• ९ मंसिर २०८१, आइतबार

चामल आयात घट्यो, धान बढ्यो

blog

काठमाडौँ, वैशाख ९ गते । चालु आर्थिक वर्षको नौ महिनामा चामल आयात घटेको छ भने  धानको आयात बढेको छ ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ महिनाको अवधिमा १६ अर्ब २४ करोड १३ लाख १७ हजार रुपियाँ बराबरको धान आयात भएको छ । 

गत वर्ष सो अवधिमा १५ अर्ब २२ करोड १२ लाख ९९ हजार रुपियाँको धान आयात भएको थियो । गत वर्षको तुलनामा एक अर्ब रुपियाँभन्दा बढीको धान आयात भएको हो ।

यस्तै चालु आवको नौ महिनामा १२ अर्ब ९५ करोड पाँच लाख ८१ हजार रुपियाँको एक लाख ९४ हजार ६९५ मेट्रिक टन चामल आयात भएको छ । गत वर्ष सो अवधिमा २४ अर्ब ९० करोड ६९ लाख सात हजार रुपियाँको नौ लाख ८१ हजार १३८ मेट्रिक टन चामल आयात भएको थियो । धान उत्पादनमा भएको वृद्धि र भारत सरकारले गत भदौमा धान, चामल र कनिका निर्यातमा कर लगाएपछि चामल आयातमा कमी आएको हो । 

नेपाल चामल दाल तेल उद्योग सङ्घका अध्यक्ष सुबोध गुप्ताले भारतले चामल निर्यातमा २० प्रतिशत कर लगाएकाले चामल आयातमा कमी आएको जानकारी दिनुभयो । “चामल आयात घटेर धान आयात बढ्नु राम्रो हो,” उहाँले भन्नुभयो । चामल आयात बढ्दा उपभोगमै सकिने तर धान आयात हुँदा स्थानीयस्तरमा मिल सञ्चालन भई रोजगारी सिर्जना हुने उहाँको भनाइ छ । मुलुकभर दुई हजार पाँच सय धान कुटाउने मिल छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा मुलुकभर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान उत्पादन भएको छ । यो गत वर्षको यही अवधिको तुलनामा ६.९४ प्रतिशतले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र शर्माले माग कम हुँदा अघिल्लो वर्षको तुलनामा आधाले चामल आयात घटेको जानकारी दिनुभयो । वीरगञ्ज नाकाबाट कुल आयातको ५० प्रतिशत सामान आयात हुन्छ ।  

विभागका अनुसार चालु आवको नौ महिनामा कुल खाद्यान्न (मकै, कोदो, गहुँ, जौ) आयात ४१ प्रतिशत घटेको छ । विभागका अनुसार साउनदेखि चैतसम्म ४३ अर्ब ५३ करोड २९ लाख ४६ हजार रुपियाँको खाद्यान्न आयात भएको छ । गत वर्ष सो अवधिमा ६१ अर्ब ६९ करोड २९ लाख ८१ हजार रुपियाँको खाद्यान्न आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवमा १८ अर्ब १६ करोड रुपियाँ कमी हो । 

विभागका अनुसार चालु आवका नौ महिनामा ११ अर्ब ९४ करोड ८० लाख ७० हजार रुपियाँको मकै आयात भएको छ । गत वर्ष सो अवधिमा १५ अर्ब ५० करोड ५४ लाख सात हजार रुपियाँको मकै आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा मकै आयातमा समेत कमी आएको छ । 

यस्तै नौ महिनामा २५ करोड ९३ लाख ७७ हजार रुपियाँको गहुँ आयात भएको छ । गत वर्ष ६९ करोड ४२ लाख ५२ हजार रुपियाँको गहुँ आयात भएको थियो । 

रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य सुरक्षामा सङ्कटको सङ्केत देखिएपछि गत ३० वैशाखमा भारतले आफ्नो मुलुकको खाद्य सुरक्षालाई ध्यानमा राख्दै नेपाललगायतका मुलुकमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएसँगै आयातमा कमी भएको हो । चालु आवको साउनदेखि नै खाद्यान्न आयात घट्दै गएको छ । सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण पनि खाद्यान्न आयातमा कमी भएको थियो । गत पुसदेखि आयात प्रतिबन्ध खुला भए पनि  खाद्यान्न आयात भने घट्दै गएको तथ्याङ्कले देखाएको छ । 

भारत, थाइल्यान्ड, इन्डोनेसिया, जापान, इटाली, भियतनाम, बङ्गलादेश, चाइना मलेसिया, फिलिपिन्सबाट धान र चामल आयात हुने गर्छ ।