• २४ वैशाख २०८१, सोमबार

वीर अस्पतालबाट १६ देशका २१६ जनाले लिए टेलिमेडिसिन सेवा

blog

वीर अस्पतालको टेलिमेडिसिन विभागका मेडिकल अधिकृत डा.सञ्जय धरेल ।

काठमाडौं, वैशाख १४ गते । वीर अस्पतालमा टेलिमेडिसिनबाट दैनिक ५० जनाले सेवा लिने गरेका छन् । 

अस्पतालको टेलिमेडिसिन विभागका मेडिकल अधिकृत डा.सञ्जय धरेलका अनुसार सेवा सुरु भएदेखि अहिलेसम्म २१२ जनाले सेवा लिइसकेका छन् । 

मलेसिया, साउदी, यूएई, कतार लगायतका १६ देशबाट सेवा लिइरहेको डा.धरेलले जानकारी दिनुभयो । 

सेवा लिनेमा धेरैजसो पेट सम्बन्धी समस्या लिएर फोन गर्ने गर्दछन् । त्यसका अलावा  कलेजो, टाउँको दुखाई, छाला, आँखा, नाक, कान घाँटी, हड्डी, मानसिकलगायत समस्या लिएर  आउने गर्दछन् ।

चिकित्सकले आवश्यक परेमा औषधि सिफारिस गर्दछन् । औषधि किनेर खाए/नखाएको विषयमा बेलाबेलामा फोन गरेर बुझ्ने गरेको डा.धरेल बताउनुहुन्छ । 

डा.धरेलका अनुसार श्रमिकलाई परामर्शमा लेखिएको औषधि किनेर खान सम्भव नभएमा वैदेशिक बोर्डले सम्बन्धित देशको राजदूतसँग समन्वय गरिदिने गरेको छ । 

बोर्डका अनुसार सेवा लिने श्रमिकका लागि चिकित्सकको ‘प्रेस्क्रिप्सन’ अनलाइनमार्फत उपलब्ध गराउने र यसको सम्पूर्ण खर्च बोर्डले बेहोर्नेछ ।

बिदाको दिनबाहेक अन्य दिन सेवा

अस्पतालका निर्देशक डा.सन्तोष पौडेलले अस्पतालले सार्वजनिक बिदाको दिनबाहेक हप्ताको ६ दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सेवा दिइरहेको जानकारी दिनुभयो। पौडेलका अनुसार अस्पताले शुक्रबार र आइतबार टेलिमेडिसिन सेवामार्फत विशेषज्ञ सेवा दिइरहेको छ । धेरै देशमा सोही दिन बिदा हुने हुँदा सोही दिन विशेषज्ञ सेवा दिएको डा. पौडेलेल जानकारी दिनुभयो ।  यो सेवाको लागि अस्पतालले दुई जना मेडिकल अधिकृत र एक जना चिकित्सक खटाइएको छ । 

वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिक कामदारलाई लक्षित गरेर टेलिमेडिसिन सेवा सञ्चालन गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत वर्ष फागुन २ गते टेलिमेडिसिन सेवा सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेर वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँग सहकार्य गरेर चैत १५ गतेदेखि सेवा संचालन गरेको हो ।  

टेलिमेडिसिन सेवा सञ्चालन गर्नुको उद्देश्य वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि आवश्यकता अनुसार समयमानै सल्लाह सुझाव र परामर्श सेवा उपलब्ध गराउने रहेको छ । 

अस्पतालका अनुसार वैदेशिक रोजगारमा गएका श्रमिकले गरेको फोन मेडिकल अधिकृतले उठाएर उहाँहरुको गुनासो सुन्ने र उहाँहरुको समस्या पहिचान गरेर विशेषज्ञ सेवा चाहिनेलाई परामर्शको लागि सिफारिस गर्ने गर्दछन् । 


टेलिमेडिसिन सेवाका लागि बिरामीको विवरण संकलन गर्दै वीर अस्पतालका स्वास्थ्य सहायक दामोदर पोखरेल । 

के हो टेलिमेडिसिन सेवा ?

प्रविधिको प्रयोग गरेर एक ठाउँको बिरामीलाई अर्को ठाँउको चिकित्सक वा स्वास्थ्यकर्मीसँग परामर्श लिएर उपचार गर्नु नै टेलिमेडिसिन सेवा हो । यसको दायरा एउटा सामान्य मोबाइलमा गरिने परामर्शदेखि लिएर, भिडिओ कन्फ्रेन्स आदिसम्म पर्दछन् । 

 टेलिमेडिसिन दुर्गम क्षेत्रमा मात्र होइन विकसित देशमा पनि एक ठाउँको विज्ञता तथा प्रविधिलाई अर्को ठाउँमा प्रयोग गर्न प्रयोग गरिन्छ। 

टेलिमेडिसिन भनेको सूचना प्रविधिको प्रयोग गरेर परामर्श दिने सेवा हो । सेवा लिन चाहने नेपाली श्रमिकले  मोबाइल नम्बर  ९८५१३४५७०१ र ९८५१३४५७०२ को भाइबर, ह्वाट्सएप वा इमो लगायतका सामाजिक संचालनमा फोन गर्न सक्ने व्यवस्था गरिएको छ ।

दुर्गम जिल्लामा पनि सेवा विस्तार गर्ने उदेश्य अस्पतालको रहेको छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।