• ४ जेठ २०८१, शुक्रबार

स्थानीय निकायमा काम गर्न सहज

blog

महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झा । तस्बिर: देवरामप्रसाद यादव,सप्तरी ।

देवराम प्रसाद यादव

सप्तरी, बैशाख ५ गते । सप्तरी महादेवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले स्थानीय तह सञ्चालन गर्न सजिलो रहेको बताउनुभएको छ । महादेवा गाउँपालिकामा आएपछि स्थानीय तह सञ्चालन ऐनमा टेकेर करार कर्मचारीको लागि दीर्घकालीन रोडम्यापसहितको कार्यविधि तयार पारिसकेको बताउनुहुँदै सो कुरा गोरखापत्रसँगको कुराकानीमा  उहाँले बताउनुभएको हो ।

यो वर्षलाई ऐन निर्माण र कार्यान्वयनको वर्षको रूपमा काम गर्दैआएको उहाँले बताउनुभयो । केही समय भित्रै पालिका चलाउन शिक्षा, न्याय सम्बन्धी आवश्यक ऐन कानुन निर्माण गरी गाउँपालिकाको राजपत्रको रूपमा ऐन किताब प्रकाशित गर्ने गृहकार्य भइरहेको उहाँले बताउनु भयो । 

प्रमुख प्रशासकीय अधिकृत झाका अनुसार अन्य विषयगत कार्यालयमा अवसर बाँडफाँट भए पनि चुनौती बढी नेतृत्वमा रहेको विगतको अनुभव समेत उहाँले सुनाउनुभयो । उहाँले पालिकामा हरेक विषयको आ–आफ्नो छुट्टै शाखा हुन्छ र प्रत्येक शाखा प्रमुखले जनप्रतिनिधि र कार्यालय प्रमुखसँग समन्वय गरी सर्वतन्त्रपूर्वक आफ्नो शाखाको कार्यसम्पादन गर्ने सक्ने अधिकार रहेको अनुभव बताउनुभयो ।  

स्थानीय सरकारले गर्ने विकासका हरेक काम कारबाहीमा जनप्रतिनिधि र कर्मचारीलाई जिम्मेवार बनाउन सक्यो भने स्थानीय तहमा बसेर काम गर्न अत्यन्तै सहज हुने उहाँको अनुभव छ ।

उहाँले तत्कालीन जिल्ला विकास समिति अन्तर्गत विभिन्न गाउँ विकास समितिको कार्यालयमा अनुभव सुनाउँदै जुनसुकै स्थानीय तहमा जाँदा त्यहाँका जनप्रतिनिधि र सम्पूर्ण शाखा प्रमुखलाई आफ्नो क्षेत्राधिकार र जिम्मेवारी विभाजन गरेर समन्वयात्मक तवरले काम गर्ने पक्षमा आफू रहेको बताउनुहुन्छ ।