• २५ वैशाख २०८१, मङ्गलबार

झन्डै आधा अर्बले घट्यो ग्यास आयात

blog

काठमाडौँ, वैशाख ११ गते  । भारतबाट नेपाल भित्रने खाना पकाउने एलपी ग्यासको आयात चालु आर्थिक वर्षको नौ महिनमा झन्डै आधा अर्बले घटेको छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) ग्यासको आयात ४९ करोड रुपियाँले कमी भएको हो । बजारमा ग्यासको खपत कम हुँदा आयातमा समेत कमी भएको हो । 

विभागका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ४४ अर्ब ८४ करोड ८६ लाख ५१ हजार रुपियाँ बराबरको ३८ करोड ७६ लाख ३० हजार ८१८ केजी ग्यास आयात भएको हो । गत वर्ष सो अवधिमा ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रुपियाँ बराबरको ३९ करोड ५७ लाख २८ हजार हजार केजी ग्यास आयात भएको हो । गत वर्षको तुलनामा ४९ करोड ३८ लाख ६७ हजार रुपियाँ बराबरको ८० लाख ९७ हजार २५० केजी ग्यास आयात कमी हो । 

बजारमा बिजुलीको प्रयोग बढ्दै गएपछि ग्यासको खपतमा कमी भएसँगै आयातमा समेत गिरावट आएको हो । ग्यासभन्दा बिजुली सस्तो हुँदा पछिल्लो समय घरघरमा विद्युतीय चुलो (इन्डक्सन)को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको हो । 

मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन नहुँदा ग्यासको खपत कम भएको व्यवसायीको भनाइ छ । घरायसीसँगै व्यावसायिक प्रयोजनमा समेत ग्यास खपत हुने गर्छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कुशकुमार मल्लीले मुलकमा देखा परेको आर्थिक असहज परिस्थितिका कारण होटल, रेस्टुरेन्ट, उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन नहुँदा ग्यासको खपतमा कमी आएको जानकारी दिनुभयो । आर्थिक गतिविधि कम हुँदा औद्योगिक प्रयोग कम भएकाले खाना पकाउने ग्यासको माग र खपतमा कमी आएको उहाँको भनाइ छ । जाडो समयको तुलनामा गर्मीमा ग्यासको खपत समेत कम हुने गरेको उहाँको भनाइ छ । 

विशेष गरी ग्यासको प्रयोग सिसा उद्योग, छड र फलाम उद्योगमा प्रयोग हुने गर्छ । यी उद्योगमा फर्नेस आयलको प्रयोग हुने गरेकामा फर्नेस आयल महँगो हुँदा ग्यासको प्रयोग हुने गर्छ ।

नेपाल आयल निगमका अनुसार विगतमा खाना पकाउने ग्यासको खपत वार्षिक रूपमा १० देखि १५ प्रतिशतले हुने गरेकामा यो वर्ष सुरुदेखि नै घट्दै गएको छ । निगमका प्रवक्ता मनोजकुमारले ग्यासको आयातमा सामान्य कमी आएको जानकारी दिनुभयो । निगमका अनुसार ग्यास ३० प्रतिशत घरायसी प्रयोजन र ७० प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुने गर्छ । 

अहिले काठमाडौँमा रहेका ठूला रेस्टुरेन्टमा कारोबार घटेर ५० प्रतिशतमा सीमित भएको छ । रेस्टुरेन्टको खपत कम भएकाले ग्यासमा असर देखिएको हो । त्यसमा उपभोक्ता इन्डक्सनतिर आकर्षित भएकाले पनि ग्यासको खपत घटाउन सहयोग पुगेको व्यवसायीको भनाइ छ । 

४४ प्रतिशत घरधुरीमा ग्यासको प्रयोग

मुलुकभर खाना पकाउने एलपी ग्यासको प्रयोग ४४ प्रतिशतले गर्ने गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको २०७८ सालको जनगणनाअनुसार मुलुकभर ४४ प्रतिशतले ग्यासको प्रयोग गर्ने गरेका हुुन् । सहरी क्षेत्रसँगै गाउँगाउँमा ग्यासको प्रयोग बढ्दै गएकाले ग्यासको प्रयोगकर्ता बढ्दै गएका हुुन् । मुलुकभर ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ५१ प्रतिशत परिवारले खाना पकाउने काठ/दाउरा प्रयोग गर्ने गरेका छन् । कुल दुई करोड ९१ लाख ६४ हजार ५७८ जनसङ्ख्यामध्ये ६६ लाख ६० हजार ८४१ घरपरिवारले ४४.३ प्रतिशत एलपी ग्यास, ०.५ प्रतिशत बिजुली, काठदाउरा ५१ प्रतिशत, गुइँठा/गोहरा २.९ प्रतिशत, बायोग्यास १.२ प्रतिशत, मट्टीतेल प्रयोगकर्ता ०.०५ प्रतिशत, अन्य इन्धन ०.१ प्रतिशत प्रयोग गर्ने गरेका छन् ।