रमेश विश्वकर्मा
गुल्मी, पुस १ गते । गुल्मीको चन्द्रकोट गाउँपालिकाले सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्ने भएको छ । यहि पुस ८ र ९ गते चन्द्रकोट गाउँपालिका–४, शान्तिपुरस्थित उदय माध्यमिक विद्यालय र चक्रेश्वर इङ्गलिश बोर्डिङ्ग स्कुलमा प्रतियोगिता सञ्चालन गर्न लागिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश चन्द्र शर्माले जानकारी दिनुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत शर्माका अनुसार चालू शैक्षिक सत्रमा कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत १८ वर्ष मुनिका छात्रछात्राहरुलाई मात्र खेलकुद प्रतियोगितामा सहभागी गराउन आग्रह गरिएको छ । प्रतियोगितामा सहभागी खेलाडी/विद्यार्थीहरुले एक खेल विधामा मात्र सहभागी हुन पाउनेछन् । प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्रयाक वा दुई फिल्ड एक ट्रयाकमा भाग लिन पाउनेछन् । प्रतियोगिता सञ्चालनसम्बन्धी थप व्यवस्था राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० (पाँचौँ संशोधन) अनुसार हुनेछ ।
प्रतियोगितामा भाग लिने छात्र/छात्रा खेलाडीले पुस ६ गतेसम्म उदय माध्यमिक विद्यालयमा गराउनुपर्ने उहाँले बताउनुभयो । प्रतियोगितामा भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, एथ्लेटिक्स दौड छात्र/छात्रा (ट्रयाक), उफ्रने र फ्याँक्ने छात्र/छात्रा (फिल्ड) तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, मार्सल आर्ट कराँते छात्र/छात्रा काता (एकल), तेक्वान्दो छात्र/छात्रा (एकल) पुम्सेलगायतका खेल खेलिने छ ।