रेखीराम राना
पाल्पा, बैशाख ३ गते । पाल्पाको ऐतिहासिक गढी तथा किल्लाहरूमा नेपाली सेनाको टोलीले पदयात्रा सुरु गरेको छ । ऐतिहासिक स्थलको संरक्षण र राष्ट्रिय एकताको सन्देशसहित सेनाको एकीकरण पदयात्रा टोलीले पाल्पाको ऐतिहासिक स्थलहरूमा पद यात्रा सुरु गरेको हो ।
टोलीले पूर्वखोलाको बाकुमगढी, माथागढी, तानसेन र नुवाकोट गढी तथा गीतगढी किल्लाको भ्रमण थालेको पाल्पास्थित नेपाली सेनाको दि महिन्द्र फेमस दल गणले जनाएको छ ।
२०७९ चैत २८ गतेदेखि गोरखा, तनहुँ हुँदै पाल्पा आएको पदयात्राको टोलीलाई पाल्पा र स्याङ्जाको सिमाना केलादी घाटमा स्थानीय बासिन्दा, जनप्रतिनिधिले स्वागत गरेका थिए ।
पदयात्रा टोलीलाई स्वागत गर्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले नेपालको ऐतिहासिक स्थलको भ्रमणले ऐतिहासिक स्थलको संरक्षणमा सरोकारवालाको ध्यानाकर्षण गर्न सहयोग पुग्ने बताउनुभयो ।
यस्तै, नेपाली सेनाका सहायक रथी ललितबहादुर कुँवरले नेपाल एकीकरण र नेपाल–अङ्ग्रेज युद्ध नेपाली सेनाले मात्र नभई सबै नेपाली आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीको सहयोग रहेको बताउनुभयो । नेपाली सेना र जनताको विगतदेखि नै प्रगाढ सम्बन्ध रहेको भन्दै उहाँले पदयात्राले विगतको ऐतिहासिक सम्बन्धलाई जीवन्त राख्ने बताउनुभयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले पाल्पाको ऐतिहासिक महत्त्वको स्थानको प्रचार गर्न र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गर्नुभयो ।
सेनाको नेतृत्वका भएको पदयात्रामा आम नागरिक, स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूको सहभागिता छ । पाल्पा पदयात्राको नेतृत्व दि महिन्द्र फेमस दल गणका मेजर किन प्रधानले गर्नुभएको छ । उक्त टोलीले वैशाख ७ गते बुटवलमा पदयात्राको झण्डा हस्तान्तरण गर्ने गणपति बालमुकुन्द विष्टले जानकारी दिनुभयो । पदयात्रामा सहभागी टोलीले १६१ किलोमिटर दुरी पार गर्ने उहाँले बताउनुभयो ।
यसअघि, नेपाली सेनाले गोरखादेखि पूर्वतर्फमात्रै पदयात्रा गरेको थियो । यो वर्षदेखि गोरखादेखि पश्चिम क्षेत्रका ऐतिहासिक स्थलहरूमा पदयात्रा गर्न थालेको विष्टको भनाइ छ । नेपाली सेनाले गर्न थालेको पदयात्राले सेना र नागरिकको सम्बन्ध सुमधुर बनाउन सहयोग पुग्ने पाल्पाका सरोकारवाला नागरिकको भनाइ छ ।