• ४ जेठ २०८१, शुक्रबार

लालबन्दीमा फोहोर फाल्ने ठाउँबाट नक्कली नोट बरामद

blog

लालबन्दीमा फोहोर फाल्ने ठाउँबाट बरामद भएकाे नक्कली नोट ।

जनार्जन खत्री

सर्लाही, बैशाख ५ गते । सर्लाहीको लालबन्दीबाट मङ्गलबार बिहान ठूलो परिमाणमा नक्कली नोट बरामद भएको छ । लालबन्दी नगरपालिका –७, बजारस्थित पुरानो गोल्डेन फ्यूचर आवासीय विद्यालय रहेको भवनको पछाडिपट्टी फोहोर फाल्ने ठाउँमा फ्याँकिएको अवस्थामा नक्कली नोट बरामद भएको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी नायब उपरीक्षक शान्ताराम कार्कीले एक हजारका ५३० वटा नक्कली नोट बरामद भएको जानकारी दिनुभयो । 

ती नक्कली नोटसँगै एक हजार दरको नोट आकारकै पाँच सय भन्दा बढी ‘फोटोकपी पेपर’ समेत बरामद भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभएको छ । नक्कली नोट बनाउने कार्यमा संलग्न व्यक्तिले बजारमा ती नोट प्रयोग गर्न नसकेपछि फोहोर फाल्ने ठाउँमा ल्याएर फालेको हुनसक्ने आशङ्का गरिएको छ । 

प्रहरीले नक्कली नोट बनाएर फाल्ने व्यक्ति पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ । सर्लाहीमा पछिल्लो समय नक्कली नोटको कारोबारी सक्रिय भइरहेका छन् । 

प्रहरीले जिल्लाको विभिन्न स्थानबाट नक्कली नोटसहित यसको कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गरेर कारबाही समेत चलाइरहेको छ । लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष कृष्णबहादुर कार्की (गोपाल)ले मङ्गलबार बिहान नक्कली नोट फेला परेको स्थानमा आफू पनि पुगेको र स्थानीय तथा व्यापारीलाई नक्कली नोटको कारोबारीबाट सचेत रहन आग्रह गरेको बताउनुभयो ।