• २० वैशाख २०८१, बिहिबार

छुट्टै स्वादका कविता

blog

समकालीन कविता लेखनमा आफ्नै विशेषता बोकेका कवि हुनुहुन्छ– राजेन्द्र तारकिणी । कविता लेखन यात्राका क्रममा हालै उहाँले ‘बिगन रामको मादल’ नामक कृति सार्वजनिक गर्नुभएको छ । मुलुकको आमपात्रको प्रतिनिधित्व गर्ने बिगन रामलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरी कवितासङ्ग्रहको रूप दिनु भएका तारकिणीले प्रस्तुत कृतिका ५५ वटा कवितालाई छ खण्डमा विभक्त गर्नुभएको छ । यी सबै खण्डमा पीडित पात्रको कथा छ तर कथाको परिवेश र विषय फरक रहेको छ । काव्यानुभूति र काव्यचिन्तनको कोण मिलेका यी कवितामा समकालीन समयको विसङ्गत परिस्थितिको सार्थक चित्रण रहेको छ । हरेक कविताको संरचना क्षेत्रमा पनि विविधता रहेको छ, जसले गर्दा पाठकलाई एकपछि अर्काे कविता पढ्दा पृथक् स्वादको अनुभूति हुन्छ । 

समाजमा दशकौँदेखि रहेको मानव उत्पीडनका विरुद्ध आगो ओकल्ने क्रममा कवि तारकिणीले कतिपय प्रसङ्गमा व्यङ्ग्यको पनि सहारा लिनुभएको छ । हरेक शब्दलाई ओजपूर्ण बनाउन उहाँले सार्थक प्रयास पनि गर्नुभएको छ । समाजका दृष्टिविहीनको प्रतिनिधित्व गर्ने एउटा पात्र बिगन रामका नाममा समर्पित प्रस्तुत कृतिले विकृति विसङ्गतिको अनुहारलाई पनि पाठकसामु राखेको छ । शारीरिक रूपमा अशक्त पात्रहरूप्रति समाजको दृष्टिकोणको फेहरिस्त यी कवितामा पाइन्छ । कवि आफैँ पनि शारीरिक रूपले पृथक् पहिचान भएका कवि हुनुहुन्छ, जसले गर्दा उहाँका कवितामा कविसापेक्ष यथार्थ झल्किएको हुन सक्छ ।  

तारिकिणीका कवितामा राजनीतिक नारा पटक्कै छैन । तर हरेक कवितामा राजनीतिको वितण्डाले मच्चाएको हुण्डरीको चित्र छ । आजको प्रचारबाजीको दुनियाँबाट टाढा रहनुभएका कविका कवितामा पनि यत्तिको सामथ्र्य हुँदोरहेछ भन्ने कुराको छनक यी कविताले दिएका छन् । ग्रामीण दूरदराजको जीवनका छायाहरू आञ्चलिक रूपमा प्रकट गर्दै कवि पीडित पात्रहरूको प्रतिस्थापन गर्न पटक्कै हिच्किचाउनु भएको छैन । निरीहसित पनि शक्ति हुन्छ, पीडितसित पनि आँट र साहस हुन्छ र बाहिर शान्त देखिनेहरू पनि भित्रभित्रै उद्वेलित हुन्छन्, जसको प्रमाण नै हो प्रस्तुत कृति 

‘बिगन रामको मादल’ । वैदेशिक रोजगारीमा जानेहरूको पीडा, श्रमजीवीको जीवनविम्ब, विपन्नताका कारण मान्छेले भोग्नु परेका दुर्घटना, बन्दाबन्दीमा ज्यालादारी मजदुरको विचल्ली, विश्वमा फैलिइरहेको आतङ्कवादप्रतिको चिन्ता तथा बढ्दो आत्महत्या प्रवृत्ति आदि विषयमाथि कविले कलम चलाउनु भएको छ । यी सबै विषय आमजनतासित सरोकार राख्ने विषय हुन्, जसले गर्दा यी कविता पढ्दा पाठक आफैँ पनि वर्णित घटनाको भोक्ता रहेको अनुभव गर्छन् ।  

कविता थुप्रै लेखिन्छन् र हरेक हप्ताजसो कवितासङ्ग्रह सार्वजनिक हुन्छन् । यस अर्थमा कविता सस्तो विधा लागे पनि त्यत्तिकै गरुङ्गो विधा पनि हो । लोकप्रिय कविता विधामाथि न्याय गर्ने थुप्रै काव्यसाधकमध्ये एक पात्र तारकिणीको प्रस्तुत कृति कवितामाथि न्याय गर्न सफल छ । ‘बिगन रामको मादल’ले कविताको लाममा एउटा थप कविताको सङ्ख्या मात्र प्रस्तुत नगरेर पृथक् शैलीयुक्त कविताको लाममा पनि आफ्नो नाम लेखाउन सफल रहेको छ । पुस्तकको आवरण सुन्दर रहेको छ ।    

Author

कमल सुवेदी