सरोज ढुङ्गेल
काठमाडौँ, वैशाख ११ गते । गर्मी मौसममा र तराईमा मात्र देखिने डेङ्गु बाह्रै महिना र उच्च हिमाली जिल्लामा देखिन थालेको छ। चिसो मौसममा शून्यमा झर्ने डेङ्गु सङ्क्रमण यस वर्ष जाडोमा पनि देखा पर्नुले स्वास्थ्य प्रणालीमा थप चुनौती थपिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले नेपालमा डेङ्गु १२ महिना नै देखिन सुरु गरेको र यो जलवायु परिवर्तनको असरका कारण हुन सक्ने बताउनुभयो। उहाँले भन्नुभयो, “यस पटक मङ्सिरदेखि फागुनजस्तो जाडो महिनामा पनि डेङ्गु सङ्क्रमण बढेको छ। जनवरीयता पाँच सयभन्दा धेरै जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ।”
उहाँका अनुसार गत वर्ष ७३ वटा जिल्लामा फैलिएको डेङ्गु जनवरीयता ४० वटा जिल्लामा फैलिइसकेको छ। सामान्यतः डेङ्गु असारदेखि कात्तिकसम्म तीव्र रूपमा बढ्ने हो तर अहिले पुस, माघमा पनि सङ्क्रमण तीव्र भएकाले अब जुनसुकै समयमा पनि डेङ्गु फैलन सक्छ भन्ने प्रमाणित भएको छ।
गत वर्ष असारदेखि मङ्सिरसम्म डेङ्गुले महामारीको रूप लिएको थियो। डेङ्गु व्यापक भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वास्थ्य सङ्कटकाल लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सिफारिससमेत गरेको थियो। स्वास्थ्य सङ्कटकाल लगाउँदा अन्य विषयमा असर पर्ने देखिएपछि स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सङ्कटकाल घोषणा गरेको थिएन।
महाशाखाका निर्देशक डा. दासका अनुसार जनवरीयता कोशी प्रदेशमा ४१ जना, बागमती प्रदेशमा १४३, गण्डकी प्रदेशमा ४०, लुम्बिनी प्रदेशमा ५६, कर्णाली प्रदेशमा पाँच जना, सुदूरपश्चिम प्रदेशमा २१० जनामा डेङ्गु फैलिइसकेको छ। गत वर्ष सबैभन्दा बढी काठमाडौँ जिल्लामा १४ हजार ३७६ जनामा डेङ्गु सङ्क्रमण फैलिएको थियो। यस्तै ललितपुरमा नौ हजार ६१४, भक्तपुरमा छ हजार १४१, मकवानपुरमा पाँच हजार ८३७, चितवनमा तीन हजार २१२, दाङमा दुई हजार ४२८ र धादिङमा एक हजार ६८२ जनमा डेङ्गु पुष्टि भएको थियो। यस्तै सबैभन्दा कम हुम्लामा तीन जना र डोल्पामा पाँच जनामा डेङ्गु पुष्टि भएको थियो। गत वर्ष कुल ५४ हजार ७८४ जनमा डेङ्गु पुष्टि भएको थियो। डेङ्गुका कारण सन् २०२२ मा ८८ जनाको मृत्यु भएको थियो।
डा. दासले डेङ्गु नियन्त्रण केन्द्रबाट मात्र हुन नसक्ने भन्दै प्रदेश तथा स्थानीय सरकारको पनि उत्तिकै जिम्मेवारी रहने बताउनुभयो। उहाँले त्यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको बताउनुभयो। उहाँले प्रदेश मन्त्रालयका स्वास्थ्य सचिव, स्वास्थ्य निर्देशनालय, स्थानीय तह, डेङ्गु तीव्र रूपमा बढेका स्थानका वडाध्यक्षसमेतलाई नियन्त्रणका लागि समन्वय गरिरहेको जानकारी दिनुभयो।
उहाँले केन्द्रबाट डेङ्गु नियन्त्रणका लागि पीसीआर तथा एन्टिबडी परीक्षणका लागि किट पठाइसकेको बताउनुभयो। उहाँले जलवायु परिवर्तनले गर्दा उच्च हिमाली जिल्लामा समेत डेङ्गु सङ्क्रमण बढेको जानकारी दिनुभयो।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले एडिज एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु सर्ने जानकारी दिनुभयो। उहाँले यी जातका लामखुट्टेले दिनमा टोकेमा डेङ्गु सर्न सक्ने बताउनुभयो। उहाँले डेङ्गु भइसकेपछि शरीरमा १० हजारभन्दा कम प्लेटलेट्स भएमा स्वास्थ्यमा समस्या देखिन थाल्ने बताउनुभयो।
डा. पुनका अनुसार डेङ्गु सङ्क्रमण हुँदा उच्च ज्वरो आउने बताउनुभयो। उहाँले ज्वरो सात दिनसम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने लक्षण भएमा डेङ्गु भएको हुन सक्ने बताउनुभयो। वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जम्नेलगायतका लक्षण डेङ्गु सङ्क्रमण हुँदा देखापर्दछन्।
डा. पुनले डेङ्गुबाट बच्न घरवरिपरि भएका खाल्डा पुर्ने; पूरा बाहुला भएका कपडा मात्र लगाउने; नियमित झुलभित्र सुत्ने, झ्यालढोकामा जाली हाल्ने; घर, कार्यालय, विद्यालय वा सार्वजनिक भवनमा पानी जम्न नदिने; गमलामा पानी जम्ने गरी नराख्ने; बालबालिकालाई लामखुट्टेबाट जोगाउन घरबाट बाहिर खेल्नका लागि नपठाउने सुझाव दिनुभयो। उहाँले लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलम लगाउन पनि सकिने बताउनुभयो। नेपालमा पहिलो पटक सन् २००६ मा चितवनमा पहिलो पटक डेङ्गु पुष्टि भएको थियो।
सन् २०१० मा तराईका रुपन्देही, नवलपरासीलगायतका जिल्लामा डेङ्गुले महामारीका रूप लिएको थियो।