• १३ मंसिर २०८१, बिहिबार

गर्मीसँगै बढ्दै आगलागी: अधिकांश पालिकासँग छैनन् दमकल

blog

लीलाधर वली 

घोराही, वैशाख ३ गते । गत चैत १९ गते लमही नगरपालिका वडा नं. ७ कप्तानगञ्जस्थित गीता चौधरीको सिलाइकटाइ टेलर र समीर रज्जा बस्दै आएको कोठामा तार सर्ट भई आगलागी भयो। 

आगलागीबाट सिलाइकटाइ पसलमा कपडा, सिलाउने सामग्रीसँगै नगदसमेत जल्दा पाँच लाखभन्दा बढीको क्षति हुन पुग्यो। आगलागीकै कारण उहाँको दैनिक गरिखानी पेसा गुम्यो। गत चैत २८ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित एक कपडा पसलमा आगलागी भयो। तुलसीपुरको मुख्य बजारमै रहेको याक कपडा पसलमा विद्युत् सर्ट भएर आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको बताइएको छ। 

त्यस्तै गत कात्तिकको पहिलो साता घोराहीमा फर्निचर पसलमा आगलागी भयो। बजारको मध्य भागमा भएको आगलागीका कारण चार वटा फर्निचनर उद्योग र एउटा खाजा घर पूर्ण रूपमा जलेर नष्ट भए। आगलागीबाट करिब आठ करोड बढीको क्षति भएको थियो। उक्त घटनालाई नियन्त्रण लिनका लागि घोराही उपमहानगरपालिकाको एउटा दमकलले नभ्याएपछि लमही र तुलसीपुर उपमहानगरपालिकाबाट समेत दमकल मगाउनुप¥यो। करिब २३ किलोमिटर टाढाबाट दमकल आएर रातको समयमा आगलागी नियन्त्रणमा आएको थियो। 

जिल्लामा भएका यी केही आगलागीका पछिल्ला उदाहरण हुन्। गर्मीयाम सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा आगलागीका घट्नाहरू बढ्न थालेका छन्। हिउँदको समयमा मानवीय लापरबाहीसँगै चिसोपनाको कमीका कारण आगलागीका घटना बढेका थिए। कतिपय पीडित व्यक्ति घरबारविहीन बन्न पुगेका छन्। जङ्गलमा आगलागीका घटना बढ्दै जाँदा जङ्गल नजिकका बस्तीमा समेत आगो पस्ने खतरा रहेको छ तर त्यसतर्फ जिल्लाका अधिकांश स्थानीय तहहरूले ध्यान दिन सकेको देखिँदैन। 

जिल्लाका छ स्थानीय तह अझै दमकलविहीन छन्। १० स्थानीय तहमध्ये चारवटा स्थानीय तहमा मात्रै दमकल रहेका छन्। दमकल नभएका स्थानीय तहमा आगलागी भएमा अन्य स्थानीय तहसँग मागेर काम चलाउनुपर्ने बाध्यता रहेको छ। घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र गढवा गाउँपालिकामा मात्रै दमकल छन्। दंगीशरण, शान्तिनगर, राजपुर, बङ्गलाचुली, बबई र राप्ती गाउँपालिकासँग अझै पनि दमकल छैनन्। 

बस्ती बढ्दै जादा गर्मी मौसममा हुन सक्ने क्षति न्यूनीकरणका लागि दमकल आवश्यकता रहे पनि एक्लै पालिकाले खरिद गर्न नसक्ने अवस्थाका कारण किन्न नसकेको राप्ती गाउँपालिका उपाध्यक्ष कमलापती चौधरी बताउनुहुन्छ। उहाँले भन्नुभयो, “आगलागीका घटना कहिलेकाहीँ आकस्मिक रूपमा हुने भए पनि त्यसबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसावधानी अत्यन्त आवश्यक छ । पालिका एकलैले किन्न सक्ने अवस्था नभएका कारण अन्य पालिकासँग मिलेर दमकल किन्ने प्रयासमा छौँ।

विपत्बाट हजारौँ विस्थापित

दाङमा करिब एक वर्षको अवधिमा विपत्जन्य घटनामा परी ठूलो क्षति भएको छ। जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङका अनुसार आगलागी, हावाहुरी, बाढी, पहिरो, भारी वर्षा, पानीमा डुबेर, पानीले बगाएर, चट्याङ आदि कारणले मानवीय क्षति भएको छ।

विपत्का कारण करोडौँको भौतिक तथा आर्थिक क्षति भएको छ। विपत्मा परेर धेरै परिवार विस्थापित भएका छन्। दाङमा हालसम्म धेरै आगलागी र भारी वर्षाका कारण क्षति भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका होमलाल न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा एक वर्षको अवधिमा ८३७ वटा विपत्जन्य घटना भएका छन्। घटनाका कारण चार हजार २३७ परिवार विस्थापित हुन पुगेको जिल्ला विपत् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिनुभयो। जिल्लामा उपमहानगरपालिका र नगरपालिकाले विपत्जन्य घटना न्यूनीकरणका लागि पूर्वतयारी गरे पनि गाउँपालिकास्तरमा तयारी कमजोर देखिएको प्रमुख जिल्ला अधिकारी वैद्यले बताउनुभयो।