• १० मंसिर २०८१, सोमबार

पन्नालालको सम्मान

blog

पन्नालाल अवकाश प्राप्त कर्मचारी हो । उसलाई आफूले अवकाश पाइसकेको संस्थाको पूर्वकर्मचारी समूहबाट सम्मान गरिने एउटा निमन्त्रणा पत्र आयो । सेवा अवधिभर कार्यालयले दिने नियमित तलबभत्ताबाहेक अरू कुनै प्रकारको अतिरिक्त आम्दानी उसको थिएन । सेवारत हुँदा दैनिक ऊ ठिक समयमा कार्यालय पुग्थ्यो र कतै अलमल नगरी आफ्नो जिम्माको काम पूरा गथ्र्यो । आफ्नो जिम्मेवारी पूरा नगरी ऊ कहिल्यै कार्यालयबाट निस्कँदैनथ्यो । आफूले काम गरेको संस्थाको पूर्वकर्मचारी समूहले उसलाई एक इमानदार र उत्तरदायी पूर्वकर्मचारीको रूपमा सम्मान गर्न लागेको विषय अत्यन्त उत्साहजनक थियो । पन्नालाल कार्यरत रहँदा कार्यालयले उसलाई कुनै प्रकारको प्रशंसा वा पुरस्कार कहिल्यै दिएको थिएन । जीवनभर कसैबाट पनि प्रशंसा र पुरस्कार नपाएको पन्नालाल ‘सम्मान’ शब्द सुनेर निःशब्द भयो । उसले हतारहतार आफ्नी श्रीमती मैयाँलाई यो खुसीको खबर सुनायो । अचानक श्रीमान्ले सम्मान पाउन लागेको खबर सुनेर मैयाँ पनि पुलकित भई ।

मैयाँ टेलरिङ पेसामा अल्मलिएकी थिई । ऊ पुराना लुगा टालटुल गर्ने तथा महिला र केटाकेटीका कपडा सिलाउने गर्थी । उसको सानो आमदानीले गृहस्थी चलाउन सहयोग पुगेको नै थियो । आफ्नो श्रीमान्ले सम्मान पाउने कुरा सुनेर ऊ आश्चर्यचकित भई । उसको खुसीको सीमा रहेन । उसले आज बेलुका पन्नालाललाई मनपर्ने खाना पकाएर खुवाउने विचार गरी । उसले भात पकाई, सिद्राको झोल र गोलभेँडाको चटनी बनाई । दुवैजनाले प्रसन्न मुद्रामा खानपिन गरे ।

पन्नालालको पुख्र्यौली सानो घरमा ऊ र उसकी श्रीमती मात्र छन् । छोराले अस्ट्रेलियाको पीआर पायो र उतै घरजम ग¥यो, यता आउने कुरै गर्दैन । छोरासँगै बुहारी र नाति पनि उतै बस्छन् । अचम्म वर्षदिनमा मुस्किलले घरमा एक कल फोन गर्ने छोरा पूर्णलाललाई आज आफैँ फोन गरौँ भन्ने लाग्यो पन्नालाललाई । आमा–बुवा दुवैले प्रसन्न मुद्रामा छोरासँग कुराकानी गरे । बुवाले सम्मान पाउने कुरा मैयाँले छोरालाई सहर्ष सुनाई । छोरी बिहे गरेर ज्वाइँको घर गएपछि उनीहरूसँग पनि पन्नालाल र उसकी श्रीमतीको वर्ष दिनमा एक÷दुई पटक मात्र भेट हुन्छ । छोरीज्वाइँ दुवै आफ्नै काममा व्यस्त छन् । पन्नालाल र मैयाँ दुई जना मात्र आपसमा दुःखसुख बाँडेर घरमा बसेका छन् । 

सम्मान कार्यक्रमको निर्धारित समय आज ११ बजे तोकिएको छ । कार्यक्रमस्थल पुग्न करिब एक घण्टा लाग्थ्यो । पन्नालालले बिहानको नित्य कर्म सक्यो, अनि एक कप चिया र एक÷दुई वटा बिस्कुट खायो । आइरन गरेको सुकिला सर्ट–पेन्ट लगायो । भर्खरै धोएर ल्याएको इस्टकोट दराजबाट झिकेर लगायो । गएको दशैँमा किनेको नयाँ ढाका टोपी टाउकोमा लगायो र सम्मानस्थलतर्फ जान तयार भयो । पन्नालाललाई कार्यक्रममा खानपिनको व्यवस्था छ भन्ने लागे पनि उसको निमन्त्रणा पत्रमा औपचारिक रूपमा त्यस्तो केही लेखिएको थिएन । त्यसैले भोजको कुरा सन्देहपूर्ण थियो । खानपिन केकसो हुने हो भन्ने आशङ्काले मैयाँले पाँच सय रुपियाँ पन्नालालको इस्टकोटको भित्री खल्तीमा राखी दिई । 

मैयाँ आफ्ना सबै संस्कारगत परम्पराहरू मान्थी । अझ ऊ केही अन्धविश्वासी पनि थिई । पन्नालाल घरबाट निस्क्यो, मैयाँ पनि उसलाई बाटोसम्म छोड्न सँगै निस्की । घरबाट निस्कनेबित्तिकै बिरालोेले पन्नालालको बाटो काट्यो । पन्नालालले यस कुरालाई विचार ग¥यो कि गरेन, तर मैयाँले बडो असहज महसुस गरी । कुनै कारणले कार्यक्रम नै स्थगित हुने हो कि भन्ने डर उसलाई लागिरह्यो । 

पन्नालाल ठिक ११ बजे कार्यक्रम स्थल पुग्यो । प्रमुख अतिथि र गन्यमान्य व्यक्तित्वहरू आइसकेका थिए । आमन्त्रित व्यक्ति र अन्य कर्मचारी सभाहलभित्र प्रवेश गरिसकेका थिए । स्वागत मन्तव्यबाट कार्यक्रम प्रारम्भ भयो । वक्ताहरू पालैपालो बोल्न थाले । मञ्चमा आसीन केही व्यक्तिले बोली सकेपछि पूर्वकर्मचारी समूहका सचिवले आयोजक संस्थाकातर्फबाट लामो प्रतिवेदन प्रस्तुत गर्न थाले । हलमा उपस्थित आमन्त्रित व्यक्तिहरूको सङ्ख्या बिस्तारै घट्न थाल्यो । हलभित्र मानिस पातलिँदै गएका थिए । कार्यक्रम समापन नभई एकाएक ती मानिस कता गए होला भनी अचम्म मान्दै ऊ सोचमग्न भयो । यसैबीच एक जना व्यक्ति उसको नजिकै आएर भन्यो, सम्मानित व्यक्तिको तर्फबाट पनि तपाईंले केही बोल्नु पर्छ । 

जीवनभर कहिल्यै उसले मञ्चबाट बोलेको थिएन, न यसअघि उसलाई कसैले बोल्न अनुरोध नै गरेका थिए । के भन्नु पर्ने हो, उसलाई कुनै कुरो याद भएन । आफूलाई बोल्नुपर्छ भन्न आउने व्यक्तिलाई नै उसले सोध्यो, “मलाई केही पनि थाहा छैन, के बोल्नु पर्छ ?” त्यो व्यक्तिले भन्यो, “तपाईंले आफूलाई लागेका कुरा केही बोल्नुस् र सम्मानित गर्ने संस्थालाई धन्यवाद ज्ञापन गर्नुहोस् ।” उसले त्यस व्यक्तिलाई बोल्नुपर्ने कुरा कागजमा लेखेर ल्याइदिनुहोस्, म त्यही भन्छु, भन्यो । त्यस मानिसले स्वीकारात्मक रूपमा टाउको हल्लायो ।

केही समयपछि त्यस मानिसले एउटा कागजको पानामा सम्बोधन गर्ने व्यहोरा लेखेर पन्नालाललाई दियो । पन्नालालले त्यो कागज जतन गरी दोबा¥यो र खल्तीमा राख्यो । केही समयपछि कार्यक्रम सञ्चालकले मञ्चबाट पन्नालाललाई आफ्ना विचार व्यक्त गर्न बोलाए । मञ्चमा आसिन कार्यक्रमका अध्यक्ष महोदयले उसलाई रातो टीका लगाई दिए । उसलाई दोसल्ला ओढाइयो र माला लगाई सम्मान गरियो । केही मानिसले उसलाई विभिन्न रङका खादा पनि लगाई दिए । त्यसपछि मञ्चबाट सम्मानित व्यक्तिले आफ्नो मन्तव्य राख्नुपर्ने अनुरोध भएअनुसार पन्नालाल माइक अगाडि उभियो । उसले खल्तीबाट जतनसाथ कागज झिक्यो र अत्यन्त असहजताका साथ त्यस पानामा लेखिएका कुरा पूर्ण पाठ ग¥यो । मञ्चबाट आफ्नो सिटमा फर्कंदा उसले त्यहाँ पाँच÷सात जना मानिस मात्र कुर्सीमा बसेको देख्यो । मानिस कता हराए, पन्नालालले केही मेसो पाउन सकेन । कार्यक्रम चलिरहेका बेला सम्मानित हुने व्यक्तित्व यताउति निस्कने वा कार्यक्रम स्थल छोड्ने कुरा भएन । कार्यक्रममा भोजको पनि व्यवस्था रहेछ । कार्यक्रममा भोजको व्यवस्था थाहा पाउने ती मानिस भोजमा पछि परिन्छ भन्ने पिरले भोजन स्थलतर्फ हतारिएर गएका रहेछन् भन्ने कुरा पछि मात्र उसले थाहा पायो ।

सभा अध्यक्षको बोल्ने कार्यक्रम समाप्त भए पछि हलमा बाँकी पाँच÷सात जना आमन्त्रित भोजनतर्फ लागे । भोजन समाप्त भइसकेको थियो । त्यहाँ तारेको कुखुराको मासुको हड्डी, तारेका आलुका केही टुक्रा, दुई÷चार चम्चा पुलाउ, आलुमटर तरकारीको झोल, टमाटरको अचार, मूलाका टुक्राटाक्री आदि रहलपहल मात्र बाँकी थियो । मञ्चमा आसीन व्यक्तित्वहरू त्यस भोजनस्थलतिर देखिएनन् । उनीहरूको निम्ति छुट्टैै व्यवस्था थियो अथवा उनीहरू आउँदै नआएका हुन्, पन्नालाललाई थाहा हुन सकेन ।

सम्मानित हुने व्यक्तिको नाउँमा व्यवस्था गरिएको भोजमा उपस्थित अरू सज्जनले खानेकुरा सबै रित्याएपछि पन्नालालसमेत अरू पाँच–सात जना मानिस हलबाट भोकै निस्के । कार्यक्रम नै समाप्त नभई भोजको निम्ति सभास्थलबाट मानिस यसरी बाहिरिनुले उसले कार्यक्रमको कुनै सान्दर्भिकता देखेन । उसलाई लाग्यो, ‘मान्छे भोजका लागि मात्र कार्यक्रममा उपस्थित हुने रहेछन् ।’ सम्मानित व्यक्ति पन्नालाल भोको पेट लिएर भोजनस्थलबाट बाहिर निस्क्यो । बाटोमा सहरभित्रको दुर्गन्धित फोहोर बोकेर इच्छुमती बगिरहेकी थिइन् । पन्नालालले कार्यक्रम स्थलमा उपस्थित मानिसका सबै फोहोरी स्वार्थ त्यही इच्छुमतीमा बगाइदिने विचार ग¥यो । आफूलाई सम्मान गरेको दोसल्ला र फूलको माला पनि त्यही खोलामा फ्याँकी दिने विचार ग¥यो तर मैयाँको उत्साहित अनुहार झ्वाट्ट सम्झेपछि उसले त्यसो गर्न सकेन । त्यसपछि दोसल्ला र फूलको माला एउटा झोलामा कोच्यो । पन्नालाल एउटा मामुली रेष्टुरेन्टभित्र पसी स्वच्छन्द वातावरणमा कुखुराको मासुको झोल र भात अघाउँजी खाएर बिल तिरी घरतर्फ लाग्यो ।