नेपालगन्ज समाचारदाता
नेपालगन्ज, असार १० गते । नेपाल रेडक्रस सोसाइटी बाँकेले नेपालगन्जका बासिन्दाले अत्यधिक गर्मीलाई कसरी अनुभव गर्छन् र त्यसको जोखिम तथा प्रभाव कसरी बुझेका छन् भन्ने विषयमा अध्ययन सुरु गरेको छ ।
त्यसका लागि नेपाल रेडक्रस सोसाइटी बाँकेले १५ जना स्वयंसेवकलाई तालिम दिएर उपमहानगरमा परिचालन गरेको हो । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा तातो हावाको लहर ‘लु’ का बारेमा स्वयंसेवकलाई तालिम दिएर अध्ययन गर्न खटाइएको नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले बताउनुभयो । उहाँले ती स्वयंसेवकलाई ‘कोबो कलेक्सन सफ्टवेयर एप्स’ सम्बन्धी तालिम दिइएको र उनीहरूले नेपालगन्ज उपमहानगरपालिकाका वडाका विभिन्न समुदायमा पुगी अन्तर्वार्ताको माध्यमबाट ‘लु’ को बारेमा सूचना सङ्कलन गर्ने बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी बाँकेले उक्त तालिमका सहभागीलाई तातो हावाको लहर, रेडक्रस अभियान प्रचारप्रसार र ‘कोबो कलेक्सन सफ्टवेयर एप्स’ को सैद्धान्तिक ज्ञान र व्यावहारिक अभ्यासको माध्यमबाट सिकाइएको जनाएको छ ।
तालिममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयका विवेक कायस्थ र सृजना देवकोटा तथा नेपाल रेडक्रस सोसाइटी बाँकेका प्रह्लाद विश्वकर्मा र झविलाल शर्माले प्रशिक्षण दिनुभएको थियो ।
तातो हावाले हरेक वर्ष नेपालगन्जको जनजीवन अस्तव्यस्त पार्नुका साथै धेरैलाई बिरामीसमेत बनाउने भएकाले यस पटक त्यसबारे अध्ययन गरेर त्यसको परिणाम अनुसार कार्यक्रम र योजना बनाइने नेपाल रेडक्रस सोसाइटी बाँकेका मन्त्री अजिजअहमद सिद्धिकीले बताउनुभयो । सो अवसरमा सोसाइटी बाँकेका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, नेपालगन्ज उपमहानगरपालिका–१४ का वडाध्यक्ष मजहर अली साई, २१ का वडाध्यक्ष राजकुमार साहु, बाँके बागिया उपशाखाका सभापति चित्रबहादुर केसीलगायतको सहभागिता थियो ।