• १२ साउन २०८१, शनिबार

गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई विजयी गराउन अपील

शक्तिखोर औद्योगिक ग्राम छिट्टै सम्पन्न गर्छौं : प्रधानमन्त्री

blog

चितवनको निर्वाचन क्षेत्र नं. २ को चुनावी सभामा सहभागी ।

बसन्त पराजुली  

चितवन, वैशाख ७ गते। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको शक्तिखोरको औद्योगिक ग्राम निर्माणको काम छिट्टै सम्पन्न गरिने बताउनुभएको छ।

चितवनको निर्वाचन क्षेत्र नं. २ को चुनावी सभामा सत्ता गठबन्धनका उम्मेदवार जीतनारायण श्रेष्ठलाई विजयी गराउन अपील गर्दै प्रधानमन्त्रीले यस्तो विचार राख्नु भएको हो । 

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘अघिल्लो पटक म प्रधानमन्त्री हुँदा नै यो योजना अगाडि बढाएको थिएँ। संयोगले यस पटक पनि म नै प्रधानमन्त्री छुु। यो कार्यकालमा औद्योगिक ग्राम निर्माणको काम सम्पन्न गर्छौं। यसका साथै चितवनको विकासका लागि रणनीतिक महत्त्वका योजनाहरू अगाडि बढाउँछौं।’’

सभामा प्रधानमन्त्रीले खहरे खोला होइन विशाल नदीको पक्षमा जनमत व्यक्त गर्न चितवनबासीलाई अपील गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘कहिलेकाहिँ खहरे खोला पनि उर्लिएर आउँछ। त्यो छिट्टै सुक्छ तर नदी सदाबहार हुन्छ। केही समयदेखि यता चितवनमा खहरे भेल आएको छ। तर अहिले विस्तारै सुक्दैछ। मतदाता लयमा फर्किंदैछन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीजस्ता पार्टी विशाल नदी हुन्। यिनीहरू सदाबहार रूपमा अगाडि बढ्छन्।’’

"जीतनारायण श्रेष्ठ चितवन–२ का लागि सबैभन्दा योग्य उम्मेदवार हो", प्रधानमन्त्रीले भन्नुभयो, ‘‘चितवनलाई राम्रोसँग बुझेको, यहाँका जनतासँग भिजेको उम्मेदवार उहाँ नै हो। उहाँ कांग्रेसको मात्र नभएर गठबन्धनको साझा उम्मेदवार हो। जीतनारायणलाई जिताएर पठाउनुस्, चितवनको विकासमा महत्त्वपूर्ण सहयोग गर्छौं।’’


कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै  प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय 

संविधान र लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन बनेकोमा प्रधानमन्त्रीले जोड दिँदै भन्नुभयो, "हामीले गठबन्धन गरेर लोकतन्त्र र संविधान विरोधी शक्तिलाई हरायौं, संसद विघटन गर्ने प्रवृत्तिलाई सडकबाट पराजित गर्‍यौं, त्यसकै आधारमा अहिलेको गठबन्धन बनेको हो ।" 

‘‘कहिलेकाहिँ खहरे खोला पनि उर्लिएर आउँछ। त्यो छिट्टै सुक्छ तर नदी सदाबहार हुन्छ। केही समयदेखि यता चितवनमा खहरे भेल आएको छ। तर अहिले बिस्तारै सुक्दैछ। मतदाताहरू लयमा फर्किंदैछन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीजस्ता पार्टी विशाल नदी हुन्। यिनीहरू सदाबहार रूपमा अगाडि बढ्छन्।’’

उहाँले सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख लक्ष्य बनाएर गठबन्धन सरकार अगाडि बढिरहेको बताउँदै यो गठबन्धन अझै सुदृढ बन्दै जान्छ, एकताबद्ध भएर मुलुकका चुनौती छिचोल्दै विकास र समृद्धिलाई तीव्रता दिनेछ भन्नुभयो । 

सभामा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवन–२ को विकासका निम्ति जीतनारायण श्रेष्ठ सबैभन्दा योग्य उम्मेदवार भएको भन्दै अत्यधिक मतले विजयी गराउन आग्रह गर्नुभयो । सभापति देउवाले जीतनारायण श्रेष्ठलाई जिताएर पठाए आफू मन्त्री बनाउन सिफारिस गर्ने विश्वास दिलाउनुभयो । 

“यस अघि टिकट नपाउँदा जीत नारायण मसँग रिसाएका थिए । अहिले टिकट दिएको छु । हार्न पाइदैन । जितेपछि मैले मन्त्री बनाउन सिफारिस गर्छु”, उहाँले भन्नुभयो ।  कार्यक्रममा नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले विधिको शासन, भ्रष्टचारमुक्त समाज कायम गराउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । लोकतन्त्र रक्षाका लागि विधिको शासन जरुरी रहेकोमा जोड दिँदै उहाँले देशमा शान्ति र समृद्धि कायम गराउन पनि कांग्रेसका उम्मेदवारको जित आवश्यक रहेको बताउनुभयो । 

यसैगरी, नेकपा समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कुनै पनि नीति र विचार नभएको स्वतन्त्र पार्टीले देश विकासमा केही नगर्ने दाबी गर्नुभयो । “अब जनताले बुझिसकेका छन् उनीहरुका भूल भुलैयामा विश्वास गर्दैनन्", उहाँले भन्नुभयो । 

नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणले चितवनको विकासका लागि कांग्रेसले जित्नु पर्ने बताउनुभएको छ  । उहाँले अझै पनि रवि लामिछानेले चुनाव जितेमा यो क्षेत्रमा पुनः तेस्रो पटक उपनिर्वाचन हुने दाबी गर्नुभयो ।