काठमाडौं, वैशाख ५ गते । निर्वाचन आयोगले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा हेलिकोप्टर प्रयोग मितव्ययीताको सिद्वान्त प्रतिकूल हुने जनाएको छ ।
आयोगका उपन्यायाधिवक्ता एवम् सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले उपनिर्वाचन प्रचारप्रसारमा हेलिकोप्टरको प्रयोग नगर्ने सम्बन्धी प्रेस विज्ञप्ति मङ्गलबार जारी गर्दै सो कुरा उल्लेख गर्नुभएको छ ।
२०८० वैशाख १० गते बारा, चितवन र तनहुँमा उपनिर्वाचन हुन गइरहेको अवस्थामा निर्वाचन आचारसंहिता, २०७९ को दफा १४ बमोजिम राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने व्यहोरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालको भौगोलिक जटिलता रहेका तथा विकट स्थानमा समेत प्रचारप्रसार गर्न पाउने भन्ने उद्देश्यले मात्र हेलिकोप्टरको सेवा प्रयोगको व्यवस्था भएको जनाइएको छ ।
निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उपनिर्वाचनमा उम्मेदवा, दलका नेता तथा कुनै पनि प्रचारकले हेलिकोप्टर सेवा प्रयोग नगर्न आयोगले जनाएको छ ।