• ११ मंसिर २०८१, मङ्गलबार

दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको आरोहण गर्दै

blog

सगरमाथा ।

गाेरखापत्र अनलाइन

काठमाडाैं, बैशाख ३ गते । आत्मबल र आत्मविश्वास भए संसारमा सबै कुरा सम्भव छ । आत्मविश्वास र आत्मबलका पर्याय हुनुहुन्छ हरि बुढामगर । पूर्व गोरखा सैनिक समेत रहनुभएका उहाँका दुवै खुट्टा छैन । अहिले उहाँ विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न आधार शिविर गइसक्नुभएको छ ।

बेलायती सेनामा कार्यरत रहेका बेलामा सन् २०१० मा अफगानिस्तानको लडाइँमा उहाँले दुवै खुट्टा गुमाउनुभएको थियो । शारीरिक अशक्तता भएर पनि बुढा मगर सगरमाथा आरोहण गर्ने उत्कट चाहना पूरा गर्न सगरमाथा आरोहणका लागि तयार हुनुहुन्छ ।

विभिन्न खेलमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा समेत विजय प्राप्त गरेर अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुल्नुभएका मगरले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेपालको पहिचानलाई विश्वमाझ पुर्‍याउन का लागि सगरमाथाको आरोहण गर्न लागेको बताउनु भयो । उहाँले आफूले सगरमाथा आरोहणमार्फत विश्व कीर्तिमान राख्न चाहेको बताउनु भयो ।

उहाँले दुवै खुट्टा नभएका व्यक्तिले हालसम्म सगरमाथा आरोहण नगरेको भन्दै आफ्नो आरोहणले विश्व कीर्तिमान राख्ने र आम मानिसहरूलाई गौरवान्वित बनाउने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘हामी अपाङ्ग व्यक्ति पनि मेरो खुट्टा कमजोरी होला । कसैको हात कमजोरी होला । कसैको आँखा कमजोरी होला । त्यो भन्दैमा हामी केही गर्न सक्दैनौँ भन्ने कुरा होइन क्या । सबैको कमजोरी छ । सपाङ्ग व्यक्तिको पनि कुनै न कुनै आफैँ कमजोरी होला । विद्यार्थीहरू पनि कोही गणितमा कमजोरी होला, कोही अङ्ग्रेजीमा कमजोरी होला ।

म एसएलसीमा फेल भएर मौका परीक्षा दिएको मान्छे । कुनै न कुनै कुरामा हाम्रो कमजोरी छ । त्यो भन्दैमा हाम्रो स्ट्रेन्थलाई फोकस गर्नुपर्छ । हामी अपाङ्ग व्यक्तिहरू पनि एउटा सफल जिन्दगी, अर्थपूर्ण जिन्दगी बिताउन सक्छौँ । त्यो एउटा सन्देश दिलाउनु हो ।

त्यसको साथसाथै सगरमाथा आरोहणको मुख्य सन्देश एउटा विश्व कीर्तिमान हुन्छ । जसले नेपाल र नेपालीलाई गौरवान्वित बनाउँछ जस्तो लाग्छ । नेपालीहरूको स्प्रिट देखाउँछ जस्तो लाग्छ मलाई ।

आशा छ, यसले कुनै न कुनै व्यक्तिहरूलाई कुर्सीबाट उठेर एक, दुई पाइला मात्र हिँड्न लाग्यो भने जिन्दगीमा पाइला मात्र अगाडी सार्न प्रेरणा दियो भने म एकदम खुसी हुनेछु । उनीहरूको आफ्नै सगरमाथा होला, कसैलाई व्यापारिक सगरमाथा होला, कसैलाई जागिरको सगरमाथा होला । कसैलाई विवाह गर्नेको सगरमाथा होला । कसैलाई बच्चा जन्माउने सगरमाथा होला ।

कसैलाई कुनै न कुनै जिन्दगी सुधारको सगरमाथा होला । त्यसलाई मैले सानो प्रेरणा दिन पाए भनेपनि मेरो लागि ठूलो उपलब्धि हुनेछ । मैले नेपाल र संसारलाई म आरोहणमार्फत सेवा गर्न चाहन्छु ।

मेरो मुख्य उद्देश्य नै त्यो हो । मेरा उद्देश्यमध्ये यो एउटा चिज हो । सगरमाथा मेरो अन्तिम चिज होइन । सगरमाथा हाम्रो देशमा छ । म सानैदेखि प्रेरित भएको हो यो सगरमाथा सम्बन्धी ।’

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले हरेक मानिससँग केही न केही कमजोरी भएपनि जीवनमा केही गर्न नसक्ने भन्ने नहुने बताउनु भयो । उहाँले हीनताबोध त्यागेर आफ्नो शक्तिलाई केन्द्रित गर्नसके जस्तोसुकै सफलता पनि हात पर्ने बताउनु भयो । उहाँले आफ्नो सगरमाथा आरोहणले जीवनको कुनै न कुनै सगरमाथा चढिरहेका आम मानिसहरूलाई प्रेरणा दिने उहाँको भनाई छ ।

सगरमाथा नेपालको पहिचान र शिर भएको भन्दै यसको प्रचारलाई अझ व्यापक बनाउन आफ्नो योगदान रहने उहाँले उल्लेख गर्नुभयो । उहाँले आफ्नो सम्पूर्ण बाल्यकाल देशमै बितेको उल्लेख गर्दै देशलाई पनि केही दिनुपर्छ भन्ने मनसायका साथ सगरमाथा आरोहण गर्न लागिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘सगरमाथा म १९ वर्षसम्म यहीँ जन्मिएको । यहीँ हुर्किएको । विदेशमा जाँदा, काम गरिराख्दा कुनै न कुनै मनको कुनामा चाहिँ के लाग्छ भने म १५ वर्षसम्म ब्रिटिस सरकारको लागि काम गरेँ ।

मेरो दुईवटा खुट्टा पनि दिएँ । मेरो अरू समय दिएँ । मेरो आधा युवावस्था दिएँ । तर मैले मेरो देशलाई के दिएँ त ? भन्ने कुरा जहिल्यै पनि मनमा परिराख्ने ।

मैले सेवा गर्दा पनि जहिल्यै पनि हामीलाई परिराख्थ्यो । देशलाई कसरी पब्लिक सेवा दिन सकिन्छ भन्ने मैले सोचिराखेको थिएँ । त्यो गर्दाखेरी म आफैँ अपाङ्ग भएर, आफैँ सङ्घर्षशील भएको कारणले यसको सचेतना कत्तिको जरुरी छ, भनेर मैले बुझेको छु ।

सचेतना अपाङ्ग भएको व्यक्तिलाई मात्र जरुरी छैन । उसलाई साथ दिने परिवारलाई पनि कसरी सहयोग गर्नुपर्छ भन्ने एउटा सचेतना जरुरी छ । सरकारलाई पनि यिनीहरूलाई कसरी सहयोग गर्नुपर्छ भन्ने कुरा जरुरी छ ।’

तत्कालीन रोल्पा निरुल गा.वि.स. हालको थवाङ गाउँपालिकामा जन्मिनुभएका बुढामगरले आफ्नो जीवनको बाल्यकाल १९ वर्षसम्म रोल्पामै बिताउनु भयो । कक्षा ५ सम्मको प्रारम्भिक शिक्षा गाउँकै विद्यालयमा पढ्नुभएको उहाँले कक्षा ६ र ७ मा रोल्पाकै कोर्चवाङमा पढ्नुभएको हो । त्यसपछि सदरमुकामबाट एसएलसी परीक्षा उत्तीर्ण गर्नुभएको उहाँ बुबाको सपना बमोजिम १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती हुनुभयो ।

उहाँले बुबाको सपना पूरा गर्न र अग्रजहरूलाई देखेर पनि बेलायती सेनामा भर्ती भएको बताउनु भयो । तत्पश्चात् १५ वर्षसम्म विश्वका विभिन्न देशहरूमा शान्ति स्थापना र विभिन्न सैन्य मोर्चाहरूमा सामेल हुनुभएको उहाँको सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमेको थियो । त्यसपछिको दुई वर्ष उहाँ २ वर्ष रक्सीको कुलतमा परेको र आत्महत्या गर्ने सोच समेत पलाएको उहाँ उल्लेख गर्नुहुन्छ ।

स्की, कायाकिङ, ह्वीलचेयर टेबल टेनिस, आर्चरी, इम्पिटि फुलबल, सिटिङ भलिबल लगायतका खेलमा विभिन्न मेडलसमेत जित्नुभएको उहाँ दृढ इच्छाशक्ति भएमा सबै खालका गतिविधि गर्न सकिने बताउनुहुन्छ ।

उहाँ अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजले हेर्ने धारणामा परिवर्तन हुनुपर्नेमा जोड दिनुहुन्छ । परिवारले समेत अपाङ्गता भएका परिवारका सदस्यलाई बाहिर निस्किने वातावरण नबनाइदिने भन्दै त्यसो गर्नु नहुने उहाँको भनाई छ ।

अपाङ्गमैत्री संरचना नहुँदा अपाङ्गता भएका व्यक्तिहरूलाई समस्या परिरहेको भन्दै उहाँले सबै संरचनाहरू अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिनुभयो । सरकारले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरेर आत्मनिर्भर बनाउनुपर्ने उहाँले बताउनुभयो । उनीहरूलाई राज्यले दया, माया होइन अवसर दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाल सरकारले के गर्नुपर्छ भने कसरी अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गरेर, आत्मनिर्भर बनाएर जति पनि काम गर्न सक्नुहुन्छ, उहाँहरूलाई सामान्य नागरिकलाई जस्तो ट्रिट गर्नुपुर्‍यो । सहयोग गर्नुपर्छ ता कि उनीहरूले पनि काम गर्न सकुन् । व्यापार गर्न सकुन् । उनीहरूले पनि आफूले मनले चाहेको जे छ त्यो गर्न सकुन् न । उनीहरूलाई आत्मनिर्भरतामा सहयोग गर्नसक्यो भने देशको आर्थिकस्थितिको विकासमा फड्को मार्छ । अपाङ्गता भएका व्यक्तिहरूलाई धेरै दया, माया भन्दा पनि अवसर दिनुपर्छ ।’

केही दिनमै सगरमाथा आरोहणको लागि यात्रा तय गर्न लाग्नुभएका बुढामगरले सरकार समक्ष सहयोग गर्न नसकेपनि बाधा, अड्चन नबनाइदिन आग्रह गर्नुभएको छ । यसअघि पनि उहाँले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर) र मेरा पिक (६,४७६ मिटर) आरोहण गर्नुभएको छ ।

उहाँले २०१७ मा मेरा चुचुरो आरोहण गर्नुभएको थियो र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बन्नुभयो । उहाँको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो । यसअघि पनि उहाँ सगरमाथाको आधारशिविरसम्म पुगिसक्नुभएको थियो ।