• २० पुस २०८१, शनिबार

जुडोमा एकै परिवारका तीन खेलाडीलाई स्वर्ण

blog

जुडोमा उपाधि विजेता एकै परिवारका तीन खेलाडी । तस्बिर : राखेप

काठमाडौं, वैशाख ७ गते । १८औँ राष्ट्रिय जुडो प्रतियोगितामा एकै परिवारका तीन खेलाडी स्वर्ण जितेका छन् । नेपाल जुडो सङ्घद्वारा आयोजित प्रतियोगितामा इन्द्रबहादुर श्रेष्ठ र उहाँका बहिनीहरू निशा र देवकीले स्वर्ण जित्नुभएको हो । 

पुरुष ६६ केजीमुनि नेपाल प्रहरी क्लबका इन्द्रले लुम्बिनी प्रदेशका मनीष आलेलाई फाइनलमा हराउनुभयो । फाइनल जित्न इन्द्रलाई १६ सेकेन्ड मात्र समय लागेको थियो ।

इन्द्रले इप्पोनका आधारमा प्रतिद्वन्द्वी मनीषलाई हराउनुभयो । नेपाल आर्मीका किरण भट्टराई तथा बागमती प्रदेशका प्रवीण पाण्डे तेस्रो हुनुभयो । 

नयाँबजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा भएको महिला ४८ केजीमुनि फाइनलमा बागमतीकी निशाले एपीएफ क्लबकी रत्ना तामाङलाई हराउँदै स्वर्ण जित्नुभयो ।

५२ केजीमुनिको स्वर्ण भिडन्तमा बागमतीकी देवकीले आर्मीकी रोशना डंगाललाई पाखा लगाउनुभयो । इन्द्र, निशा र देवकी बन्दी सहायता नियोग (पाम) बाट उत्पादित खेलाडी हुनुहुन्छ । 

यसैगरी महिला ५७ केजीमुनि आर्मीकी सिमाकुमारी चिडीले फाइनलमा एपीएफकी सुनिता थिङलाई पन्छ्याउँदै स्वर्ण चुम्नुभयो । ६३ केजीमुनि प्रहरीकी दिलकुमारी छन्त्यालले बाजी मार्नुभयो । 

पुरुष ६० केजीमुनि कर्णालीका प्रवीणकुमार दियाली र ७३ केजीमुनि एपीएफका प्रमोद मण्डलले स्वर्ण जित्नुभयो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका ६४ पुरुष र ५२ महिला गरी एक सय १६ खेलाडी सहभागी छन् ।