काठमाडौं, वैशाख ७ गते । नेपाल वायु सेवा निगमले ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकाले सो अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन आग्रह गर्नुभएको हो । साथै किस्ताको सङ्ख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन समेत प्रवक्ता पौडेलले आज (बिहीबार) जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, निगमको अनुरोधबारे कोषसँग छलफल भइरहेको पनि विज्ञप्तिमा जनाइएको छ ।
प्रवक्ता पौडेलका अनुसार वर्तमान नेतृत्वले व्यवस्थापन सम्हालेपछि निगमको व्यापार विस्तार तथा नगद प्रवाहमा क्रमिक सुधार भएको जिकिर गर्नुभएको छ ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबडी र दुई वाइडबडी जहाज ऋण लिएर खरिद गरेको जानकारी दिनुहुँदै उहाँले ऋणको किस्ता बाफत गत वर्षको चैत ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको बताउनुभयो ।
जारी विज्ञप्तिमा यसअघि असार महिनामा एक अर्ब ३५ करोड रुपियाँ, असोजमा ७३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ, पुसमा ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ, चैतमा ५३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ गरी जम्मा दुई अर्ब ९४ करोड २८ लाख ६५ हजार ८४४ रुपियाँ भुक्तानी गरिसकेको उल्लेख छ ।