शालिग्राम नेपाल
चितवन, बैशाख ३ गते । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले चितवनको उपनिर्वाचनमा विगतको परिणाम दोहोरिएमा फेरि उपनिर्वाचन हुने बताउनुभएको छ ।
प्रेस चौतारी चितवनले आइतबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएमा फेरि उप निर्वाचन हुन्छ त्यसैले मतदाताले विचार गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “चितवन क्षेत्र नं. २ मा पुनः उपनिर्वाचन हुने स्थिति नआओस् ।” के आधार अहिले उपनिर्वाचन हुँदैछ, त्यही आधारमा पुनः निर्वाचन हुने अवस्था सिर्जना हुन्छ ।
सचिव भट्टराइले भन्नुभयो “उपनिर्वाचन किन भयो आज पनि त्यो आधार जीवितै छ ।” नेपालको संविधान र कानुनले प्रतिनिधिसभाको सदस्य हुन जुन योग्यता तोकेको छ त्यो योग्यताका कारणले पुरानो नतिजा दोहोरियो भने उपनिर्वाचन हुने कुरा लगभग सुनिश्चित भएको छ ।
लामिछानेले राज्य र समाजलाई ढाँटेकाले पाँच वर्ष गल्ती प्रायश्चित गरेर बस्नुपर्नेमा जोड दिनुभयो । “एउटा सभ्य समाजमा मानिसले गल्ती गर्न सक्छ । त्यो गल्तीप्रति माफी पनि हुन्छ । तर सभ्य समाजमा समाजलाई ढाँट्ने कुरा ठूलो अपराध हो ।” लामिछानेले गल्ती गरेको नभई ढाँटेको बताउँदै उहाँले भन्नुभयो “समाज र राज्यलाई ढाँटेको हो । सिङ्गो मुलुकलाई ढाँटेको हो । संविधान, कानुन यी सबै कुरालाई ढाँट्नु भएको हो । त्यसकारण उहाँले पाँच वर्ष ढाँटेकोप्रतिको प्रायश्चित गरेर बस्नुपर्ने हो । फेरि ढाँट्ने कोसिस गर्दै हुनुहुन्छ ।”
कार्यक्रममा उहाँले जनचाहना अनुसार सरकारले काम गर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । राजश्व सङ्कलनमा र विकास खर्च गर्न नसक्नु सरकारको कमजोरी भएको बताउनुभयो । राज्यले लिएको लक्ष्यअनुसार राजश्व सङ्कलनको अवस्था भएको छैन, आर्थिक वर्ष सकिन अब तीन महिना बाँकी हुँदा कसरी पुग्न सकिन्छ, उहाँले भन्नुभयो । सरकारले विकास खर्च गर्न नसकेको कारण राज्यको काम गर्ने शैलीबारे प्रस्ट भएको बताउनुभयो ।
आर्थिक सङ्कटबाट देशलाई माथि उकास्न सरकार उदासीन भएको भन्दै उहाँले बैङ्कसँग पैसा भएर पनि ऋण लिएर व्यवसाय गर्ने वातावरण नभएको बताउनुभयो ।