काठमाडौँ, वैशाख ८ गते । राष्ट्रिय महिला आयोगमा पाँच महिनामा घरेलु, शारीरिक, मानसिक र आर्थिक हिंसाका ३१० वटा उजुरी परेका छन् । आयोगले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले मङ्सिर महिनादेखि चैत ३० सम्मको अवधिमा यस्ता हिंसाका उजुरी परेको बताउनुभयो ।
उहाँले निर्वाचनलगायतका गतिविधिको अनुगमन, आयोगको वार्षिक कार्यक्रम कार्यान्वयनका क्रममा नौ जिल्लामा पुगेर महिला हिंसा र विभिन्न सामाजिक प्रथाका विषयमा स्थानीय जनप्रतिनिधिसँग अन्तक्र्रिया गरेको जानकारी दिनुभयो । अध्यक्ष पराजुलीले आयोगको आफ्नै भवन नहुँदा हिंसामा परेका महिलालाई केही दिन आश्रय दिनसमेत गैरसरकारी संस्थासँग सहकार्य गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।
राष्ट्रिय महिला आयोगका उपसचिव चमिला भट्टराईले सात प्रदेशबाट जम्मा ३१० उजुरी आएको, त्यसमध्ये घरेलु हिंसाका २७६ र मानसिक हिंसाबाट पीडितका २८७ वटा उजुरी आएको जानकारी दिनुभयो । उहाँले एकै व्यक्ति धेरैवटा समस्याबाट पीडित भएर आउने भएकोले शारीरिक, मानसिक, आर्थिक हिंसाको प्रकारमा छुट्याउँदा सङ्ख्या दोहोरिने बताउनुभयो ।
उपसचिव भट्टराईले आयोगमा पीडित र पिडक पक्षलाई सँगै बोलाएर छलफल चलाउँदा दुईपक्षबीच हात हालहालको स्थितिसम्म हुने गरेको अनुभव सुनाउनुभयो । उहाँले उजुरीमा छलफल गरी सम्भव भएसम्मको सहयोग र सुविधा पीडित पक्षलाई आयोगले उपलब्ध गराउँदै आएको बताउनुभयो । आयोगका सदस्य कृष्णकुमारी खतिवडाले हिंसामा परेका महिलाको आशाको केन्द्रबिन्दुका रूपमा आयोगले चाहे जत्ति काम गर्न आर्थिक र भौतिक संरचनाको अभावले गर्न नसकेको बताउनुभयो ।