा, खोटाङ, सिन्धुपाल्चोक, नुवाकोट, ललितपुर, रामेछाप, दोलखा, सिन्धुली, काभ्रे, धादिङ, चितवन, कास्की, लमजुङ, म्याग्दी, गोरखा, पर्वतमा चिया खेती हुने गर्छ । सुरुमा पूर्वी नेपालमा भइरहेको चिया पछिल्लो समय अन्य जिल्लामा विस्तार हुँदै गएको छ । नेपालमा अर्थाेडक्स र सीटीसी चिया उत्पादन हुने गर्छ । 

आव २०७७/७८ मा १६ हजार ९१७ हेक्टर क्षेत्रफलमा २३ हजार ७४५ मेट्रिक टन चिया उत्पादन भएको थियो । आव २०७६/७७ मा १६ हजार ९०५ हेक्टर क्षेत्रफलमा २४ हजार ११८ मेट्रिक टन चिया उत्पादन भएको थियो । यस क्षेत्रमा १६ हजारभन्दा बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक संलग्न छन् । आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा खपत बढ्दै गएपछि व्यावसायिक रूपमा चिया खेती बढ्दै गएको छ । नेपाली चिया भारत, क्यानडा, भारत, जर्मनी, जापान, कतार, इटाली, ताइवान, अस्टे«लिया, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, फ्रान्स, हङकङ, नर्वे, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ ।

अन्तर्राष्ट्रिय चिया महोत्सव हुने

आगामी शुक्रबार विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय चिया महोत्सव हुन लागेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजना अन्तर्राष्ट्रिय चिया महोत्सव हुन लागेको हो । दिवसका अवसरमा चिया उत्पादक, व्यापारी, व्यवसायी र सरकारी निकायबीच अन्तक्र्रिया कार्यक्रम गरिनेछ ।  

अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय चिया दिवसका अवसर पारेर अन्तर्राष्ट्रिय महोत्सव गर्न लागिएको हो । महोत्सवमा रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी हुने बोर्डले जनाएको छ । विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराइने बोर्डले जनाएको छ । व्यापारीलाई चियाको फ्याक्ट्री भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गरिनेछ ।