• १२ असोज २०८१, शनिबार

रियल र एसी मिलान सेमिफाइनलमा

blog

गोल गरेपछि खुसी मनाउँदै रियलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, वैशाख ६ गते । स्पेनिस क्लब रियल म्याड्रिड र इटालियन सिरि ‘ए’ टोली एसी मिलान युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा रियलले इङ्लिस  प्रिमियर लिग क्लब चेल्सीलाई २–० गोलले हरायो । अर्को खेलमा एसी मिलानले  सिरि ‘ए’ प्रतिद्वन्द्वी नापोलीलाई १–१ गोलको बराबरीमा रोक्दै सेमिफाइनलमा स्थान बनायो ।

मिलान १६ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको हो । रियलले समग्रमा ४–० को जित निकाल्यो । रियल पहिलो लेगमा पनि २–० गोलले विजयी भएको थियो । यस्तै एसी मिलानले समग्रमा २–१ गोलको जित निकाल्यो । 

पहिलो लेगमा मिलान १–० गोलले विजयी भएको थियो । घरेलु मैदानमा चेल्सीलाई हराउन रियलका रोड्रिगोले दुवै गोल गर्नुभयो ।

५८औँ मिनेटमा गोलको खाता खोल्नुभएको रोड्रिगोले ८०औँ मिनेटमा दोस्रो गोल थप्नुभएको थियो । रियल ११औँ पटक सेमिफाइनलमा पुगेको हो । 

यस्तै अर्को प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता मिलानले लिएको थियो । ओलिभर गिरुडले ४३औँ मिनेटमा गोल गर्दै मिलानको उत्साह जगाउनुभएको थियो ।

इन्जुरी समयमा नापोलीका भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । यसअघि ८२औँ मिनेटमा नापोलीका कभिचा कभाराकेस्लियाको पेनाल्टी प्रहार बाहिरिएको थियो । एजेन्सी